बाहिरी चक्रपथको डीपीआर प्रस्ताव तयार



काठमाडौं । बाहिरी चक्रपथ निर्माणको प्रकृया अगाडि बढेको छ । निर्माण प्रकृया अन्तर्गत चोभार–गाम्चा– सतुंगलखण्डको विस्तृत संभाव्यता अध्ययन(डीपीआर) प्रस्ताव मन्त्रिपरिषदमा लगिने भएको हो ।

बाहिरी चक्रपथ निर्माण योजनाका शाखा अधिकृत धुब्र सापकोटाले सतुंगलदेखि गम्वा हुँदै चोभारखण्डको डीपीआर प्रस्ताव मन्त्रालयमा लगिने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

बाहिरी चक्रपथको चोभार–गाम्चा–सतुंगलखण्ल ६.६ किलोमीटर सडक पर्ने छ । २०६४ सालको रिर्पोट अनुसार सो स्थानमा ५०४ कित्ता जग्गा यकिन गरिएको थियो, २०७३ सालमा ५०४ कित्ता जमिन विभिन्न प्रयोजनले बिक्री भएका कारण नयाँ नक्सा एकिन गर्न केहि समय लागेका कारण काम ढिलो भएको हो ।

‘चोभार सतुङगलखण्डको डीपीआर प्रस्ताव तयार पारिसकेका छौं र मन्त्रालयमा सो प्रस्ताव आज भोलि पेस गर्ने छौं, मन्त्रालयबाट डीपीआर प्रस्ताव स्विकृति भए पछि हामी त्यस स्थानको जग्गा रोक्काको प्रकृयामा बढ्ने छौं,’ सापकोटाले भने ।

२०६४ सालको रिर्पोट अनुसार त्यस स्थानको जग्गा रोक्का गर्नका लागि २ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । त्यस बखत जग्गा रोक्का गर्न ढिलाई भएका कारण अहिले जग्गाको मुल्य वृद्धि र भवनहरु निर्माण भएकाले १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए ।

बाहिर चक्रपथ निर्माणका लागि ८ करोड ५० लाख रुपैयाँ विनियोजन भइसकेको छ । सो मध्य ५ करोड रुपैयाँ सडक विस्तारका लागि र ३ करोड ५० लाख रुपैयाँ खर्चका लागि उपलब्ध गराएको सापकोटाले जानकारी गराए ।

सरकारले काठमाडौं उपत्यकाको ट्राफिक चाप भित्री चक्रपथले धान्न नसक्ने र काठमाडौं उपत्यकामा बढ्दै गएको अव्यस्थित सहरीकरणलाई व्यवस्थित बनाउनका लागि भन्दै आ.व. २०६१।०६२ देखि बाहिरी चक्रपथ विकासको कार्य प्रारम्भ गरेको थियो ।

 करिब ७२ किलोमिटर लम्बाइ रहेने बाहिरी चक्रपथले काठमाडौं जिल्लामा ३५ किलोमिटर, भक्तपुर जिल्लामा २१ किलोमिटर र ललितपुर जिल्लामा १६ किलोमिटर पर्ने गरी प्रस्ताव गरिएको बाहिरी चक्रपथका लागि करिब ७२०० रोपनी जग्गा विकास गर्ने लक्ष्य राखिएको छ ।

७२ किलोमिटर लम्बाइको चक्रपथको दायाँ बायाँ २५० मि. र चक्रपथका लागि ५० मि. गरी ५५० मि. क्षेत्रमा सडक संजाल, ढल निकास, खुला क्षेत्र जस्ता भौतिक पूर्वाधारको विकासको योजना अन्तरगत सरकारले बाहिर चक्रपथ बनाउने बताउदै आएको छ ।


क्लिकमान्डु