सेबोनलाई स्वायत्तता, दैनिक सेयर कारोबार २ अर्ब भन्दा बढीको



काठमाडौं । सरकारले पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन)लाई स्वायत्तता दिने भएको छ । गत २२ पुसमा मन्त्रिपरिषदले पारित गरेको वित्तीय क्षेत्र बिकास रणनीतिपत्रमा यस्तो ब्यवस्था गरिएको हो ।

यो रणनीति चालु आर्थिक बर्षदेखि सुरु भएर आर्थिक बर्ष २०७७/७८ मा पूरा हुनेछ ।

‘धितोपत्र नियमन सम्बन्धी अन्तराष्ट्रिय रूपमा प्रचलनमा रहेका सिद्धान्तहरू अनुसार धितोपत्र बोर्डलाई जवाफदेहिता सहितको स्वायत्तता प्रदान गर्ने,’ सरकारले पारित गरेर कार्यान्वयनमा ल्याउन लागेको रणनीतिको पूँजीबजार क्षेत्रसँग सम्बन्धित समस्या सम्बोधन गर्ने रणनीतिमा उल्लेख गरिएको छ ।

सरकारले सेयर बजारको क्षेत्रगत विविधता प्रवद्र्धन गर्ने, धितोपत्र व्यवसायीको सेवाको क्षेत्र बढाउने, पुँजी बजारमा आम जनताको सहभागितालाई प्रोत्साहन गर्ने जस्ता रणनीति कार्यान्वयन गर्ने भएको छ ।

पुँजी बजारको सुधार गर्न पूँजी बजारको नियमनकारी र सुपरीवेक्षकीय ढाँचा सुदृढ तुल्याउने, विदेशी लगानीलाई सहज तुल्याउने जस्ता रणनीति अपनाउने रणनीति पनि सरकारको छ । यस्तै कमोडिटी मार्केटको लागि सुदृढ कानुनी र नियमकारी ढाँचाको विकास गर्ने, नेप्सेको पुनरसंरचना गर्ने, नेप्से तथा सूचीकृत कम्पनीमा सुशासन बढाउने जस्ता कार्यक्रम संचालन गर्ने रणनीतिपत्रमा उल्लेख गरिएको छ ।

सरकारले सिडिएस एण्ड क्लियरिङ्गको लागि कानूनी तथा नियमनकारी संरचना सुदृढ तुल्याउने, पुँजी बजारमा मर्चेण्ट बैंकर र बजार प्रवद्र्धकहरूको भूमिका बढाउने, प्रभावकारी र गुणस्तरयुक्त ग्राहक कोष व्यवस्थापन सेवालाई सुनिश्चित गरी गैरबैंक वित्तीय संस्थाको सेवाको पहुँच अभिवृद्धि गर्ने जस्ता रणनीति अपनाउने रणनीति बनाएको छ ।

यस्तो रणनीतिको कार्यान्वयन पछि धितोपत्र बजारको दैनिक कारोबार रकम २ अर्ब रूपैयाँ पुगेको हुने रणनीतिपत्रमा उललेख गरिएको छ । यस्तै ‘अभौतिकीकरण खाता भएका लगानीकर्ताहरूको संख्या ५ लाख पुगेको हुनेछ, शेयरको दोश्रो बजारमा देशका सबै क्षेत्रबाट पहुँच गर्न सकिने व्यवस्था गरिएको हुनेछ,’ रणनीतिपत्रको कार्यान्वयपछि प्राप्त हुने उपलब्धीबारे रणनीतिपत्रमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु