नेपाल टेलिकमको ५१ प्रतिशत नगद लाभांश, आजैबाट लाभांश बितरण शुरु



काठमाडौं । नेपाल टेलिकमले आफ्ना शेयरधनीहरुलाई ५१ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७२/२०७३ मा खुद मुनाफा १३ अर्ब ६८ करोड कमाएको छ ।

कम्पनीको सोमबार सम्पन्न ९ औं साधारण सभाले शेयरधनीलाई ५१ प्रतिशत नगद लाभांश दिनेसहित कम्पनीको नियमावलीमा संसोधन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

कम्पनीले गत आवमा १५ दशमलब ६५ प्रतिशतले ग्राहक संख्यामा वृद्धि भएको जानकारी दिएको छ । कम्पनीका अध्यक्ष एवं सूचना तथा संचार मन्त्रालयका सभिव महेन्द्रमान गुरुङले नेपालको दूरसंचार क्षेत्रको समग्र विकास र बिस्तारमा उल्लेख्य योगदान पुर्याउँदै ग्राहक आधारमा उत्साहप्रद बिस्तार तथा मुनाफा आर्जन गर्न सफल भएको बताए ।

साधारण सभामा अध्यक्ष गुरुङले सार्वजनिक खरिद ऐन, २०६३ को पहिलो संशोधन २०७३ लाई आधार मान्दै कम्पनीको खरिद कार्यबिधि मस्यौदा तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी पनि दिए ।

कम्पनीले घोषणा गरेको लाभांश चैत १ गते मंगलबारदेखि नै शेयरधनीहरुलाई बितरण गरिने जानकारी दिएको छ ।


क्लिकमान्डु