एक वर्ष भित्रमा पुलको बीमा गर्न, विकास समितिले दियो निर्देशन




काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले पुलहरुको बीमा गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले सरकारलाई १ वर्ष भित्रमा पुलहरुको बीमा गर्न निर्देशन दिएको हो ।

राष्ट्रिय यातायात संजालमा पुलले एकदमै ठूलो हिस्सा ओगटेको छ । नेपालका पुलहरु बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपबाट एकदमै प्रभावित हुने गरेका छन् ।

पुलहरुमा हुने क्षति न्युनिकरण गर्न बीमा आवश्यक रहेको समितिले बताएको छ ।
नेपालका पुलहरु पुरानो र जीर्ण भईसकेकोले क्षति न्यूनिकरणको लागि बीमा अनिवार्य गर्न निर्देशन दिइएको समितिका सभापति रबिन्द्र अधिकारीले जानकारी दिए ।

विभिन्न समयमा पुलहरुमा हुने क्षति न्यूनीकरण गर्न तथा भएका पुलहरुको संरक्षण तथा सामयिक रुपमा कार्यतालिका बनाई नियमित मर्मत संम्भार गर्न तथा राष्ट्रिय यातायात सञ्जालका लागि महत्वपूर्ण पुलहरु तथा अन्य भौतिक पूर्वाधारहरुको बीमा १ वर्षभित्र गराइ सक्ने व्यवस्था मिलाउन समितिले सरकार निर्देश दिएको छ ।

समितिले हालको सवारी चापलाई मात्र आधार नबनाएर पुलको संरचना डिजाइन गर्दा आजभन्दा कम्तिमा पनि ५० वर्ष पछिको हाम्रो आवश्यकता पहिचान गरी पुल तथा सडक निर्माण गर्न पनि निर्देशन दिएको छ ।

नेपालका पुलहरु गाडी गुडाउन बाहेक अन्य प्रयोजनका लागि पनि प्रयोग गरिने हुनाले त्यस्ता कार्यलाई तत्काल रोक्न समितिले निर्देशन दिएको छ । हाल प्रयोगमा रहेका पुलहरुको प्राविधिक परीक्षण गरी सडको सुरक्षास्तर वृद्धि गर्ने कार्य तत्काल लागु गर्न समितिले सरकारलाई निर्देशन दिएको छ ।

अहिले प्रयोगमा रहेका पुलहरुको स्थलगत अनुगमन गरी संरचनागत तथा संख्यात्मक विवरण तयार पारी पुलहरुको नक्सांकन गरी तथ्यांक अध्यावधिक गर्न र सोको प्रतिवेदन समितिलाई उपलब्ध गराउनु पर्नेछ बताएको छ । जीर्ण अवस्थामा रहेका पुलहरु तत्काल मर्मत कार्य प्रारम्भ गरी आगामी वर्षायाम अगाडिनै मर्मत सम्भार कार्य सम्पन्न निर्देशन समितिले जारी गरेको छ ।


क्लिकमान्डु