काठमाडौंको मुल्यबृद्धि १.९ प्रतिशत



काठमाडौं । काठमाडौंमा बस्ने धेरैको गुनासो महंगीको कारण टिक्न नसकेको भन्ने रहेको हुन्छ ।

तर,राष्ट्र बैंकको तथ्यांकले मुल्यबृद्धि सबैभन्दा कम काठमाडौंमा भएको देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले नेपालमा यो वर्ष सबैभन्दा कम मुल्यबृद्धि काठमाडौंमा भएको छ । अघिल्लो वर्ष १३.८ प्रतिशत रहेको काठमाडौंको मुल्यबृद्धि यो वर्ष १.९ प्रतिशतले बढेको हो । काठमाडौंमा बस्नेले अघिल्लो वर्षकै मुल्यमा बस्तु तथा सेवा उपयोग गर्न पाएको राष्ट्रबैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकका अनुसार मुल्यबृद्धि पहाडमा ५.७ प्रतिशत, हिमालमा ४.२ प्रतिशत, तराईमा २.८ प्रतिशत, र काठमाडौं उपत्यकामा १.९ प्रतिशत रहेको छ । यसले हेर्दा पहाडी क्षेत्रमा बस्नेले यो पटक अघिल्लो वर्षको तुलनामा बढी मुल्य तिरेर बस्तु तथा सेवा उपयोग गर्नु परेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १२.१ प्रतिशत, हिमालमा १०.० प्रतिशत, तराईमा १०.७ प्रतिशत र काठमाडौं उपत्यकामा १३.८ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनामा मुल्यबृद्धि ३.२ प्रतिशतले मात्र बढेको तथ्यांक सार्वजनिक गरेको छ । अघिल्लो वर्ष भारतीय नाकाबन्दीको कारण मुल्यबृद्धि १२.१ प्रतिशतमा थियो । मुल्यबृद्धिदर अघिल्लो वर्षको तुलनामा घटेपनि मुल्यबृद्धि भने अघिल्लो वर्षको भन्दा ३.२ प्रतिशतले बढेको हो । केही दिन अगाडि राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले मुल्यबृद्धिदर अझै घट्ने बताएका थिए ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा खाद्यान्यमा अघिल्लो वर्षको तुलनामा मुल्य घटेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार खाद्य क्षेत्रको मुल्यबृद्धि अघिल्लो वर्षको तुलनामा ०.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष भने खाद्यान्यको मुल्यबृद्धि १५.२ प्रतिशतले बढेको थियो ।

आज राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार खाद्यान्य समूहमा घ्यू तथा तेलको मूल्यमा १३.९ प्रतिशत, दलहन तथा गेडागुडीको मूल्यमा ६.६ प्रतिशत, तरकारीको मूल्यमा ३.९ प्रतिशत, फलफूलको मूल्यमा २.० प्रतिशत, मासु तथा माछाको मूल्यमा १.७ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा १.२ प्रतिशतले कमी आएको छ । जसको कारण समग्र खाद्य मुद्रास्फिती ऋणात्मक भएको हो । तर,खाद्य क्षेत्रमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य ११.२ प्रतिशतले वृद्धि भएको छ ।

गैर–खाद्य मुद्रास्फीति ६.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ९.७ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र शिक्षा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु