छैटौं नेपाल फर्मा एक्स्पो हुने, ३६ अर्ब रुपैंया बराबरको औषधिको बजार



काठमाडौं । ‘गूणस्तरीयताबाट आत्मर्निभरता तर्फ’ भन्ने नाराका साथ नेपाल फर्मा एक्स्पो हुने भएको छ । नेपाल फर्मा एक्स्पोको छैटौं संस्करण फागुन २० देखि २२ गतेसम्म भृकृटीमण्डपमा आयोजना हुने भएको छ ।

काठमाडौंमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा नेपाल ७७ प्रकारका जीवन उपयोगी औषधीमा नेपाल आत्मनिर्भर रहेको नेपाल औषधि उत्पादक संघका कोषाध्यक्ष प्रवल जंग पाण्डेले बताए ।

एक्स्पोमा नेपाल, भारत, चीन, अमेरिका, जर्मनी र जापानका १०८ वटा स्टल रहने छन् ।

नेपालमा गत आर्थिक वर्षमा ३६ अर्ब रुपैंया बराबरको औषधिको कारोबार भएको औषधी उत्पादक संघका वरिष्ठ उपाध्यक्ष दिपक दाहालले जानकारी दिए ।

सो मध्ये १६ अर्ब २० करोडको बजार नेपाली उत्पादनको रहेको र बाँकी २० अर्ब रुपैंयाको औषधी भारत लगायत अन्य मुलुकबाट आयात भएको उनले बताए ।

नेपालमा खपत हुने औषधिमा भारतको ५०, नेपालको ४५ र अन्य मुलुकहरुको ५ प्रतिशत हिस्सा रहेको पनि उनले पत्रकार सम्मेलनमा जानकारी गराए ।

नेपालमा उत्पादन हुने औषधिको आयातमा सरकारले प्रतिबन्धको घोषणा गरेमा २/३ वर्ष भित्रमा नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिने उनको दाबी थियो ।


क्लिकमान्डु