जनता खुल्ला आकाशमुनि, पुनर्निर्माणमा संलग्न इन्जिनियर सुविधा माग्दै आन्दोलनमा



reconstruction

काठमाडौं । भूकम्पको कारण भत्किएको सर्वसाधारणको घर बनाउन सरकारले रकम उपलब्ध गराउन थालेपनि इन्जिनियरको कारण पुनर्निनिर्माण प्रक्रिया अवरुद्ध भएको छ ।

पुनर्निर्माण प्राधिकरणसँग भएको सम्झौता अनुसार आफूहरुको सेवा सुविधा तत्काल बृद्धि गर्नुपर्ने माग राख्दै इन्जिनियरहरुले काम रोकेर जनताको घर बनाउन अबरोध सिर्जना गरेका हुन् । भूकम्प अति प्रभावित विभिन्न जिल्लामा खटिएका प्राविधिकहरुले फिल्ड भत्ता, बीमा, सञ्चार, यातायात सुविधालगायतका सुविधा तत्काल बढाउनु पर्ने माग पूरा नभए काम रोक्ने चेतावानी उनीहरुले दिएका हुन् ।

प्राधिकरणले पुनर्निर्माणमा संलग्न कर्मचारीलाई खाइपाइ आएको सुविधामा थप ७५ प्रतिशतले भत्ता बृद्धि गर्ने निर्णय गरिसकेको छ । ०७२ बैशाखको भूकम्पको कारण भत्किएका सर्वसाधारणका घर अझै पुनर्निर्माण हुन सकेका छैनन् । सो समयमा बनेका आपतकालिन आवाश पनि भत्किसकेको समयमा प्राविधिक इन्जिनियरले काम रोकेर जनतालाई खुल्ला आकाशमुनी राख्ने योजना बनाएका हुन् ।

इन्जिनियरहरुले गरेको यस्तो आन्दोलनले पुनर्निर्माण कार्य प्रभावित हुने भन्दै प्राधिकरणले आपत्ति जनाएको छ । प्राधिकरणले मंगलबार विज्ञप्ति प्रकाशित गरी प्राविधिक इन्जिनियरहरुलाई  पेशागत मर्यादा र समुदायको उत्थानप्रति समर्पित हुन आग्रह गरेको छ ।

‘सीमित स्रोत र साधनका बीचपनि पुनर्निर्माणमा खटिएका जनशक्तिहरुलाई कामप्रति जिम्मेवार, जागरुक र प्रोत्साहित गर्न अतिरिक्त सुविधा दिने निर्णय कार्यान्वयन हुने क्रममा रहेको अवस्थामा सेवा सुविधाको विषयलाई लिएर पुनर्निर्माणको काममा बाधा व्यवधान नगर्न, नगराउन र भूकम्प प्रभावित जनसमुदायको उत्थानका लागि पूर्ण रुपमा समर्पित भई पेशागत मर्यादाको समेत ख्याल राखी आ–आफ्नो जिम्मेवारी वहन गर्न प्राधिकरण सम्बन्धित सबै कर्मचारीहरुलाई अनुरोध गर्दछ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्राधिकरणको गत कार्तिक १० गते बसेको निर्देशक समितिको बैठकबाट  पुनर्निर्माणमा खटिएका जनशक्तिहरुलाई मापदण्ड र सूचकका आधारमा बढीमा ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । सो निर्णय अहिले कार्यान्वयनका लागि गृहकार्य अघि बढिसकेको प्राधिकरणले जानकारी दिएको छ ।

पुनर्निर्माणको लागि सरकारले एकै पटक ३७ सय प्राविधिक कर्मचारीको दरबन्दी सिर्जना गरी भर्खर इन्जिनियरिङ पास गरेका ब्यक्तिलाई भर्ना गरेको थियो । अहिले तिनै इन्जिनियरहरुले आन्दोलन गरेर पुनर्निर्माणमा अवरोध सिर्जना गरेका हुन् ।


क्लिकमान्डु