सावधान! ‘टेलिकमको लोटरी’ भन्दै ठगिनु होला



nepal_telecom

काठमाडौं । नेपाल टेलिकमको सहकार्यमा सञ्चालन गरेको चिट्ठामा तपाइलाई यति उपहार पर्‍यो भनेर तपाइको मोबाइलमा म्यासेज त आएन? यदि आयो भने सावधान यो सबै ठग्नेको काम हो ।

केही दिन यता मोबाइल नेटवर्क वा भाइबर मार्फत पठाइएका यस्ता म्यासेजमा तपाइलाई पुरस्कार जित्नु भयो भन्दै बैंक विवरण र एटिएम पिन नम्बर समेत माग्ने पाइएको छ । नेपाल टेलिकमले यस्ता लोटरी प्रोग्राममा आफ्नो कुनै संलग्नता नभएको भन्दै ठगबाट जोगिन आग्रह गरेको छ ।

किन आउँछ यस्तो म्यासेज?

‘स्काम’ भनिने यस्ता म्यासेज मोबाइल म्यासेजको रूपमा वा इमेलको रूपमा पठाएर ठगी गर्ने गिरोह संसारभर नै हुन्छन् । उपहार, पैसा ट्रान्सफर गरिदिने वा अन्य प्रलोभन देखाएर पठाउने यस्ता म्यासेजको उदेश्य प्रयोगकर्ताका संवेदनशील सूचना हात पार्न नै हो । बैंक र एटिएमका विवरण प्राप्त गरेर नक्कली एटिएम बनाई पैसा चोर्न सक्ने खतरा हुन्छ यस्ता गिरोहबाट ।

कसरी जोगिने?

अपरिचित स्वदेशी वा विदेशी नम्बरबाट आएका यस्ता म्यासेजको वास्ता गर्नु हुँदैन् । यदि आफूले संवेदनशिल विवरण पठाइ सक्नु नै भएको छ भने क्षति हुनु भन्दा सक्दो चाँडो सुरक्षा गर्न तर्फ लाग्नु होला । एटिएम वा इ-बैंकिङको विवरण पठाएको भए तत्काल पासवर्ड र सेकुरिटी कि फेर्नुहोस् । इमेल वा सोसल मिडियाको विवरण भए तत्काल पासवर्ड परिवर्तन गर्नुहोस् ।


क्लिकमान्डु