पाकिस्तानमा आतंकवादी समूहद्वारा ५ सयभन्दा बढी यात्रु बोकेको ट्रेन हाइज्याक

1.7k
Shares

काठमाडौं । आतंकवादी समूह ब्लुच लिवरेशन आर्मी(बीएलए) ले पाकिस्तानको ब्लुचिस्तानमा जाफर एक्सप्रेस ट्रेन हाइज्याक गरेका छन् ।

बीएलएले सम्पूर्ण यात्रुसहित उक्त ट्रेन हाइज्याक गरेको हो । बीएलएले उक्त ट्रेनमा सवार सम्पूर्ण यात्रुलाई बन्धकसमेत बनाएका छन् । उक्त समूहले सोशल मिडियामा ट्रेन हाइज्याक गरेको खुलासा गरेका हुन् ।

जाफर एक्सप्रेस पाकिस्तानको दक्षिण–पश्चिम ब्लुचिस्तान प्रान्तको क्वेटाबाट खैवर पख्तूनख्वाको रावलपिण्डी जाने क्रममा मंगलबार बिहान ९ बजे हाइज्याकमा परेको उक्त समूहले सोशल मिडियामार्फत खुलासा गरेका थिए ।

यो एक्सप्रेसको ट्रेनको ११ डब्बा(कोच) मार्फत ५ सयभन्दा बढी यात्रु यात्रा गरिरहेका थिए ।

उक्त ट्रेन हाइज्याक गर्ने क्रममा बीएलएले रेलवेको ट्रयाकसमेत बम लगाएर क्षत विक्षत गर्दा जाफर एक्सप्रेस रोकिएको थियो । त्यसपछि उनीहरुले उक्त ट्रेनलाई नियन्त्रणमा लिएका थिए । ट्रेनमा सैकडौं यात्रु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

पाकिस्तानी च्यानल समा टिभीका अनुसार जाफर एक्सप्रेसमाथि बीएलए समूहले भिषण फायरिङसमेत गरेको थियो । फायरिङमा परी जाफर एक्सप्रेसको चालकसमेत घाइते भएका छन् । केही संख्यामा यात्रु पनि घाइते भएका छन् ।

बीएलएले पाकिस्तानी सेनाले कुनै पनि प्रकारको सैन्य अभ्यास गरे बन्धक बनाइएका सम्पूर्ण यात्रुको हत्या गर्ने चेतावनी दिएको छ ।

पाकिस्तान सरकारले घटनास्थलमा एम्वुलेन्ससहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

  • एजेन्सी