नेपालमा आउदैछ फोरजी प्रविधि



Mobile-Generation-4g
नेपालमा मोबाइल फोनमार्फत इन्टरनेट चलाइरहेकाहरु आजकाल एउटा खुसीको प्रतिक्षा गरिरहेका छन् । सरकारले अब चाँडै नै फोर जी अर्थात चौथो पुस्ताको प्रविधि भित्र्याउनका लागि दूरसञ्चार सेवाप्रदायकहरुलाई अनुमति प्रदान गर्ने बताएको छ । अब अहिलेको भन्दा तिब्र गतिको इन्टरनेट चलाउन पाउने आशामा धेरैले फोरजीको प्रतिक्षा गरेका छन् । यसपछि नेपालका मूख्य मोबाइल सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले जतिसक्दो छिटो यो सेवा सुरु गर्ने बताएका छन् ।

के हो फोरजी ?

फोरजी भनेको मोबाइल नेटवर्कको चौथो पुस्ता अर्थात फोर्थ जेनेरेसन हो । अहिले नेपालमा थ्रीजी अर्थात तेस्रो पुस्ताको नेटवर्कमार्फत मोबाइल चलिरहेको छ । थ्रीजीबाट फोरजीमा जानुको अर्थ अब स्मार्टफोन, ट्याब्लेट र ल्यापटप आदिमा छिटो, सस्तो र अझै विश्वसनिय रुपमा इन्टरनेट चलाउन सकिनु हो ।
क्षमताका आधारमा थ्रीजी भन्दा फोरजी सेवा ५ गुणा छिटो चल्छ । फोरजी सेवाको पहिलो प्रयोग गर्ने राष्ट्र दक्षिण कोरिया हो । दक्षिण कोरियाले सन् २००७ मा यो सेवा संचालनमा ल्याएको थियो । भारतमा सन् २०१२ अप्रिलदेखि यो सेवा संचालनमा ल्याइएको थियो । नेपालमा भने बल्ल यसको तयारी भएको छ ।

वानजी

वानजी अर्थात पहिलो पुस्ताको प्रविधि सन् १९८० को दशकमा प्रारम्भ भएको थियो । टुजी प्रविधि नआउदा सम्म यसको प्रयोग गरियो । यसमा एनालग प्रविधिको रेडियो सिग्नलको सहायताले खबर आदान प्रदान गर्न सकिन्थ्यो ।

टुजी

टुजी अर्थात दोश्रो पुस्ताको मोबाइल फोन प्रविधिमा डिजिटल प्रविधिको प्रयोग गरिन्छ । यसमा एक मोबाइलबाट अर्को मोबाइलमा डिजिटल रुपमा भ्वाइस अर्थात खबर प्रवाहित हुन्छ । त्यसैगरी यसको ध्वनी प्रवाहित गर्ने क्षमता पनि वानजीको तुलनामा निकै उच्च हुन्छ । यो वाहेक एसएमएस अर्थात टेक्स्ट म्यासेजका रुपमा डाटा सर्भिस पठाउन सकिन्छ । वानजीमा एसएमएस पठाउन सकिदैनथ्यो । ब्यावसायिक रुपमा टुजी प्रविधिको पहिलो प्रयोग सन् १९९१ मा फिनल्यान्डको रेडियोलिन्जा नामक कम्पनीले गरेको थियो ।

थ्रीजी

थ्रीजी सेवामा उच्च गतिको डाटा ट्रान्सफर गर्न सकिन्छ । थ्रीजी मोबाइलको प्रयोग गरी सधै इन्टरनेटसँग आवद्ध भइरहन सकिन्छ । खासगरी तीब्र गतिमा डाटा पठाउन र प्राप्त गर्नका लागि यसको प्रयोग गरिन्छ । त्यसैगरी फोन गर्ने र रिसिभ गर्ने दुवैले एक अर्काको अनुहार र हाउभाउ हेरी भिडियो कल समेत गर्न सक्छन् । तर यसरी कल गर्नका लागि कुराकानी गर्ने दुवै व्यक्तिसँग थ्रीजी सिम र त्यसै अनुसारको सुविधा भएको मोबाइल सेट हुनु आवश्यक छ ।


क्लिकमान्डु