औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टा लोडसेडिङ: रोजगारी गुमाउँदै मजदुर


विराटनगर । सुनसरीको खनारमा सञ्चालित धागो उत्पादन गर्ने रिलायन्स स्पिनिङ उद्योगमा फागुन अन्तिम सातासम्म ३७ सय मजदुरले काम पाएका थिए । चैत १ गतेदेखि यो उद्योगमा २२ सय मजदुरले मात्र काम पाएर १५ सय घर वस्न बाध्य भएका छन् । यसको मुख्य कारण हो, ‘उद्योगमा विद्युत प्राधिकरणको दैनिक १२ घण्टा लोडसेडिङ ।’

उद्योगमा हरेक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म १५ सय मजदुरले काम गर्थे । चैत १ गतेदेखि विद्युत प्राधिकरणले साँझ ६ देखि बिहान ६ बजेसम्म विद्युत आपूर्ति कटौती गरेपछि रात्रिकालीन सिफ्टमा उद्योग बन्द रहने गरेको उद्योगका प्रशासन विभाग प्रमुख महेश पोखरेलले क्लिकमान्डुलाई जानकारी दिए ।

‘उद्योगको रात्रीकालीन सिफ्ट बन्द हुँदा त्यसवेला काम गर्ने सबै १५ सय मजदुर र कामदारलाई तत्कालका लागि घरमा बस्न वा अन्यत्र मजदुरी गरेर गुजारा चलाउन आग्रह गर्दै विद्युत नियमित भएपछि पुनः काममा बोलाउने प्रतिवद्धता गरेका छौं,’ उनले भने।

फागुन अन्तिम सातासम्म बिहान ४ घण्टा र साँझ ४ घण्टा विद्युत आपूर्ति कटौती हुँदा उद्योगले ५० प्रतिशतसम्म उत्पादन कटौती गरेर मजदुरको व्यवस्थापन जेनतेन गरेको थियो । तर लगातार १२ घण्टा विद्युत आपूर्ति कटौती हुँदा उद्योगको रात्रीकालीन सिफ्ट नै बन्द रहदा त्यो सिफ्टमा काम गर्ने मजदुरको व्यवस्थापन गर्नै गाह्रो भएको पोखरेलको गुनासो छ ।

दैनिक १२५ टन धागो उत्पादन गर्ने क्षमता भएको यो उद्योगले ८ घण्टा विद्युत आपूर्ति कटौती हुँदा दैनिक ७५ टन धागो उत्पादन गर्दै आएको थियो । पोखरेलले भने, ‘चैतदेखि दैनिक १२ घण्टा विद्युत आपूर्ति बन्द हुँदा उद्योगको उत्पादन दैनिक ४५–५० टनमा झर्दा काम गर्ने मजदुरको संख्या पनि ३७ सयबाट २२ सयमा झर्‍यो।’

अरिहन्त जुट मिलले जेनेरेटर चलाउँदै

सनुसरीकै दुहवी सोनापुरमा दैनिक ८५ टन जुटका सामग्री उत्पादन गरेर निकासी गर्दै आएको अरिहन्त जुट मिल तथा अरिहन्त मल्टिफाइबरमा ४२ सय कामदार छन् । ती कामदारलाई रोक्नका लागि उद्योगले विद्युत आपूर्ति कटौती भएको समयमा पनि जेनेरेटर चलाएर महँगो उत्पादन लागतमा सामाग्री उत्पादन गर्दै मजदुरको व्यवस्थापन गर्दै आएको छ ।

‘उद्योगमा काम गर्ने मजदुर नै पाइँदैन । पाइएकालाई रोक्नका लागि विद्युत आपूर्ति कटौती भएको समयमा डिजल प्लान्टको जेनेरेटर चलाएर भए पनि मजदुर रोक्ने प्रयास गरेका छौं,’ उद्योगका सीईओ गोविन्द बजगाईंले क्लिकमान्डुसँग भने, ‘विद्युत आपूर्ति बन्द भएको समयमा उद्योग नचलाउँदा मजदुर भाग्लान भन्ने चिन्ता, जेनेरेटरबाट उद्योग चलाउँदा उत्पादन लागत धान्नै गाह्रो ।’

तत्कालका लागि प्रतियुनिट ३५ रुपैयाँ पर्ने जेनेरेटरबाट उद्योग चलाएर मजदुरको व्यवस्थापन गर्दै आएको उनले बताए ।

बजगाईंले भने, ‘जेनेरेटर चलाएर लामो समयसम्म उद्योग सञ्चालन गर्नसक्ने स्थिति छैन । १२ घण्टे लोडसेडिङ लम्बिए भने लोडसेडिङको समयमा उद्योग बन्द गरेर मजदुरलाई बिदा गर्नुको विकल्प छैन ।’

