फेसबुकका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति १५ दिनमा ५ अर्ब डलर थपियो



काठमाडौं । सन् २०१७ को पहिलो दुई हप्तामै फेसबुकका संस्थापक मार्क जुकरर्बगले बिश्वमै सबैभन्दा धेरै ५ अर्ब डलर बराबर सम्पत्ति कमाएका छन् । फेसबुकको सेयर हालसम्मकै उच्चतम बिन्दुमा पुग्नै लागेको हुनाले उनको सम्पत्ति यसरी बढेको हो ।

उनको सम्पत्ति अहिले ५३ अर्ब ८० करोड डलर पुगेको छ । उनी बिश्वकै पाँचौ धनी ब्यक्ति हुन् ।

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव जितेताका मार्कको स्वामित्वमा रहेको फेसबुकको ४१ करोड कित्ता सेयरको मुल्य ७ प्रतिशतले खुम्चिएर ४९ अर्ब डलर भएको थियो । तर, सन् २०१७ को शुरुवातसँगै उनले सो घाटाको पूर्ती मात्र नभएर अझ बढि कमाएका छन् । उनको सम्पत्ति अहिले ५३ अर्ब ८० करोड डलर पुगेको छ । उनी विश्वकै पाँचौ धनी व्यक्ति हुन् ।

मार्कको सम्पत्ति वृद्धिको तेजी फोर्ब्समा सूचीकृत अन्य अर्बपतिहरुको भन्दा निकै धेरै हो ।

कुनै एउटा घटना बिशेषले फेसबुकको सेयर वृद्धिमा तेजी नल्याएको भए पनि पछिल्ला दिनमा फेसबुकमा प्रकाशित हुने झूटा समाचारलाई नियन्त्रण गर्ने बताएपछि पत्र पत्रिकामा फेसबुकका बारे सकारात्मक समाचार प्रकाशित हुन थालेका थिए ।

१९ वर्षको उमेरमा हार्वड विश्वविद्यालयमा पढ्दै गर्दा सामाजिक संजाल फेसबुक स्थापना गरेका मार्कले त्यसपछि पछाडि फर्कन परेको छैन् ।


क्लिकमान्डु