यी हुन् सबैभन्दा बढी ब्याज दिने बाणिज्य बैंक




काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्नको लागि चाहिने रकम अभाव भएपछि निक्षेपको ब्याजदर बढाएका छन् । बैंकहरुले अहिले निक्षेपको ब्याजदर १२ प्रतिशतसम्म पु¥याएका छन् ।

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स एशोसियनले व्यक्तिगत निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याजदर नदिने भद्र सहमती गरेको कारण अहिले १२ प्रतिशतभन्दा बढी ब्याजदरको अफर भने कुनैपनि वाणिज्य बैंकले गरेका छैनन् ।

मुद्दती निक्षेपको ब्याजदर बढेर १२ प्रतिशत तथा संस्थागत बचतकर्ताको ब्याजदर १४ प्रतिशत पुगेपनि बचत खाताको ब्याजदर भने बढेको छैन । राष्ट्र बैंकले बचत खाताको ब्याजदर बढाउन दवाव दिएपनि बैंकहरुले भने यस्तो खातामा ब्याजदर बढाउने संकेत देखिएको छैन ।

बैंकहरुले बचत खाताको ब्याजदर नबढाएपछि त्यस्तो खाताको पैसा झिकेर मुद्दतिमा राख्ने बचतकर्ता बढेको बैकहरुकै भनाइ छ । अहिले १२ प्रतिशत ब्याजदर अफर गर्ने बैंकमा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी), एनआईसी एशिया, सिभिल, ग्लोबल आइएमई र नेपाल बंगलादेश (एनबी) बैंक रहेका छन् ।

यस बाहेक १० प्रतिशत ब्याजदर अफर गर्नेमा जनता, मेगा लगायतका बैंक छन् । एभरेष्ट बैंकले ९ प्रतिशत ब्याजदरमा निक्षेप तान्ने योजना ल्याएको छ । ९ प्रतिशत ब्याजदर अफर गर्नेमा सिटिजन्स बैंक इन्टरनेसनल, सानिमा लगायतका बैंक छन् । अहिले संचालनमा रहेका सबै बैंकले ८ प्रतिशतभन्दा बढी ब्याजदर अफर गरेका छन् ।

मुद्दती निक्षेपमा कम ब्याजदर अफर गर्नेमा भने पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक तथा स्टाण्डर्ट चाटर्ड बैंक लगायतका छन् । सरकारी स्वामित्व पनि रहेको कृषि बिकास बैंकले भने ९ प्रतिशत भन्दा बढीको ब्याजदिने योजना सार्बजनिक गरिसकेको छ ।

मुद्दती निक्षेपमा आकर्षक योजना ल्याएपनि बैंकहरुले भने यस्तो ब्याजदर अल्पकालिन अवधीका दिएका छन् । १२ प्रतिशत ब्याजदर तीन महिना अवधीको लागि मात्र दिने प्रस्ताव बैंकको छ ।

यसमा सबैभन्दा बढी बार्गेनिङ निक्षेपकर्ताले गर्नुपर्ने हुन्छ । बैंकलाई कर्जा दिनको लागि समस्या परेको हुँदा नयाँ निक्षेप नल्याउदासम्म बैंकहरुले कर्जा दिन सक्दैनन् । यस्तो अवस्थाले ग्राहकले गर्ने बार्गेनिङले नै निक्षेपमा बढी ब्याजदर प्राप्त गर्न सजिलो हुन्छ ।


क्लिकमान्डु