उनकाअनुसार लोडसेडिङको समयमा उद्योग बन्द गर्ने हो भने यो उद्योगका आधाभन्दा बढी मजदुर कामदार घर बस्न बाध्य हुनेछन् ।

भारतबाट आपूर्ति रोकिएको भन्दै विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म विद्युत कटौती गरेपछि पूर्वको सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगमा कार्यरत मजदुरले रोजगारी गुमाउन थालेका छन् ।

यस बाहेक औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति भएको समयमा अत्याधिक ट्रिपिङ हुने गरेकाले उद्योगको उत्पादन क्षमतामा ह्रास आउनुका साथै मेशिनरी सामान विग्रिएर उद्योगमा थप क्षति पुग्दै मजदुर कटौती गर्न उद्योगी बाध्य हुँदै आएको पाइएको छ ।

चैत १ गतेदेखि उद्योगमा दिउँसो १२ घण्टा मात्र विद्युत आपूर्ति हुँदै आएको छ । त्यसबेला पनि दिनहुँ ५–६ पटक विद्युत ट्रिपिङ हुने गरेको उद्योगी र मजदुरले बताएका छन् । रिलायन्स स्पिनिङको फिनिसिङ विभागमा कार्यरत कामदार अशोक मण्डलले भने, ‘दैनिक ५–६ पटक ट्रिपिङ हुने गरेको छ । दुई मिनेटदेखि आधा घण्टासम्म ट्रिपिङ हुँदा उद्योगको कच्चा पदार्थ नष्ट हुनेदेखि मेशिनरी सामान बिग्रिने र मजदुर काम नगरी बस्न बाध्य हुँदै आएका छन् ।’

सुनसरी मोरङ औद्योगिक करिडोरमा ३३ केभी दुहबी, ११ केभी तरहरा, ११ केभी जुडी, ३३ केभी रघुपति जुटमिल्स र ११ केभी रानीबाट विद्युत सप्लाई हुँदै आएको छ । दैनिक ८ घण्टा लोडसेडिङ हुँदा त्यस क्षेत्रमा उद्योग संगठन मोरङले १५ दिन ट्रिपिङको सर्वेक्षण गर्दा एक दिनमा ६२ पटक सम्म ट्रिपिङ भएको पाइएको थियो । पछिल्लो दैनिक १२ घण्टा विद्युत आपूर्ति बन्दपछि उपलब्ध हुने विद्युतमा दैनिक ५–६ पटकसम्म ट्रिपिङ हुने गरेको तथ्यांक छ ।

प्राधिकरणले चैत १ गतेदेखि सुनसरी मोरङ औद्योगिक करिडोरमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म विद्युत आपूर्ति बन्द गर्दै आएपछि उद्योगले ७० प्रतिशतसम्म उत्पादन कटौती गरेर मजदुरलाई तत्कालका लागि घर बस्न भन्दै आएको छ । विद्युत आपूर्ति बन्द भएको अवधिमा उद्योगमा काम गर्दै आएका औद्योगिक मजदुर रोजगारबिहीन हुन सुरु भएको सम्बद्ध उद्योगीले क्लिकमान्डुलाई बताएका छन् ।

‘फागुनसम्म बिहान ४ घण्टा र साँझ ४ घण्टा गरेर उद्योगमा दैनिक ८ घण्टा विद्युत आपूर्ति कटौती हुँदा ५० प्रतिशत उत्पादन गर्दै उद्योगले जेनतेन मजदुरको व्यवस्थापन गर्दै आएको थियो,’ मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले भने, ‘चैत १ गतेदेखि प्रत्येक रातभरि नै उद्योगमा विद्युत आपूर्ति बन्द भएपछि त्यस अवधिमा कार्यरत मजदुर घर बस्न बाध्य हुन थालेका छन्।’

केही उद्योगले लोडसेडिङ अवधिको सिफ्टमा काम गर्ने मजदुरलाई तत्कालका लागि घर बस्न भनिसकेको उनको भनाइ छ ।
‘केही उद्योगी पर्ख र हेर भन्नेमा छन् । १२ घण्टे लोडसेडिङ लम्बिने हो भने रातिको सिफ्टमा काम गर्ने मजदुरलाई घर बस भन्नुको विकल्प छैन,’ राठीले भने,’त्यसवेलाको सिफ्टमा काम गर्ने मजदुरको व्यवस्थापन गर्न उद्योगसँग अन्य विकल्प नै छैन ।’

नेपाल विद्युत प्राधिकरणले २०७५ सालमा मुलुकमा लोडसेडिङ मुक्त घोषणा गरे पनि पूर्वको सुनसरी मोरङ औद्योगिक क्षेत्रले त्यसको अनुभव नै गर्न पाएन । लोडसेडिङ मुक्त घोषणा गरेको केही समय पछाडिको चरणमा यहाँका उद्योगले सुरुवाती दैनिक २ घण्टा, ४ घण्टा, ६ घण्टा, ८ घण्टा हुँदै चैतदेखि राति १२ घण्टा नियमित लोडसेडिङको मार भोग्दै आएका सम्बद्ध उद्योगीको गुनासो छ ।

