सामसुङ नोट ७ को विकल्प हुवाइको मेट ९ ? यस्ता छन् विशेषता



mate9वर्षकै चर्चित स्मार्टफोन सामसुङ ग्यालेक्सी नोट ७ कम्पनीमै फिर्ता भएपछि यसको स्थान स्थान कब्जा गर्न पुराना र नयाँ स्मार्टफोन कम्पनी प्रतिस्पर्धामा छन् । यसै बीच चिनियाँ स्मार्टफोन कम्पनी हुवाइले नयाँ प्रिमियम सेट मेट ९ सार्वजनिक गरेको छ । जर्मनीको मुनिखमा बिहीवार सार्वजनिक मेट ९ लाई विश्लेशकहरूले नोट ७ को राम्रो विकल्पको रूपमा हेरेका छन् ।

सुरूमा युरोप र चीनको बजारलाई लक्षित गरी सार्वजनिक भएको मेट ९ दोस्रो चरणमा मात्र अमेरिका र अन्य मुलुकमा आइपुग्ने छ । फराकिलो डिस्प्ले, पावरफुल हार्डवयर र सफ्टवयरमा केही आकर्षक विशेषताले यो फोनले राम्रो बजार हिस्सा ओगट्न सक्ने देखिएको छ । स्मार्टफोनमा अहिलेसम्मको ‘फास्ट’ प्रोसेसर रहेको दाबी गर्दै हुवाइले मेट ९ मा ‘स्टान्डर्ड’ र ‘पोर्च’ सँस्करणलाई बजार पठाएको छ ।

डिस्प्ले र डिजाइन

५.९ इन्चको डिस्प्ले भएको मेट ९ फुल एचडी रेजुलेसनमा उपलब्ध छ । ७.९ एम एम मात्र बाक्लो यो सेटको तौल १ सय ९० ग्राम छ । ५ वटा छुट्टा छुट्टै कलरमा प्रयोगकर्ताले फोन छनौट गर्न सक्ने छन् ।

डियुल एन्ड पावरफुल क्यामेरा

यो वर्ष बजारमा आएको अधिकांश स्मार्टफोन क्यामेराको क्षमतामै केन्द्रित भएका छन् । मेट ९ पनि पछाडी दुइवटा क्यामेरा सहित उपलब्ध छ । एउटा क्यामेरा २० मेगा पिक्सेलको छ भने अर्को १२ मेगापिक्सेलको । अगाडीको ‘सेल्फी’ क्यामेरा ८ मेगापिक्सेल र अटोफोकस सुविधा सहित छ । यो क्यामेराको एपार्चर एफ १.५ मात्र भएकाले कम उज्यालो भएको अवस्थामा पनि राम्रो फोटो खिच्न सकिन्छ । फोर के भिडियो खिच्ने तपाइको रहर पनि यसले पुरा गर्ने छ ।

दुई सिम कार्ड र एस्डी कार्ड सपोर्ट

किरिन ९६० अक्टाकोर प्रोसेसर ४ जिबी र्‍याम भएको मेट ९ मा ६४ जिबी इन्टरनल स्टोरेज छ । तर यतिमै सिमित हुनु पर्छ भन्ने छैन् । आवश्यकता अनुसार एक्सट्रनल माइक्रो एसडी २ सय ५६ जिबी सम्म प्रयोग गर्न सकिन्छ । सेटमा दुई सिम प्रयोग गर्न मिल्छ ।

चाँडो चार्ज बढि टिकाउ

सामसुङ नोट ७ मा जस्तै यो फोनले पनि ‘सुपर चार्जिङ’ प्रविधी पछ्छाएको छ । ३० मिनेट चार्जमा राखे ‘दिनभरी’ फोन प्रयोग गर्न पुग्ने कम्पनीको दाबी छ । चार्ज र ब्याट्रीमा गडबढी हुन नदिन ‘सुपर सेफ ५ गेट प्रोटेक्सन’ समेटिएको छ । जसले चार्ज र ब्याट्रीको अवस्था मोनिटर गरेर सुरक्षा अपनाउँछ ।


क्लिकमान्डु