धनजमानी दिनेले जमानी रकम तिरेर धितो छुटाउन पाउने




काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी कालोसुचीमा परेका ऋणीको जमानी बस्नेले राहत पाउने भएका छन् । ऋणीले ऋण नतिरे पनि जमानीकर्ताले जमानी बसे वापतको रकम तिरेर आफ्नो धितो फुकाउन पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बिहिबार निर्देशन जारी गर्दै यस्तो ब्यवस्था गरिएको जानकारी दिएको छ । ‘जमानतकर्ताले कबुल गरेको दायित्व बमोजिमको रकम सर्बप्रथम सम्बन्धित ऋणीबाट असुलउपर हुन नसकेमा जमानकर्ताले कबुल गरेको सीमा हदसम्मको रकम निज जमानतकर्ताले दिएको सुरक्षण धितोबाट कानुन बमोजिम लिलाम गरी असुल गर्न सकिने भनी जमानतको शर्तनामा उल्लेख गर्ने, जमानतकर्ताले कबुल गरेको जमानतको रकम जुनसुकै समयमा दाखिला गर्न ल्याएमा बुझिलिइ जमानत सुरक्षण राखेको सम्पत्ति फुकुवा गरिदिने,’ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशनमा उल्लेख गरिएको छ ।

धितो सुरक्षण वापत जमानी दिने जमानतकर्ताले ऋणीले लिने कति ऋण रकमको हकमा जमानत कागज गरेको हो सो जमानतको अंक सीमा तोकी सोही सीमा हदसम्म सिमित रही जमानतकर्ताको दायित्व स्पष्ट हुने गरी जमानतकर्ताको छुट्टै कागज गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

ऋणी तथा बैंकबीच वा जमानीकर्ता र बैंकबीच ऋण तथा जमानी सम्बन्धमा गरिएका लिखतहरुमा लेखिएका ब्यहोरा एबम शर्तहरु सहज रुपमा पढ्न सकिने ढाँचामा तयार पार्न पनि राष्ट्र बैंकले भनेको छ ।

जमानतकर्ताले कबुल गरेको भन्दा बढी अंकको दायित्व ब्यहोर्नु पर्ने गरी प्रत्यक्ष वा परोक्ष रुपमा कागज नगराउन पनि निर्देशनमा भनिएको छ ।

जमानतकर्ताले देखाएको सम्पत्ति धितो सुरक्षणको रुपमा स्वीकार गर्नुपूर्ब कानुी प्रक्रिया पूरा गरी कच्चा सम्पत्ति हो वा पक्का हो, त्यसको मूल्य के कति पर्ने हो, यथार्थ मूल्य खुल्ने गरी मूल्यांकन गर्न पनि राष्ट्र बैंकको निर्देशन छ ।

जमानी दिनेले कबुल गरेको रकम बाहेक ऋणीका अन्य दायित्व सम्बन्धमा जमानी हुनेको सम्पत्तिबाट असुल गर्न नपाइने ब्यवस्था गरिएको छ ।

यस्तै जमानीकर्ताले कबुल गरेको रकमको दायित्वको रकम सम्बन्धित ऋणीबाट असुल उपर हुन नसकेमा मात्र जमानकर्ताले दिएको धितो सुरक्षणबाट असुलीको प्रक्रिया अगाडी बढाउनु पर्ने भएको छ ।

जमानीकर्ताको सम्पत्ति लिलाम गरेर बैंक तथा वित्तीय संस्थाले ऋण उठाउनु पर्ने अवस्था आएमा त्यस्तो धितोको वास्तबिक मूल्यांकन गर्न राष्ट्र बैंकले भनेको छ । ‘ऋणीले लिएको ऋण वापत जमानतको अंक रकम जमानतकर्ताले दिएको धितो सुरक्षणबाट असुल उपर गर्नुपर्ने भएमा त्यस्तो सम्पत्तिको मूल्य निर्धारण गर्दा स्थानीय ब्यक्तिहरुबाट गराइएको पन्चेकीर्ते मूल्यांकन, प्राबिधिकको मूल्यांकन, प्रचलित बजार मूल्य, मालपोत कार्यालयबाट निर्धारित मूल्य, धितो सुरक्षण स्वीकार गर्दा निर्धारित मूल्य समेतलाई मध्यनजर गरी मूल्य निर्धारण गर्ने गराउने मापदण्ड बनाइ लागू गर्ने,’ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशनमा उल्लेख छ ।

वास्तबिक र स्पष्ट आधार तथा कारण बेगर धितोको अबमूल्यांकित गरी मूल्य कायम नगर्न पनि राष्ट्र बैंकले भनेको छ । यस्तै जमानतकर्ताले धितो सुरक्षणमा दिएको सम्पत्ति लिलाम गर्नपर्ने भएमा सो पूर्व जमानतकर्तालाई निजले स्वीकार गरेको अंक हदसम्मको रकम दाखिला गर्नको लागि समय किटान गरी सुचना दिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

जमानतकर्ताले तोकिएको सुचनाको समय सीमाभित्र जमानतपत्रमा आफूले मन्जुर गरेको रकम दाखिला गर्न नल्याएमा धितो सुरक्षणको सम्पत्ति लिामको सुचना प्रकाशित गरी जमानतकर्तालाई समेत सोको सुचना दिनु पर्ने ब्यवस्था गरिएको छ ।

बैंकले जमानत सुरक्षणमा रहेको सम्पत्रि लिलाम गर्दा अपनाउनु पर्ने प्रक्रिया तथा कार्यविधिका सम्बन्धमा छुट्टै नियमाबली वा कार्यविधि वा निर्देशिका तायर गरी अनिवार्य रुपमा लागू गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

जमानत सुरक्षणको सम्पत्रि लिलाम मितिभन्दा अगाडि वा लिलाम पछि निश्चित समय सीमाभित्र जमानतपत्रको दायित्व बमोजिमको रकम दाखिला गर्न ल्याएमा बुझिलिइ धितो फुकुवा गरी दिन पनि राष्ट्र बैंकले भनेको छ ।


क्लिकमान्डु