अब प्रतिब्यक्ति ५ हजार भारुसम्म साट्न पाइने




काठमाडौं । काम विषेशले भारत जान लाग्दा चाहिने भारु नपाएर हैरान हुनुहुन्छ ? हो भने अब चिन्ता नलिनुस् । नेपाल राष्ट्र बैंकले एक जनालाई दिने भारुको परिमाण बढाउदैछ ।

भारतीय केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरविआइ) ले भारु नोट उपलब्ध गराएको र राष्ट्र बैंकसँग पनि भारुको मौज्दात बढेका कारण प्रतिब्यक्ति सीमा बढाउन लागिएको हो । भारत जान लागेकालाई दिइने गरिएको सटही सुबिधामा प्रतिब्यक्ति सीमा बढाउन लागिएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

गत कात्तिक अन्तिम साता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यरातमा विषेश सम्बोधन गर्दै हजार र ५ सय दरका भारु नोट प्रतिबन्द गरेको घोषणा गरेका थिए । यस्तो घोषणा पछि नेपाल राष्ट्र बैंकले पनि भारत जाने ब्यक्तिलाई दिने गरिएको सटही सुबिधाको सीमा घटाएको थियो ।

‘भारु मौज्दात सुबिधाजनक अबस्थामा छ, आरविआइले पनि नोट दिएर सहयोग गरिरहेको छ, यस्तो अबस्थामा सर्बसाधारणलाई चाहिने भारु नदिएर दुःख दिने पक्षमा हामी छैनौं, भारु पाउने सीमा बढाउँदैछौं,’ गभर्नर कार्यालयका निर्देशक समेत रहेका पण्डितले क्लिकमाण्डूसँग भने ।

यस्तो सीमा बढाएर अब प्रतिब्यक्ति ५ हजार भारु पुर्याउने गृहकार्य राष्ट्र बैंकले गरिरहेको छ । अहिले प्रतिब्यक्ति २ हजार भारु दिइदै आइएको थियो । पछिल्लो समयमा नेपाल राष्ट्र बैंकसँग भारु मौज्दातको परिमाण बढेर साढे ४ अर्ब भारु पुगेको बताइएको छ ।


क्लिकमान्डु