देशैभर फोरजी नेटवर्कको तीब्र विकास भए पनि आईएसपीसँग प्रतिस्पर्धा गर्न नसकिएको र मोबाइल डेटा महँगो भएकै कारण साढे २ करोड सिमकार्डमा फोरजी चल्ने भए पनि यसको प्रयोग भने ४० प्रतिशत मात्रै छ । भएकै सेवाको भरपुर उपभोग हुन नसकेको भन्दै टेलिकम सेवाप्रदायले थप लगानी गर्न नचाहेका कारण फाईभजीको विकास ठप्प छ।
काठमाडौं । साढे २ करोड मोबाइलमा फोरजी चल्ने गरी सेवाप्रदायकले दूरसञ्चार सेवा दिएका छन् । नेपाल टेलिकम र एनसेलले ७७ वटै जिल्लामा दिएको यस्तो सेवा सेवाप्रदायकको हिसावले ९४ प्रतिशतसम्म पुगेको दाबी गरेका छन् ।
दुईवटा सेवाप्रदायकबाट २ करोड ५० लाख ७५ हजारवटा सिमकार्डमा फोरजी नेटवर्कको पहुँच पुगेकाे छ । यस्तो सेवाप्रदायक मध्ये एनसेलको १ करोड १९ लाख, नेपाल टेलिकमको १ करोड ३१ लाख प्रयाेगकर्ताले फोरजी सेवा सञ्चालन भइरहेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकले देखाएको छ । याे तथ्यांक टेलिकमको कुल प्रयाेगकर्ता १ करोड ५२ लाख र एनसेलकाे १ करोड ४७ लाखको आधारमा तय गरिएको हाे ।
फोरजीसेवा प्रदान गरेका २ करोड ९५ लाख सिमकार्डमध्ये ४४ लाख ७० हजारमा मात्रै फोरजी सेवा नचलेको र बाँकी सबै सिमकार्डमा फोरजी सेवा सञ्चालन भएको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ ।
सम्बन्धित टेलिकम कम्पनीका अनुसार देशैभर फोरजीसेवा पुगिसकेको भए पनि अझै टेलिकमको ७ लाख ७६ हजार र एनसेलको १ लाख ४७ हजार गरेर कुल ९ लाख २३ हजार सिमकार्डमा प्रयोगकताले थ्रीजी सेवा लिइरहेको तथ्यांक छ ।
उनीहरुका अनुसार फोरजी सेवाको पहुँच व्यापक भए पनि प्रयाेग भने सेवाको प्रयोग भने ४० प्रतिशत रहेको छ ।
सेवाप्रदायकको तथ्यांकअनुसार एनसेलको प्रयाेगकर्तामध्ये ९४ प्रतिशतसम्ममा ४जी पुगेको दाबी गरेका छन । नेपाल दूरसञ्चार प्राधिकरणकाे गत पुस सम्मका तथ्यांकले भने टेलिकमको कुल प्रयाेगकर्तामध्ये ८६ प्रतिशतमा फोरजीकाे पहुँच पुगेकाे छ भने एनसेलको ८१ प्रतिशत देखिन्छ ।
नेपालको भौगोलिक बनावटअनुसार छोटो समयमा नै फोरजी सेवा सबैतिर पुगेको देखिए पनि यो सेवा अधिकतम उपभोग भने हुन सकेको छैन । फोरजी सेवाको पहुँचअनुसार अब यसको प्रयोग बढाउनुपर्ने चुनौती सेवाप्रदायकलाई छ । यसका लागि सरकारले पूर्वाधार विकासदेखि इकोसिस्टमसम्मको विकास गराइदिनुपर्ने हुन्छ ।
सरकारले सबै सरकारी सेवालाई डिजिटलाइज गर्ने, डिजिटल नेपाल फेमवर्कलाई प्रभाविकारी बनाउने र ग्राहकलाई प्रविधिमैत्री बनाएर सेवा दिन सकेको अवस्थामा मात्रै द्रुत गतिको इन्टरनेट सेवाको प्रयोग बढ्छ ।
पछिल्लो समय सरकारले डिजिटल सेवा दिने, पूर्वाधार विकासमा गति बढाउने र अनलाइनमैत्री सेवा बढाउनेसहितको कामलाई प्रभावकारी बनाउन नसक्दा आम उपभोक्ताले प्रयोग गर्ने मोबाइल डेटाको खपत पनि अपेक्षाअनुसार बढ्न नसकेको एनटीसी र एनसेलका उच्च तहका अधिकारी बताउँछन् ।
फोरजीको सेवा मात्रै विस्तार गर्ने, पहुँचमात्रै पुग्ने तर त्यसको उचित सदूपयोग नभएको अवस्थामा भने सेवाको दायरा बढेर मात्रै नहुने सेवाप्रदायकको छ ।
सेवाप्रदायका अनुसार सरकारले आम उपभोक्तालाई दिने सेवा जति धेरै प्रविधिमैत्री बनाउँन सक्यो उति नै फोरजी नेटवर्कको उपयोग हुने बताउँछन् ।
नेपाल टेलिकमका प्रवक्ता हरि ढकाल देशैभर फोरजी सेवा पुगेको र यसको प्रयोग पनि बढ्दै गएको बताउँछन् । ‘टेलिकमले सेवा विस्तारलाई प्राथमिकता दिएरै फोरजीलाई देशैभर पुर्याएको हो । फोरजीको सेवा विस्तारसँगै प्रयोगकर्ता पनि बढिरहेका छन्,’ उनले भने ।
मोबाइल डेटा महँगो भएकोले प्रयोग बढाउनु चुनौती
