कुलमानको अर्को तयारीः रिमोटबाटै विजुलीको बिल तिर्न पाइने



electromech_dial_meter_img२६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपत्यकाको विद्युत व्यवस्थापनलाई चुस्त बनाउन अर्को निर्णय गर्ने तयारी गरेका छन् ।

विद्युत वितरण प्रणालीलाई चुस्त र पारदर्शी बनाउन स्मार्ट मिटर प्रयोगमा ल्याउन लागिएको हो ।  ‘पाइलट प्रोजेक्ट’का रुपमा निकट भविष्यमै उपत्यकामा स्मार्ट मिटर जडान गरिने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

‘लोडसेडिङ अन्त्य गर्नु मेरो एकसूत्रीय एजेण्डा हो । त्यसका लागि स्मार्ट मिटरिङ सिस्टम पनि ठूलो सहयोगी बन्नेछ ।’ यो प्रणाली लागू गर्ने तयारी भइरहेको छ । केही समयभित्रै पाइलट प्राजेक्ट सुरु हुने घिसिङले जानकारी दिए । तर, कुनदिनदेखि हुन्छ भनेर चैं अहिले नै मिति भने तोकिएको छैन ।

स्मार्ट मिटरिङ सिस्टम लागू गरेपछि विद्युत चोरी र विद्युत बक्यौता नरहने उनको भनाई छ । स्मार्ट मिटरिङ लागू भएपछि टेलिकमका उपभाक्ताले जसरी पैसा तिरेपछि टेलिफोन सेवा पाउँछन्, त्यसरीनै विद्युत प्राधिकरणका उपभोक्ताले पनि तिरेको पैसाको मात्रै विद्युत उपयोग गर्न पाउने छन् ।

‘स्मार्ट मिटरिङ प्रणाली लागू भएपछि अग्रिम भुक्तानी गरेर मात्रै बिजुली बाल्न पाइनेछ, यो प्रणालीमा उपभोक्ताले कार्डमार्फत रिचार्ज गर्न सक्ने र रिमोटबाट विजुलीको बिल तिर्न सक्नेछन्,’ घिसिङले भने ।

सिस्टमको कम्युनिकेशनका लागि टेलिकमसँग कुरा गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

त्यसो त, भौतिकरुपमा ग्राहकको घरमै पुगेर विजुलीको विल दिने र भुक्तानी लिने प्रणाली ज्यादै झन्झटिलो पनि छ । प्राधिकरणका ३० लाख ग्राहक छन् । उनीहरुको घरघरमा बिल पु¥याउन जानका लागि मात्रै हजारौं कर्मचारीहरु परिचालित हुँदा प्राधिकरणको कर्मचारी खर्च पनि अत्यधिक छ ।

‘स्मार्ट मिटरिङ सिस्टममा जाँदा बिजुलीको बचत हुन्छ र बिक्री भएको विजुलीको बक्यौता पनि रहँदैन । जसले प्राधिकरणले नाफामा लैजान्छ, त्यसैले कलेक्सन सेन्टरहरुलाई अगाडि बढाउने भन्दा पनि सिस्टमलाई अटोमेशन गर्नेतर्फ अघि बढिरहेका छौं,’ उनले भने ।
के हो स्मार्ट मिटरिङ ?

स्मार्ट मिटर भनेको एक प्रकारको विद्युतीय डिभाइस हो । यसमा दोहोरो सञ्चार सञ्चार प्रणाली जडान गरिएको हुन्छ । जसकारण प्राधिकरणको केन्द्रिय सिस्टमले पलपल त्यस्ता स्मार्ट मिटरको मनिटरिङ गरिरहेको हुन्छ । स्मार्ट मिटरले उपभोक्ताले उपयोग गरेको बिजुलीको हरेक घन्टाको रिपोर्ट नजिकैको रिडिङ स्टेशनमा पठाउँछ ।

रिडिङ स्टेशनमा संकलन भएका सूचनाहरु केन्द्रिय सिस्टममा पठाउँछ । उपभोक्ताले विल तिरेको नतिरेको पनि छिनको छिनमै प्राधिकरणको केन्द्रिय प्रणालीलाई थाहा हुन्छ । डिभाइसमा जडान गरिएको सिस्टममै उपभोक्ताले रिचार्जकार्डमार्फत रिचार्ज गरेर विजुलीको खपत गर्न सक्छन् । रिमोटमा रिचार्ज गरेर उपभोक्ताले रिमोटमार्फत पनि विजुलीको बिल तिर्न सक्ने घिसिङ बताउँछन् ।


क्लिकमान्डु