सेयर बजार क्र्यास भएकै हो ? अब के हुन्छ ?




काठमाडौं । सेयर बजारको क्र्यास भयो वा हुने क्रममा छ भनेर पछिल्ला दिनमा चर्चा चल्न थालेको छ । वास्तवमा क्र्यास भनेको के हो ? किन हुन्छ ? र, बजार क्र्यास भएसँगै बजार लामो समयसम्म बियरिस मोडमा जान्छ वा जाँदैन भन्ने कुराले लगानीकर्तालाई सहि निर्णय गर्न मद्दत पु¥याउँछ । त्यसैले यहाँ सेयर बजार क्र्यासका बारे केहि चर्चा गर्ने प्रयास गरिनेछ ।

सेयर बजार क्र्यास भन्नाले एक्कासी र नाटकीय ढंगले सेयर मूल्यमा गिरावट आउनुआई बुझिन्छ । यसले ठूलो मात्रामा कागजी नोक्सान गराउँछ । नेपाली सेयर बजारले नै पछिल्लो सात महिनामा करीब ६ खर्ब रुपैंयाँ ‘नोक्सान’ बेहारेको छ । क्र्यास लगानीकर्ताको ‘प्यानिक’ र आर्थिक वा वित्तीय उतारचढावका कारण हुने गर्छ ।

सेयर बजार क्रयास भनेको सामाजिक घटना पनि हो । जहाँ आर्थिक घटनाको भिडको गतिबिधि र मनोबिज्ञानसँग मिलन हुन्छ । अनि, केहि मान्छेहरुले सेयर बैच्दै गर्दा अरु पनि तिनीहरुकै सिको गर्दै बेच्न उद्दत हुन्छन् ।

सामान्यतः सेयर बजार क्र्यास निम्न अवस्थाहरमा हुन्छन्
सेयर बजार लामो समयसम्म बढ्नु ।
देशको आर्थिक अवस्थाको बारे धेरै नै आशाबादी हुनु ।
पिइ अनुपातहरु दीर्घकालीन औसत भन्दा माथि हुनु ।
लगानीकर्ताले अत्याधिक रुपमा मार्जिन लेन्डिङको प्रयोग गर्नु ।
सेयर बजार क्र्यासलाई अंक आधारमा ब्याख्या गर्न सकिदैंन । तर, दोहोरो अंकले लगातार केही दिनसम्म घट्नुलाई क्र्यासको रुपमा बुझ्ने चलन छ ।

क्र्यासलाई बियर मार्केटबाट छुट्टाएर हेर्नु पर्छ । क्र्यासमा आत्तिएर बेच्ने र सेयर मूल्य नाटकीय रुपमा झर्ने हुन्छ । बियर बजार भने महिना र बर्षमा नापिन्छ ।

क्र्यासलाई बियर बजारसँग जोडेर हेरिए पनि यिनीहरु सँधै सँगै हिँड्दैनन् । कतिपय क्र्यासले बियर बजारको संकेत गर्दैनन् । अर्थात, क्र्यास पछि फेरी तुरुन्तै बजार उक्लन पनि सक्छ । तर, कुनै बेला बर्षौंसम्म चल्ने बियर बजारमा पनि क्र्यासको कुनै संकेत पाईंदैन ।

त्यसैले अहिलेको तिब्र उतारचढावलाई नेपाली सेयर बजार लामो समयसम्म बियरिस मोडमा जाने संकेतका रुपमा अझै लिने बेला भएको छैन ।

बैंकिङ् प्रणालीमा आएको तरलता तनावसँगै केही दिनयता क्र्यासको बाटोमा लम्केको सेयरबजार भावी दिनमा सो प्रणालीमा आउने सहजता र सकारात्मक आर्थिक परिदृश्य सँगै फेरि उकालो नलाग्ला भन्न पनि सकिन्न ।


क्लिकमान्डु