मोबाइल डेटा तुलनात्मक रुपमा महँगो हुन्छ । महँगो हुने भएपछि ग्राहकले प्रयोग गर्ने दर पनि कम हुन्छ । फोरजी डेटा सहरी क्षेत्रमा सहज पहुँचमा पुगेको छ तर इन्टरनेट सेवा प्रदायक (आइएसपी)सँग प्रतिस्पर्धा गर्न सक्ने खालको भएकोले पहुँच पुगे पनि प्रयोग कम भएको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बताए ।
‘सहरी क्षेत्रमा फोरजी राम्रोसँग चल्ने हो तर यही ठाउँमा आइएसपीका सेवा सस्तो हुने भएकोले ग्राहकले डेटालाई विकल्प र अत्यावश्यकको रुपमा मात्रै प्रयोग गछन्,’ ठाकुरले भने, ‘मोबाइल डेटाको तुलनामा आइएसपीको सेवा लिँदा घरमा सबै सदस्यले प्रयोग गर्न सक्ने, मोबाइल, टिभि एउटै आइएसपीबाट चलाउँदा मासिक शुल्क तिर्दा हुन्छ भने डेटा महँगो हुने भएको ग्राहकले सकेसम्म वाईफाई खोज्दै हिँड्ने गरेको छन् ।’
ग्राहक फाईभजी खोज्दै, सेवाप्रदायक फोरजीमा रोकिँदै
पछिल्लो समय प्रविधिको विकाससँगै फोरजीको सीमित प्रयोगकर्ताले भने फाईभजीको खोजी गर्न थालेका छन् । महँगा मोबाइल बोक्न सक्ने र प्रविधिको प्रयोगलाई आत्मसाथ गर्ने ग्राहकले अन्तर्राष्ट्रिय स्तरमा जस्तै नेपालमा पनि फाईभजीको खोजी गर्न थालेका छन् । तर सेवाप्रदायक भने फोरजीको प्रयोग ४० प्रतिशतको हाराहारीमा मात्रै सीमित रहेको, फोरजीकै प्रयोग बढाएर आम्दानी बढाउन चाहने र तत्काल फाईभजीमा थप लगानी गरेर खर्च बढाउन नचाहेका कारण नेपालमा फाईभजी बहसमा मात्रै सीमित छ । सेवाप्रदायकले नै नेपालमा फाईभजीले अहिलेकै तुलनामा ३० प्रतिशतलसम्मले प्रति ग्राहक औषत खर्च बढ्ने अनुमान गरिएको छ ।
फाईभजीको प्रयोग प्रविधिसँगै घुलमिल हुन चाहने, यसबाट लाभ लिन खोज्ने र अब्बल सेवा र सुविधा फाईभजीले दिने भएपनि सेवाप्रदायक नै तयार नहुँदा प्रयोग गर्न सक्ने ग्राहकले फोरजीमा नै चित्त बुझाउनुपरेको छ ।
सरकारले नेपाल टेलिकमलाई २ वर्ष अगाडि नै फाईभजी नेटवर्क परिक्षणको अनुमति दिएको भएपनि यसले अहिलेसम्म व्यवासायीक प्रयोग गर्ने गरी नतिजा देखाउन सकेको छैन ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले दुई वर्षपछि पनि फाईभजीको अध्ययन जारी रहेको यसको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
टेलिकमले २ वर्षअगाडि नै अनुमति पाएर फाईभजीको परीक्षणसमेत गरेको भएपनि अझै यसको उपलब्धिमूलक नतिजा भने सार्वजनिक गरेको छैन् । टेलिकमले तत्काल फाईभजीमा लगानी गर्न नसकेका कारण यसको अध्ययन प्रतिवेदन पनि तयार हुन नसकेको पाइएको छ ।
टेलिकमले परम्परागत प्रविधिमा आधारित टेलिफोन सेवालाई आधुनिक एफटीटीएच प्रविधिबाट प्रतिस्थापन गर्ने कार्यमा प्राथमिकता केन्द्रित गरिएको र देशैभर यसका लागि आवश्यक कार्य भइरहेको बताएको छ । २ जी प्रविधिमा आधारित भ्वाइस सेवा प्रयोग गर्ने ग्राहकहरुको संख्यालाई मध्यनजर गरी यसको गुणस्तरमा वृद्धि र सुधार गर्नुका साथै फोरजी सेवालाई सम्पूर्ण ग्राहकहरुको माझमा पु¥याउने कार्यलाई निरन्तरता दिइएको भनाइ टेलिकमको छ ।
टेलिकमले भनेको छ, ‘नेपाल दूरसञ्चार प्राधिकरणबाट फाईभजी प्रविधिको परीक्षण अनुमति प्राप्त भएअनुसार आवश्यक पूर्वाधारसहित परीक्षण सफल भएपश्चात् फाईभजी सेवाको व्यावसायिक सञ्चालनको लागि अध्ययन भइरहेको छ ।’
सरकारले टेलिकमलाई मात्रै फाईभजी सेवाको परीक्षण गर्न अनुमति दिएको थियो । तर टेलिकमले अपेक्षा अनुसारको नतिजा दिन नसकेपछि एनसेललाई अनुमति दिएर प्रविधिकै विकास रोकिएको महशुस भने टेलिकम क्षेत्रले नै गरिरहेको छ ।
प्रतिस्पर्धी कम्पनी एनसेललाई फाईभजीको परीक्षणको अनुमति नै नदिनु र एनसेलप्रति विभेद गरिनुले आम ग्राहकको अधिकार हनन् मात्रै नभएर राज्यकै प्रविधि विकास सुस्ताएको छ ।
प्रतिक्रिया