भ्रष्टाचारको घुमाउरो बाटोः समाजशास्त्री दिपेश घिमिरेको बिचार
पुसको तेस्रो साता एउटा रोचक समाचार पढे । शिर्षक थियो मन्त्री पत्नीलाई कसरी घुस दिईन्छ ? वि.सं. २०६२/०६३ को आन्दोलन पछि अमिक शेरचन जनमोर्चाको तर्फबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री थिए । स्वास्थ्य मन्त्रालय अन्र्तगतको एक विभागका महानिर्देशकले पैसाको बिटो घरैमा ल्याएर शेरचनको श्रीमतीलाई दिएछन् ।
एक महिनासम्म त्यो बिटो कसैले हेरेनछ । एक महिना पछि हेर्दा त पोको भित्र पैसाको नोट नै नोट रहेछ । पैसा दिएपछि त्यो महानिर्देशकले मन्त्रीसँग गर्ने व्यवहार पनि परिवर्तन भएको शेरचनको अनुभव रहेछ । यसपछि ति महानिर्देशक विरुद्धमा शेरचनले “स्टिङ अप्रेसन” गरेको बताएका छन् ।
मन्त्रीले “स्टिङ अप्रेसन” गरे या गरेनन् ? अहिले त्यता नजाउ । त्यसको बारेमा मसँग आवश्यक सुचना तथा जानकारी पनि छैन । तर यहाँ उठाउन खोजेको सवाल के मात्र हो भने भ्रष्टाचारका मुद्दा तथा सवालहरुमा अधिकारप्राप्त व्यक्तिका परिवार तथा नातेदारहरु के कसरी संलग्न हुन्छन् ? वा जर्बजस्ती संलग्न गराईन्छन् ? वास्तवमा उच्च पदस्थ राजनीतिक पदाधिकारीहरुलाई भ्रष्ट बनाउन वा भ्रष्टाचारजन्य क्रियाकलापहरुमा संलग्न गराउनको लागि परिवार तथा नातेदारहरुको पनि महत्वपूर्ण भुमिका रहन्छ ।
अरु विदेशी अनुसन्धानबाट प्राप्त निष्कर्ष र तथ्यलाई अलि परै छाडेर अमिक शेरचनले खुलासा गरेको सवाललाई मात्र हेर्ने हो भने पनि परिवारलाई घुस दिएर अधिकार प्राप्त व्यक्तिलाई प्रभावमा पार्ने भ्रष्टाचारको घुमाउरो बाटो नेपालमा सबैभन्दा डरलाग्दो गरी अगाडी आएको छ ।
नेपालमा मात्र होईन बाहिरी देशमा पनि परिवार तथा नातेदारको भुमिका उत्तिकै महत्वपूर्ण रहेको छ । दुई वर्ष अघि म श्रीलंका गएको थिएँ । तीन हप्ते श्रीलंका बसाईमा मैले धेरै व्यक्तिसँग अन्तरक्रिया गर्ने मौका पाएँ । कोलम्बो विश्वविद्यालयको कोर्समा त्यहाँ बस्दा मैले भेटेका वौद्धिक वर्ग, पत्रकार तथा प्राध्यापक सबैले पूर्व राष्ट्रपति महेन्द्रा राजापाक्षेको उच्च तारिफ गरे ।
राजापाक्षेको कार्यकालमा सुरुभएका विकासका ठूला योजनाहरुको बारेमा सुनाए । त्यसो भए राजापाक्षेले पछिल्लो पटक राष्ट्रपतीय निर्वाचनमा किन पराजय भोगे त ? सबैको एउटै जवाफ थियो, उनको परिवारका सदस्यहरु निकै भ्रष्ट थिए । राजापाक्षेका छोरा कुनै पनि काम पैसा विना डिल नै गर्दैनथे । उनका परिवारका अन्य सदस्य तथा नातेदारहरु पनि भ्रष्टाचारको चंगुलमा चुर्लुम्म डुबेका सबैका समान जवाफ थियो । पछिल्लो समय राजापाक्षेको छोरा माथि अकुत सम्पत्ति जोडेको बारेमा छानविन भईरहेको छ ।
कतिपयको हकमा यो तथ्य ‘ओपन सेक्रेट’ जस्तै छ । त्यसैले भ्रष्टाचार नियन्त्रणको परिभाषामा यसलाई पनि समेटेर फराकिलो बनाउनु पर्छ ।
परिवार विश्वव्यापी सामाजिक संरचना हो । परिवार विश्वव्यापी रहेको समाजशास्त्री मुरडकको भनाइ छ । परिवारमा व्यक्तिको जीवनको प्रारम्भ हुन्छ, संगठित हुन्छ र सामाजिकीकरणको प्रक्रिया सुरु हुन्छ ।
मानवशास्त्री लरिसा लोमिनाजले बीसौँ शताब्दीको मध्यतिर चिलीका मध्यमवर्गीय व्यक्तिमा गरेको एक अध्ययनमा राजनीतिक नेतृत्व, कर्मचारी तथा अन्य सार्वजनिक पद धारण गर्ने अधिकारीले आफ्नो परिवार, नातेदार तथा इष्टमित्रको अपेक्षा र चाहना पूरा गर्नका निम्ति भ्रष्टाचार गर्ने गरेको तथ्य भेटेकी थिईन । अध्ययनका क्रममा भ्रष्टाचारमा संलग्न भएका अधिकारीले आफ्ना श्रीमान–श्रीमती, छोरा–छोरी तथा अन्य नातेदारका अपेक्षा पूरा गर्नको लागि भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न हुनुपरेको बताएका थिए ।
