बिकास माग्दै रिले अनसन, निर्माण सुरु नहुँदासम्म जारी राखिने




बारा । काठमाण्डौं निजगढ द्रुतमार्ग र बाराको गढीमाई नगरपालिकामा प्रस्तावित दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणमा दवाव दिन भन्दै शनिबारदेखि निजढमा १ सय दिने लामो रिले अनशन शुरु भएको छ ।

प्रस्तावित आयोजना निर्माणको काम तत्काल शुरु गर्न सरकारलाई दवाव दिने उद्देश्यले २ महिनादेखि चरणवद्ध आन्दोलन चलाउदै आएको फास्टट्रयाक, एयरपोर्ट निर्माण संघर्ष समितिको आयोजनामा रिले अनशन शुरु गरिएको हो ।

समितिका संयोजक रवि दङ्गालका अनुसार आयोजनाको निर्माण काम शुरु नभएसम्म हरेक दिन दुई सिफ्टमा १२/१२ घण्टाका दरले १० जनाको समुहले अनसन जारी राख्ने छन् ।

पुर्वपश्चिम राजमार्गबाट द्रुतमार्ग र अन्तराष्ट्रिय विमानस्थल प्रवेशद्धारमा शुरु गरिएको अनसनको दिवा सिफ्टमा महिला, विभिन्न संघ सस्था र जिल्ला बाहिरकालाई प्राथमिकता दिइने दङ्गालले जानकारी दिए ।

आन्दोलनको दोस्रो चरण अन्तरगत आगामी बैशाख ३१ (१०० दिन) सम्म अनसन संचालन हुनेछ । हालसम्म ५ सय जनाले अनसन बस्ने प्रतिवद्धता जनाएको र अन्य इच्छुकको नाम टिपाउने क्रम जारी रहेको दङ्गालले बताए ।

अनसन शुरु हुनुअघि आयोजना गरिएको दवाव सभामा रौतहट ३ बाट व्यवस्थापिका संसदमा निर्वाचित सदस्य तथा ब्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहलगायत स्थानीय राजनीतिक दलका नेता कार्यकर्ताहरुले आयोजना निर्माणको महत्व र आवश्यकता बारे बोलेका थिए ।

यसअघि निजगढस्थित शहिद चोकबाट निकालिएको जुलुस अनसन स्थल पुगेको थियो । आयोजना निर्माणको लागि सरकारलाई दवाव दिन भन्दै ६ महिना लामो संघर्षको कार्यक्रम सार्वजनिक गरेर आन्दोलनमा उत्रिएको समितिले यसअघि निजगढस्थित द्रुतमार्ग प्रबेशद्धार हुदै काठमाण्डौंसम्मको पैदल यात्रा गरेको थियो ।

संघर्ष समितिले सर्वसाधारणको हस्ताक्षर संकलन, राजधानी काठमाण्डौंमा प्रमुख दलका शीर्ष नेतासँग भेटघाट र आयोजना निर्माण सम्बन्धमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रमसमेत गर्दै आएको छ । संयोजक दङ्गालले निर्माण कार्य शुरु नगरिएसम्म अनशन जारी राखिने बताए ।

कोल्हवीमा सभा


विमानस्थल र द्रुतमार्ग निर्माणमा दवाव दिने उद्देश्यले व्यवस्थापिका संसदमा बारा र रौतहतबाट प्रतिनिधित्व गर्ने सभासदको उपस्थितिमा शनिबार दवावसभाको आयोजना गरिएको छ । जनदवाव सरोकार समिति कोल्हवीले गरेको कार्यक्रममा बारा क्षेत्र नं. ६ का सभासद पुरुषोत्तम पौडेल, रौतहट ५ का सुनिल यादव र रौतहट ३ का सभासद प्रभु साहको उपस्थिति थियो ।

दवाव समुहका संयोजक ढुण्डिराज उप्रेतीको अध्यक्षतामा भएको सो कार्यक्रममा सभासदहरुले दु्रतमार्ग र विमानस्थल निर्माणको लागि विनियोजन भएको बजेट खर्च गर्न सरकार उदासिन रहेको आरोप लगाए । आयोजनाको काम शुरु गर्न बजेट भन्दा पनि सरकारी तत्परता र इच्छाशक्तिको अभाव देखिएको वक्ताहरुको धारणा छ ।


क्लिकमान्डु