कोशी प्रदेशमा तीनवटा पाँचतारे होटल सञ्चालनमा, थप ६ वटा पाँचतारेले तयारी गर्दै


विराटनगर । कोशी प्रदेशमा तीनवटा पाँचतारे होटल सञ्चालनमा छन् । निकट भविष्यमै थप अरु ६ वटा पाँचतारे होटल सञ्चालनको तयारीमा छन् ।

सञ्चालनको तयारीमा रहेका ती होटल हाल धमाधम निर्माण भइरहेका छन् । कोशी होटल व्यवसायी संघका अध्यक्ष राजन श्रेष्ठका अनुसार यसबेला कोशी प्रदेशभित्र झापाको काँकरभिट्टामा ‘मेची क्राउन’, विर्तामोडमा ‘किंग्सवेरी,’ र सुनसरीको इटहरीमा ‘सोल्टी वेस्टर्न’ नामक पाँचतारे होटल सञ्चालनमा छन् ।

काेशी प्रदेशमा निकट भविष्यमै थप ६ वटा पाँचतारे होटल सञ्चालनको तयारीमा छन् । त्यसमध्ये झापामा तीनवटा, इटहरीमा एक र विराटनगरमा दुईवटा पाँचतारे होटल सञ्चालनको तयारीमा भइरहेको श्रेष्ठले जानकारी दिए ।

कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगरमा अहिलेसम्म पाँचतारे होटल सञ्चालनमा आएको छैन । यहाँ रत्ना, बिग, स्वागतम, एशियाटिक, स्टन स्टार, ह्यारिसन तथा विराटचोकको ‘नेपालीरिका’सहित झण्डै दुई दर्जन चार तारे वा साेहीसरहकासँगै तीनतारे स्तरका होटल सञ्चालनमा छन् । सरकारी झन्झट र राजस्वको लफडाका कारण ती होटलले तारे होटलको सुविधा लिएका छैनन्।

‘निकट भविष्यमै मोती दुगडले ‘सेन्चुरी’ र विकास चौधरी समूहले ‘लेमन्ट्री’ नामको पाँचतारे होटल सञ्चालनमा ल्याउने तयारी गरेका छन् । त्यसैगरी इटहरीमा देशबन्धु बस्नेतको लगानीमा पाँचतारे ‘रमडा होटल’ सञ्चालनका लागि तयारी भइरहेको छ,’श्रेष्ठले भने ।

त्यसबाहेक मोरङ विराटचोकको ‘नेपालीरिका होटल’ले पाँचतारे होटलको स्वीकृतिका लागि पहल सुरु गरेको छ । होटलको सेल्स म्यानेजर विनोद विमलीले झण्डै अढाई अर्बको लगानीमा सञ्चालनमा आएको यो होटल चाँडै पाँचतारेमा परिणत हुन लागेको बताए ।

पाँचतारे होटल सञ्चालनका लागि कम्तीमा डेढ अर्बदेखि अढाई अर्बसम्म लगानी लाग्छ । त्यो स्तरका होटल यसबेला कोशीमा झण्डै १० वटा सञ्चालनमा छन् । तीमध्ये तीनवटाले मात्र पाँचतारेको स्वीकृति लिएका छन् । श्रेष्ठले भने, ‘बाँकीले सरकारी झमेला र राजस्वको लफडाका कारण स्वीकृति लिएका छैनन् ।’ उनका अनुसार त्यस बाहेक पर्यटक स्तरीय होटल सञ्चालन गर्न कम्तीमा ५०–६० करोड लगानी लाग्छ ।

यो प्रदेशमा ‘मेची क्राउन,’ ‘किंग्सवेरी,’ ‘सोल्टी,’ विराटनगरको ‘बिग’ र ‘रत्ना’ले क्यासिनो खेलाउने स्वीकृति लिएका छन् । एक होटल व्यवसायीका अनुसार मोरङ, सुनसरी, झापा र इलाम (पशुपतीनगर)का केही होटलले पनि स्थानीय प्रहरी प्रशासनसँगको मिलोमतोमा स्वीकृति नलिई क्यासिनो सञ्चालन गर्दै आएका छन् ।

कोशी प्रदेशमा पर्यटक स्तरीय होटल ५ सयभन्दा बढी छन् । त्यसबाहेक साधारण तर पर्यटक बस्न लायकका ३५ सयभन्दा बढी होटल छन् । ती सबै होटल भारतीय पर्यटकमा निर्भर रहेको संघका वरिष्ठ उपाध्यक्ष तथा कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविश श्रेष्ठले बताए । कोशी प्रदेशका होटलले एक रातमा १० हजारसम्म पर्यटक राख्न सक्ने क्षमता छ ।

मोरङको जोगबनी, सुनसरीको भीमनगर, झापाको काँकरभिट्टा र इलामको पशुपतीनगर नाकाबाट भारतीय पर्यटक भित्रिन्छन् । ती नाकाबाट सवारी साधन प्रयोग गरेर दैनिक सरदर ५ सय भारतीय पर्यटक भित्रिन्छन् । खुला सिमाबाट दैनिक सरदर ५ सय भारतीय नागरिक आउने गरेको अनुमान छ । होटल तथा पर्यटन व्यवसायी समेत रहेका श्रेष्ठले भने, ‘त्यस बाहेक छिटपुट आन्तरिक पर्यटक यस क्षेत्रका होटलका मुख्य ग्राहक हुन् ।’

सय रुपैयाँ माथिका भारतीय नोट नचल्नु, भारतीय नम्बर प्लेटका सवारी साधनलाई ट्राफिक प्रहरी र स्थानीय निकायले झलेला दिँदा भारतीय नागरिक आउनै नमान्ने श्रेष्ठको भनाइ छ ।

‘कोशी प्रदेशका पर्यटकीय होटलका मुख्य ग्राहक भारतीय नागरिक हुन् । तर, सय रुपैयाँ माथिका नोट चल्दैन, भारतीय नम्बर प्लेटका सवारी साधनलाई ट्राफिक प्रहरीले अनावश्यक दुःख दिनु र स्थानीय निकायले पालिकैपिच्छे कर लिएर दुःख दिएको कारण भारतीय नागरिक आउन नमान्दा यहाँका होटलले ग्राहक पाउन समस्या भएको छ,’ उनले भने ।

कोरोना कहरपछि कोशी प्रदेशका होटल व्यवसायले गति लिन थालेका छन् । तर, सरकारी निकायकै झमेला र अनावश्यक दुःखका कारण भारतीय पर्यटक सहजै आउन नचाहने अवस्था छ ।

‘कोशी प्रदेशको होटल व्यवसायमा करिब ६० अर्ब लगानी छ । भारतीय नागरिकले स्थानीय निकाय र ट्राफिक प्रहरीबाट सास्ती खेप्न नपरे उनीहरू आउने क्रम बढ्छ,’ श्रेष्ठ भन्छन्, ‘होटल व्यवसाय गुलजार हुँदै गएपछि थप लगानी बढ्छ ।’