यसैगरी, भारतका पूर्व केन्द्रीय सतर्कता आयुक्त एन भित्तलको केही समयअघि प्रकाशित ‘इन्डिङ करप्सन’ नामक पुस्तकमा पारिवारिक अपेक्षा तथा दबाबका कारण भारतमा भ्रष्टाचार मौलाएको तथ्य प्रस्तुत गरिएको छ ।
भित्तलका अनुसार भारतका ठूलाखालका भ्रष्टाचार परिवार र नातेदारको अपेक्षालाई पूरा गर्नको लागि भएका छन् । उनले जातलाई परिवारको विस्तारित रूप भएको उल्लेख गर्दै त्यसैका कारण भ्रष्टाचार संस्थागत भएको तथ्य पेश गरेका छन् ।
श्रीलंका, चिली तथा भारतमा मात्र होइन नेपालमा पनि अधिकांश ठूला भ्रष्टाचारका काण्डमा जिम्मेवार अधिकारीका परिवारका सदस्यको भूमिका रहेको स्पष्ट देखिन्छ । इतिहासलाई पल्टाउने हो भने थापा शासन काल, राणा शासनकालमा पनि परिवारको चाहना, आवश्यकता तथा सुखसयल बढाउनको लागि सम्पत्ती जोड्न लागेका थिए । यसैगरी, पञ्चायतकाल, प्रजातान्त्रिककालमा मात्र होईन पछिल्लो गणतान्त्रिककालमा पनि कतिपय काण्डहरुमा परिवारका सदस्यहरु प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न भएको देखिन्छ ।
अझ यहाँ त मन्त्री परिवार खासगरी श्रीमती, श्रीमानलाई उपहार, कोसेली वा पैसा दिएर प्रभावमा पार्ने र त्यसकै आधारमा आफु अनुकुलका निर्णयहरु गर्ने गराउने काम भईरहेका छन् । जुन अमिक शेरचनको भनाईले पनि प्रमाणित गर्दछ ।
यस्तो अवस्थामा कतिपय अदृश्य अर्थात सार्वजनिक तथा कानुनी रुपमा नदेखिएर परिवारले प्रभावित पारिरहेको देखिन्छ भने कतिपयमा अर्धदृश्य अर्थात सार्वजनिक रुपमा देखिने तर कानुनी रुपमा नदेखिएर परिवारका सदस्यले अधिकार प्राप्त अधिकारीलाई प्रभावित पारिरहेको देखिन्छ । अनि कतिपय भने सार्वजनिक र कानुनी दुवै रुपमा देखिएरै प्रभावित पारिरहेका देखिन्छन् ।
भ्रष्टाचार नियन्त्रण ऐन २०५९ ले भ्रष्टाचारको परिभाषा भित्र यस्ता सवालहरुलाई समेट्न सकेको देखिदैन । यस ऐनले भ्रष्टाचारको परिभाषा त दिएको छ, तर त्यो अलि साघुँरो छ । जसमा जिम्मेवार राष्ट्रसेवकले काम गरिदिए वापत वा नगरिदिए वापत रिसवत लिए, विनामुल्य वा कम मुल्यमा वस्तु वा सेवा लिने दिने, कमिसन लिने लगायतका गतिविधिलाई भ्रष्टाचारको रुपमा परिभाषित गरिएको छ । यो परिभाषाले जिम्मेवारी अधिकारीको परिवारका सदस्यहरुको संलग्नताको बारेमा खासै बोलेको छैन ।
अरु विदेशी अनुसन्धानबाट प्राप्त निष्कर्ष र तथ्यलाई अलि परै छाडेर अमिक शेरचनले खुलासा गरेको सवाललाई मात्र हेर्ने हो भने पनि परिवारलाई घुस दिएर अधिकार प्राप्त व्यक्तिलाई प्रभावमा पार्ने भ्रष्टाचारको घुमाउरो बाटो नेपालमा सबैभन्दा डरलाग्दो गरी अगाडी आएको छ । शेरचनले यो घटनालाई सार्वजनिक मात्रै गरेका हुन । कतिपयको हकमा यो तथ्य ‘ओपन सेक्रेट’ जस्तै छ । त्यसैले भ्रष्टाचार नियन्त्रणको परिभाषामा यसलाई पनि समेटेर फराकिलो बनाउनु पर्छ । कारबाहीको दायरालाई पनि बढाएर अलि ठुलो बनाउनु आवश्यक छ । किनकि समयको परिवर्तनसँगै तथा बदलावसँगै भ्रष्टाचारका घुमाउरा बाटाहरु बग्रेल्ती देखिन थालेका छन् । यसलाई नियन्त्रणको लागि स्पष्टसँग सम्बोधन नगरिकन सुशासन स्थापना गर्न सकिदैन ।