
काठमाडौं । रुससँग पछिल्लो तीन बर्षदेखि युद्ध गरिरहेको युक्रेनले ३० दिनको लागि युद्ध विराम गर्न तयार भएको छ ।
साउदी अरबमा अमेरिकी अधिकारीहरुसँग भएको वार्ताको क्रममा युक्रेन ३० दिनका लागि युद्धविराम गर्न तयार भएको हो ।
ह्वाइटहाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तनावपूर्ण छलफलपछि बाहिरिएका युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग अमेरिकी अधिकारीहरुले जेद्दामा पहिलोपटक वार्ता गरेका थिए ।
वार्तामा अमेरिकाले राखेको ३० दिनको युद्धविराम प्रस्ताव युक्रेनले स्वीकार गरेको हो । साथै अमेरिकाले युक्रेनलाई रोकेको सहायता जारी राख्ने र खनिज खानीसम्म अमेरिकाको पहुँच दिने विषयमा युक्रेन सहमत भएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युद्धविरामको प्रस्ताव युक्रेनले स्वीकार गरिसकेको भन्दै अब रुसले निर्णय गर्नुपर्ने बताए ।
यो बीचमा युक्रेन युद्धविरामका लागि तयार भएको पहिलोपटक हो ।
युद्धविरामको निर्णय लिनुअघि युक्रेनले रुसको राजधानी मस्कोमा हालसम्मकै ठूलो हमला गरेको थियो । २०० बढी ड्रोन प्रहार हुँदा ९० जति ड्रोन मस्कोमा केन्द्रित थियो ।
प्रतिक्रिया