आजदेखि स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओ



काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले आजदेखि फरदर पब्लिक अफरिङ (एफपिओ) निष्काशन गर्दै छ । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार एफपिओ चैत ४ सम्म भर्न पाइने छ ।

बैंकले १०० रुपैयाँ मूल्यमा प्रतिकित्ता ११९० रुपैयाँ थपेर प्रतिकित्ता १२९० रुपैयाँमा एफपिओ जारी गर्न लागेको हो ।

बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरका २५ लाख ५८ हजार १ सय १० कित्ता एफपिओ जारी गर्न लागेको हो ।

बैंकले एफपिओबाट उठेको पैसा र आर्थिक वर्ष ०७३/७४ को नाफाबाट १०० प्रतिशत बोनस सेयर वितरण गरी राष्ट्र बैंकको निर्देशन अनुसार ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजना सार्वजानिक गरिसकेको छ ।

गत वर्षको नाफाबाट बैंकले चालू आर्थिक वर्षमा ३३.३३ प्रतिशत बोनस सेयर दिएको छ । सो बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ ।
अहिलेको निरन्तरको घट्दो बजारका कारण बैंकलाई एफपिओका तोकेको मूल्य पुष्टि गर्नुपर्ने चुनौती देखापरेको छ ।

किनभने अहिले बैंकको प्रतिकित्ता सेयरमूल्य १९ सय ८० रुपैयाँमा सेकेन्डरी बजारमा किन्न पाइन्छ । घन्टौं लाइन बसेर एफपिओ हाल्दा अत्यन्तै न्यून मात्रै पर्ने अवस्था छ ।


क्लिकमान्डु