उद्योग मन्त्रालय र ईन्जिनियरिङ्ग एशोसिएसन मिलेर उद्यमशीलताको विकास गर्ने




काठमाडौं । उद्यमशीलताको विकासमा सघाउने उद्देश्यले उद्योग मन्त्रालय र नेपाल ईन्जिनियरिङ्ग एशोसिएसनबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीको उपस्थितिमा मंगलवार उद्योग मन्त्रालयमा आयोजित कार्यक्रममा उद्योग मन्त्रालयका तर्पmबाट उद्योग मन्त्रालय योजना महाशाखा प्रमुख दिनेश घिमिरेले र नेपाल ईन्जिनियरिङ्ग एशोसियसनका तर्फबाट एशोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपाल ईन्जिनियरिङ्ग एशोसिएसनले उद्योगहरुमा नवीनतम प्रविधिको उपयोगका लागि सघाउने, इन्जिनियरहरुलाई उद्यमशील बनाउने र उद्योग मन्त्रालयको खोज अनुसन्धान र विकास कार्यमा सघाउने सहमति भएको छ ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालका सबै संस्थाहरुले एकै ठाउँमा बसेर सबैका लागि सोच्ने परिपाटिको विकास गर्न मन्त्रालयले नेपाल ईन्जिनियरिङ्ग एशोसियसनसँग यस प्रकारको सम्झौता गरेको बताए ।

आगामी दिनमा अन्य व्यवसायिक संघ संस्थाहरुसँग पनि सहकार्य शुरु गर्ने सोचाई रहेको भन्दै मन्त्री जोशीले बुद्धिलाई पनि उद्योगका रुपमा स्थापित गर्न सकिने बताए ।

राज्यमन्त्री कञ्चनचन्द्र वादेले इन्जिनियरहरुलाई पढेपछि जागिरै मात्र खाने मानसिकताबाट बाहिर ल्याउन पनि यस प्रकारका कामले सघाउ पुग्ने बताए ।

ईन्जिनियरिङ्ग एशोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले उद्योगीहरुलाई प्रविधि मैत्री बनाउन यस प्रकारको सहकार्यले सघाउ पुग्ने भन्दै नेपाल ईन्जिनियरिङ्ग एशोसियसनका लागि समेत यो महत्वपूर्ण कदमका रुपमा रहेको बताए ।

उद्योग विभागका महानिर्देशक प्रदिप कोईरालाले नेपाल ईन्जिनियरिङ्ग एशोसिएसनबाट प्राप्त हुने सेवाका लागि सरकारले कुनै आर्थिक दायित्व ब्यहोर्न नपर्ने गरी सहमति भएको भन्दै यस प्रकारको कार्यले उद्यमशीलताको विकासमा सघाउ पुग्ने धारणा राखे ।

सहमती अनुसार आगामी ३ महिना भित्र दुबै संस्थाहरुले समन्वयन गरी विस्तृत कार्ययोजनाका साथ अगाडी बढ्ने तयारी भएको छ ।


क्लिकमान्डु