महंगी ४.८ प्रतिशतले मात्रै बढेको राष्ट्र बैंकको दाबी



काठमाडौं । दैनिक उपभोग्य वस्तुको मूल्य बढेर जनताको ढाड सेकिइरहेको छ । तर, महंगीबारे आधिकारिक तथ्यांक सार्वजानिक गर्ने निकाय नेपाल राष्ट्र बैंकले महंगी जम्मा ४.८ प्रतिशतले मात्रै बढेको दाबीसहितको तथ्यांक सार्वजानिक गरेको छ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजानिक गरेको देशको वर्तमान आर्थिक स्थिति नामक प्रतिवेदनअनुसार कात्तिक महिनामा ४.८ प्रतिशतले मात्रै महंगी बढेको छ । गत वर्षको यसै महिनामा महंगी १०.४ प्रतिशतले महंगी बढेको थियो । ०७२ र ०७३ असार मसान्तमा १०.४ प्रतिशतले नै महंगी थियो ।

गत वर्ष मुलुकमा नाकाबन्दी थियो । जसले उपभोग्य वस्तुहरुको मुल्य अत्यधिक बढाएको थियो । त्योसँग तुलना गर्दा यो वर्षको कात्तिमा महंगी घटेको राष्ट्र बैंकले जनाएको छ । राष्ट बैंकका अनुसार खाद्य तथा गैरखाद्य दुबै समुहको महंगी घटेको छ ।

कात्तिक महिनामा खाद्य समूहको महंगी २.६ प्रतिशतले बढको छ । जबकी गत वर्षको कात्तिक महिनामा खाद्य समूहको महंगी १२.१ प्रतिशतले बढेको थियो ।

यस अवधिमा खाद्य समूह अन्तगर्तत पर्ने घ्यू तथा तेल र दलहन तथा गेडागुडीको मूल्य घटेको छ भने दुग्धजन्य पदार्थ तथा अण्डा, खाद्य तथा खाद्यजन्य पदार्थ, फलफूल, मासु तथा माछालगायतका वस्तुहरुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले समग्र सूचकमा नै त्यसको प्रभाव परेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, खाद्य मुद्रास्फीति ६.५ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ९.२ प्रतिशत रहेको थियो । यो समूह अन्तर्गतको यातायात तथा संचारको मुद्रास्फीति घटेको छ भने लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा लगायतका वस्तुहरुको मुद्रास्फीति गत वर्षको तुलनामा न्यून रहेको छ ।

गैरखाद्य मुद्रास्फीति समूहतर्फको मुद्रास्फीति ६.५ प्रतिशत रहेको छ । गत वर्षको यसै अवधिमा यस्तो सूचक ९.२ प्रतिशत रहेको थियो । यो समूह अन्तर्गतको यातायात तथा संचारको मुद्रास्फीति घटेको छ भने लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा लगायतका वस्तुहरुको मुद्रास्फीति गत वर्षको तुलनामा न्यून रहेको छ ।

वस्तुहरूको थोक मुद्रास्फीति ६.२ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरूको ४.७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, आयातीत वस्तुहरूको १.६ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको थोक मुद्रास्फीति ११.९ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरूको ७.२ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको ३.४ प्रतिशतले घटेको थियो ।


पुष्प दुलाल