कृषिलाई आधुनिकीकरण गर्नुपर्ने: पूर्व प्रधानमन्त्री ओली



काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कृषि प्रणालीलाई आधुनिकीकरण गरेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।

अखिल नेपाल किसान महासङ्घले आज आयोजना गरेको दक्षिण एसियाली किसान सम्मेलन उदघाटन गर्दै अध्यक्ष ओलीले कृषिलाई व्यावसायिक बनाएर देशलाई कृषिमा नै आत्मनिर्भर बनाउनु पर्ने बताएका हुन् ।

‘किसानमा अझै पनि पुरानो पद्धतिअनुसार खेती गर्ने बानी छ’, उनले भने, ‘नयाँ प्रविधि प्रयोग गरी कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउनुपर्दछ ।’

भूमिमा असमान वितरणले वास्तविक कृषकसँग भूमिको पहुँच नभएकाले भूमिको समान वितरण गरेर राज्यले कृषकलाई भूमि उपलब्ध गराउनु पर्ने धारणा व्यक्त गर्दै अध्यक्ष ओलीले केही वर्षयता हाउजिङ र प्लटिङका नाममा उर्वर भूमिलाई नष्ट गरेकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिए ।

उनले आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन गरेर देशलाई राजनीतिक सङ्क्रमणकालबाट टुङ्ग्याउनुपर्ने पनि बताए ।

एमाले उपाध्यक्ष तथा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष वामदेव गौतमले सबै दलको सहयोग भए १० वर्षभित्रमा नेपालमा समाजवाद आउने दाबी गरे ।

सम्मेलनले नवउदारवाद र यसले किसानलाई पारेको नकारात्मक प्रभावका विषयमा छलफल गरी किसानको हक अधिकार, खाद्य सम्प्रभुता, जलवायु परिवर्तन, भूमि अधिकारका क्षेत्रमा नयाँ नीति तर्जुमा गर्दै नयाँ रणनीतिक योजनासमेत बनाउने महासङ्घका महासचिव बलराम बास्कोटाले जानकारी गराए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका   १५  किसान सङ्गठनका अगुवाको  सहभागिता छ । रासस


क्लिकमान्डु