गुलियो चिनी यसरी हुँदै छ तितो !



काठमाडौं । पछिल्लो एक सातामा चिनीको मुल्य प्रतिकिलो १० रुपैयाँले बढीसकेको छ ।

अहिले बजारमा चिनी प्रतिकिलो ९० रुपैयाँ पुगेको छ । गुलियो हुने चिनीले यो वर्ष उपभोक्तालाई भने तितो गराउनेगरी मुल्य बढाउने संकेत देखिएको छ ।

नेपालमा वार्षिक साढे २ लाख टन चिनीको माग हुने गर्छ । स्वदेशी उद्योगबाट साढे १ लाख टन चिनीको उत्पादन हुने गरेकोमा यो वर्ष १ लाख ३० हजार टन चिनी उत्पादन हुने प्रक्षेपण चिनी उद्योगीको छ ।

लुम्बिनी चिनी उद्योगका प्रवन्ध निर्देशक मनिषकुमार अग्रवाल उखुको उत्पादन कम भएको  छ, यस कारण यो वर्ष  चिनीको उत्पादन कम हुने बताउँछन् । । ‘अहिले चिनी उत्पादन हुने समय हो, अघिल्लो वर्षको भन्दा कम उत्पादन हुने देखिएको छ,’ अग्रवालले भने ।

अहिले चिनीको माग नभएपनि बैशाखदेखि भने चिनीको माग बढ्ने गर्छ । भारतमा पनि चिनीको मुल्य बढ्ने समाचारहरु आएका छन् । आन्तरिक उत्पादनले नपुगेपछि चिनी ल्याउने जिम्मा भने साल्ट ट्रेडिङ कर्पोरेशनले लाई रहेको छ ।

साल्ट ट्रेडिङले दशैं र तिहारमा चिनी ल्याएपछि चिनी ल्याएको छैन । सरकारले साल्ट  ट्रेडिङलाई चिनी आयात गर्दा १ प्रतिशत मात्र भन्सार शुल्क लाग्ने व्यवस्था गरेको छ । साल्ट ट्रेडिङकी महाप्रवन्धक उर्मिला श्रेष्ठले भन्सार छुटको निर्णय नभएको कारण आयात गर्न नसकिएको बताउँछिन् । ।

‘ चिनीको अन्तराष्ट्रिय मुल्य र यसको प्रभावको बारेमा हामीले सरकारलाई जानकारी गराइसकेका छौ,’ श्रेष्ठले क्लिकमाण्डूसँग भनिन् । सरकारलाई जानकारी गराएको र कर्पोरेशनले चिनी खरिद गर्ने प्रक्रिया अगाडि बढाएको उनले बताइन् ।

अहिले साल्ट ट्रेडिङसँग करिब २ हजार मेट्रिक किलो मात्र चिनी मौज्जात रहेको छ । साल्ट  ट्रेडिङले फागुन महिना भित्रमा चिनी आयात नगरेमा चिनीको मुल्य भने बढ्ने सम्भावना बलियो देखिएको छ । अहिलेसम्म सरकारले साल्ट  ट्रेडिङलाई दिनुपर्ने भन्सार छुटको बारेमा भने कुनै निर्णय गरेको छैन । साल्ट  ट्रेडिङमा मौज्जात कम हुँदै गएको जानकारी पाएपछि स्वदेशी उद्योगीले पनि यसको मुल्य बढाउने गर्छन् ।

स्वदेशी उद्योगको उत्पादनले चिनीको माग नधान्ने भएको हुँदा साल्ट ट्रेडिङले आयात गरेर चिनी बिक्री गर्न थालेपछि मात्र चिनीको मुल्य घट्ने गर्छ । विगतमा पनि साल्ट  ट्रेडिङले बिक्री बढाएपछि चिनीको मुल्य घट्ने गरेको छ ।

भारतमा पनि अहिले चिनीको मुल्य बढ्दै गएको छ । चिनी उत्पादनका लागि चाहिने मुख्य कच्चा पदार्थ उखुको उत्पादन कम भएको कारण चिनीको मुल्य बढेको हो । भारत सरकारले चिनीको मुल्य एकै पटक नबढाउनको लागि निर्देशन दिएको छ ।


क्लिकमान्डु