काठमाडौंमा डेरा खोज्दै हुनुहुन्छ? फेसबुक बन्छ सहयोगी



room1

डेरा खोज्दै हुनुहुन्छ ? या त आफूसँग भएको खालि फ्ल्याट भाडामा दिन चाहनुहुन्छ ? अब पहिला जस्तो घर घरमा गएर सोध्नु पर्दैन । घरधनीलाई पनि नजिकैको किराना पसलमा कोही कोठा खोज्दै आए देखाई दिनुस् है भनेर बिन्ती पनि गर्न पर्दैन ।

जोशीला युवाहरूले सुरू गरेको एक फेसबुक अभियान अहिले धेरैको लागि डेरा पाउन वा भाडामा लगाउन सहयोगी बनेको छ । कुनै मुनाफा कमाउने उद्देश्य नराखी सुरू गरिएको फेसबुकको पब्लिक ग्रुप ‘रुम फाइन्डर काठमाडौं’ अहिले चर्चित बन्दै गएको छ ।

रुम फाइन्डर काठमाडौंका सदश्य अहिले ५० हजार नाघेका छन् । हप्तामा ३ हजार भन्दा बढि सदस्य थपिदै गएका छन् । त्यसैगरी ग्रुपमा दैनिक १ दर्जन भन्दा बढि डेरा भाडाका सूचना पोस्ट हुने गरेका छन् । फेसबुकमा बेकारमा समय बिताउनेलाई यसको ‘सामाजिक सञ्जालको सहि उपयोग कसरी गर्ने’ भन्ने एउटा गतिलो उदाहरण बनेको छ – रूम फाइन्डर काठमाडौं ।

कसरी सुरू भयो?

एक दशक यता प्रविधि क्षेत्रमा काम गर्दै आएका कम्प्युटर इन्जिनियर क्षितिज रिमाल लगायतका युवाहरूले यसको सुरूवात गरेका हुन् । काठमाडौंमा कोठा खोज्ने समस्या साँच्चिकै जटिल भएको महसुस गरेर यो अभियान सुरू गरेको रिमाल बताउँछन् ।

प्रविधि क्षेत्रमै काम गर्ने हुँदा केही न केही डिजिटल प्रोडक्ट बनाउने सोच मनमा थियो क्षितिजको । फेसबुककै मेन्स रुम र नाकाबन्दीको समयमा कारपुलको ह्यास ट्यागको लोकप्रियताबाट प्रभावित भएर यो सुरू गरेको उनले बताए ।

कसरी प्रयोग गर्ने ?

सर्वप्रथम फेसबुकको सर्चमा गएर रुम-फाइन्डर काठमाडौं (Room Finder Kathamandu) सर्च गर्नुहोस् । त्यसो नगरी यो लिंकमा क्लिक गरेर सिधै जान पनि सक्नुहुन्छ । यदि तपाई पहिलेनै यो ग्रुपको सदस्य हुनुहुन्छ भने अब सिधै पोस्टमा गएर आफूले खोजेको वा त आफूले भाडामा दिन चाहेको स्पेसको विवरण भर्नुहोस् । यसमा प्रयोगकर्ताले भाडामा दिन चाहेको स्पेसको भाडा रुपैयाँ र उपलब्ध भएसम्म त्यसको फोटो अपलोड गर्न सकिने छ ।

त्यसपछि तपाइको जिज्ञासालाई पोस्ट गर्नुहोस् । यदि तपाई यो समूहमा अहिले सम्म आबद्द हुनुहुदैन भने पेजको दाहिनेपट्टि रहेको ‘जोइन ग्रुप’ मा अनुरोध पठाउन सक्नुहुने छ । तपाइँले गरेको रिक्वेस्ट यस पेजमा रहेका सदस्य सामु नोटिफिकेसन मार्फत पुग्छ र उनीहरूले तपाईँको अनुरोधलाई स्वीकार गरेमा तपाईँको आबद्धता यो समूहमा कायम हुनेछ ।

नियम के के छन् ?

रुम-फाइन्डरको एउटा मात्र रहेको नियम भनेको अनावश्यक र असान्दर्भिक पोस्ट नगर्नु मात्र हो ।

सर्ट-कट के के छन् ?

नयाँ प्रयोगकर्तालाई यो समूहमा आफुले चाहेको कोठा खोज्न ह्यास ट्यागमा #आस्क #इन्फर्म #बुक गरि तीनवटा सर्टकटको सुबिधा छ । ह्यासट्यागले आफुले चाहेको जानकारीलाई फिल्टर गर्न मद्दत गर्छ । आफुलाई कोठा आवस्यक परेमा #आस्क ह्यास ट्यागमा पोस्ट गर्न सकिने छ जसले गर्दा  कोठा हुनेहरुले #इन्फर्म प्रयोग गर्नेछन् र बुक गर्नेले #बुक गर्ने छन् । तर अपेक्षाकृत ह्यासट्यागले भने चर्चा कमाउन नसकेको उनको अनुभब छ ।

room_1

मोबाइल एप्सको तयारी

वेभ डिजाइन र मोबाइल एप्स विकासको काम गर्ने उनको समूह रुम-फाइन्डरको लोकप्रियता संगै मोबाइल एप्स बनाउने सोचमा रहेको उनले बताए । फेसबुक ग्रुपले समेटन नसकेका सुविधा समेटेर मोबाइल एप्स नै निर्माण गर्न उनीहरुको समूह लागेको छ ।

समस्या

अहिलेसम्म रुम-फाइन्डर काठमाडौंले ५० हजार सदस्य समेट्दा समस्याहरु पनि देखिएका छन् । रुम-फाइन्डरले भोगेको सबैभन्दा ठुलो समस्या भनेको स्पाम पोस्ट हो । त्यस्तै यसमा गरिने अश्लिल कमेन्टले हाम्रो समाज अलि बढी स्वतन्त्रताको अभ्यास गर्न खोजेको जस्तो उनले अनुभव गरेका छन् । घरायसी काम-काजका सामग्रीको पोस्ट पनि अर्को समस्याको रुपमा रहेको छ । यस्ता अनावश्यक सामग्रीले एक आपसमा नितान्त सहयोगको भावनाले सञ्चालित यो समूहले अहिलेसम्म पनि प्रभावकारी ढंगले काम गर्न सकेको छैन ।

गुनासा पनि छन्

रुम-फाइन्डरमा कोठा खोज्दा वा कोठाको जानकारी दिँदा अर्को प्रयोगकर्ताले फोन नम्बर माग्ने र आफुले सावधानी अपनाउन नसक्दा यसले मोबाइल नम्बरको दुरुपयोग हुन सक्ने क्षितिज स्वीकार्छन् । यो समस्या हटाउन ग्रुपले पोस्ट गर्ने प्रयोगकर्तालाई फेसबुकमै मेसेज गर्ने सुबिधा दिएको छ । प्रयोगकर्ताले धेरैपटक कोठाको लागि पोस्ट गर्दा समेत सहयोग पाउन नसकेको गुनासो पनि गर्छन् ।

त्यस्तै ग्रुपका कतिपय सदश्यहरूले अमर्यादित कमेन्ट र अरू नै सन्धर्भका सामग्री पोस्ट गर्दा एडमिनलाई हैरान पनि हुने गरेको छ ।

रुम-फाइन्डरको सफलताको लागि शुभकामना ! तपाइसँग पनि यस्तै प्रविधिसँग सम्बन्धित नयाँ काम, अभियानका जानकारी छन् भने हामीलाई  भन्नु होला ।


क्लिकमान्डु