लोडसेडिङ मुक्त घोषणा भएको केही दिनपछि दिनहुँ २–४ घण्टा विद्युत आपूर्ति हुन छाड्यो । त्यो क्रम बढ्दै साता अघिसम्म ठूला उद्योगमा दैनिक ८ घण्टा र साना उद्योगमा ६ घण्टा विद्युत आपूर्ति कटौती हुँदै आएको थियो । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले भने,’ अहिले त्यो क्रम बढेर दैनिक १२ घण्टा पुग्दा औद्योगिक वातावरण नै तहसनहस बनेको छ ।’

उनका अनुसार फागुनसम्म दैनिक ८ घण्टा लोडसेडिङ हुँदा उद्योगले ६० प्रतिशतसम्म उत्पादन कटौती गरेका थिए । चैतदेखि दैनिक १२ घण्टा लोडसेडिङ सुरु भएपछि उद्योगको उत्पादन ७० प्रतिशतसम्म कटौती भएको छ ।

यो औद्योगिक करिडोरमा साना ठुला ६ सय उद्योग छन् । ती उद्योगमा विगत पाँच वर्षमा विद्युत कटौतीको उद्योग संगठनले सर्वेक्षण गर्दा एक महिनामा कम्तीमा १३ घण्टादेखि ३०० घण्टा सम्म विद्युत आपूर्ति बन्द भएको पाइएको छ ।

२०७७ साल पुसमा ४७ घण्टा १३ मिनेट, माघमा ४१ घण्टा, फागुनमा २८ घण्टा २१ मिनेट, चैतमा ७२ घण्टा २४ मिनेट, बैशाखमा ८० घण्टा ४४ मिनेट र जेठमा ३७ घण्टा १७ मिनेट गरी ३०६ घण्टा ९ मिनेट विद्युत आपूर्ति बन्द हुँदा २०७८ साल पुसमा ५९ घण्टा १६ मिनेट, माघमा १३ घण्टा २७ मिनेट, फागुनमा १९ घण्टा २२ मिनेट चैतमा १४६ घण्टा ३ मिनेट, वैशाखमा १५० घण्टा ५९ मिनेट र जेठमा ७८ घण्टा १७ मिनेट गरी ४६५ घण्टा २४ मिनेट विद्युत आपूर्ति बन्द भएको तथ्याङ्क भट्टराईले क्लिकमान्डुलाई उपलब्ध गराए ।

त्यसैगरी यो औद्योगिक करिडोरका उद्योगमा २०७९ सालको पुस महिनामा ५५ घण्टा १३ मिनेट, माघमा ६५ घण्टा ५४ मिनेट, फागुनमा २७ घण्टा ८ मिनेट, चैतमा ३४ घण्टा २२ मिनेट, वैशाखमा १७९ घण्टा ८ मिनेट र जेठमा १५३ घण्टा २६ मिनेट गरेर ५१४ घण्टा ३१ मिनेट उद्योगमा विद्युत कटौती भएको उद्योग संगठनको तथ्यांक छ ।

त्यसैगरी २०८० सालमा पुसदेखि जेठसम्म यो औद्योगिक ८८७ घण्टा ३ मिनेट विद्युत आपूर्ति बन्द भएको पाइएको नेपाल उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले जानकारी दिए।

उनका अनुसार उक्त वर्ष पुसमा १३ घण्टा १९ मिनेट, माघमा ६१ घण्टा ३३ मिनेट, फागुनमा ६५ घण्टा ५२ मिनेट, चैतमा २६२ घण्टा ३९ मिनेट, बैशाखमा २९४ घण्टा ३३ मिनेट र जेठमा १९३ घण्टा ३४ मिनेट विद्युत आपूर्ति बन्द भएको थियो ।

चालु वर्षको पुसमा १०७ घण्टा ५७ मिनेट, माघमा १०५ घण्टा ५८ मिनेट, फागुनमा ९९ घण्टा १३ मिनेट गरेर ३१२ घण्टा २८ मिनेट विद्युत आपूर्ति बन्द हुँदा चैतको एकसातामा ७२ घण्टा भन्दा बढी समय औद्योगिक करिडोरमा विद्युत आपूर्ति बन्द भएको संगठनको तथ्यांक छ ।

सुनसरी-मोरङ औद्योगिक करिडोरभित्र कटहरी, बुढीगंगा र दुहबी करिडोर पर्छन् । ती क्षेत्रको करिडोरमा ३३ केभी दुहबी, ११ केभी तरहरा, ११ केभी जुडी, ३३ केभी रघुपति जुटमिल्स र ११ केभी रानीबाट विद्युत सप्लाई हुँदै आएको छ ।