चन्दा उठाएको पैसा रवि लामिछाने फाउन्डेसनबाट निकिताको खातामा सारेको खुलासा
पैसा हिनामिना भएकोबारे रविलाई त्यतिबेलै लिखित जानकारी गराएको थिएँ: मुकुल
काठमाडौं । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि परोपकारका नाममा ठगी गरेको आरोप लागेको छ । कालिकोटको रास्कोटमा अस्पताल बनाउने भन्दै लामिछानेले आफ्नै नाममा फाउन्डेसन खोलेर चन्दा संकलन गरि पनि त्यस रकम दुरुपयोग भएको खुलासा भएको कान्तिपुर दैनिकको समाचारमा उल्लेख गरिएको छ ।
लामिछानेले दाताहरूबाट करोडौँ रुपैयाँ संकलन गर्नुका साथै तीन तहका सरकारबाट ५ करोड ५२ लाख रुपैयाँ अनुदान समेत लिएको समाचारमा जनाइएको छ । तर, संकलित रकम लामिछानेकी पत्नी निकिता पौडेलको व्यक्तिगत खातामा सारिएको भेटिएको छ । फाउन्डेसनका खाताबाट २०७८ मंसिर ३ मा २० लाख र २०७९ जेठ ३० मा २० लाख गरी कुल ४० लाख रुपैयाँ निकिताको व्यक्तिगत खातामा सारिएको कान्तिपुरले प्राप्त गरेको दस्तावेजमा उल्लेख भएको जनाएको छ ।
फाउन्डेसनले निर्माण गरिएको रास्कोट अस्पतालका लागि दाताबाट संकलित रकमका साथै सरकारी अनुदान समेत उपयोग गरिएको थियो । तर, लामिछानेले अस्पताल निर्माणका नाममा १२ करोड रुपैयाँ लागेको भन्दै सरकारलाई अनुदान दिन दबाब दिएका थिए । लामिछानेको अनुरोधपछि २०७८ चैत २९ मा ४ करोड ९० लाख रुपैयाँ संघीय सरकारको खाताबाट फाउन्डेसनलाई निकासा गरिएको थियो । यो रकम अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट आएको विशेष ऋण (ईसीएफ) को बजेटबाट रकमान्तर गरेर दिइएको खुलासा भएको कृष्ण आचार्य र तुलाराम पाण्डेले कान्तिपुर दैनिकमा लेखेको समाचारमा जनाइएको छ ।
चन्दा संकलन र पारदर्शितामाथि प्रश्न
लामिछानेले २०७५ पुस २७ मा रास्कोटमा अस्पताल बनाउने घोषणा गरेका थिए । अस्पताल निर्माणका लागि दाताहरूबाट ८ करोडभन्दा बढी संकलन गरिएको र २०७७ चैत ३१ मा निर्माण सम्पन्न भएको अस्पताल रास्कोट नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । तर, फाउन्डेसनले समाजकल्याण परिषद्बाट प्रमाणपत्र नलिइकनै चन्दा संकलन गरेको पाइएको छ ।
फाउन्डेसनले अस्पताल निर्माणमा करिब ११ करोड रुपैयाँ खर्च भएको दाबी गरे पनि भवन प्रिफ्याभ संरचना र जस्तापाताको छानो भएको देखिन्छ । रास्कोट नगरपालिकाका उपप्रमुख मनिराज बरालले उक्त अस्पतालको स्थायित्व १० वर्ष मात्र भएकाले नयाँ पक्की भवन निर्माण भइरहेको बताए।
राजनीतिक पहुँच र अनियमितता
लामिछानेले अस्पताल निर्माणका लागि आवश्यक रकमको दाबी गर्दै सरकारलाई पटक-पटक पत्राचार गरेका थिए। स्वास्थ्य मन्त्रालयले लामिछानेको अनुरोधलाई समर्थन गर्दै रकम व्यवस्थापन गरेको देखिन्छ । तर, आर्थिक अनियमितताको कारण उक्त रकमको उपयोगबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने विज्ञहरूले बताएका छन् ।
फाउन्डेसनका नाममा संकलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गरिएको पाइएको छ। बैंक स्टेटमेन्टका आधारमा लामिछानेले रेस्टुरेन्टका बिल, मोबाइल रिचार्जलगायतमा चन्दा खर्च गरेका छन् । यसलाई अर्थ मन्त्रालयका अधिकारीहरूले आर्थिक ठगी र भ्रष्टाचारको रूपमा व्याख्या गरेका छन् ।
हाल रास्कोटमा फाउन्डेसनले बनाएको अस्पतालसँगै सरकारले नयाँ १५ शय्याको पक्की अस्पताल निर्माण गरिरहेको छ । करिब १८ करोड रुपैयाँ लागतमा निर्माणाधीन यो भवनले पुरानो अस्पतालको आवश्यकता प्रतिस्थापन गर्ने बताइएको छ ।
रवि लामिछाने फाउन्डेसनले दाताहरूको विश्वासमा ठगी गरेको र सरकारी बजेटको हिनामिना गरेको आरोपमाथि विस्तृत छानबिन गर्नुपर्ने आवाज उठेको छ । अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार यस्तो गतिविधि सामाजिक रूपमा बेथिति र कानूनी रूपमा दण्डनीय छ। दोषी प्रमाणित भए कडा कारबाही हुनुपर्ने विज्ञहरूको धारणा छ।
मुकुलले के भने ?
कान्तिपुरमा समाचार प्रकाशन भएपछि रास्वपाबाट निष्काशित महामन्त्री मुकुल ढकालले रवि लामिछाने फाउन्डेशनको पैसाको हिनामिनाको शंका आफूलाई त्यतिबेलै भएको र त्यसबारे आफूले लामिछानेलाई त्यतिबेलै लिखित जानकारी गराएको उल्लेख गरेका छन् ।
उनले सरकार र सम्बद्ध निकायलाई फाउन्डेशन र अस्पतालको विषयमा लामिछाने, डिपी अर्याल, दिपक बोहोरा, निकिता पौडेल र आफूमाथि छानबिनका लागि आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा मुकुलले यस्तो लेखे
रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेशनको विषयमा आएको समाचारको विषयमा मेरो ध्यानाकर्षण भएको छ । रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेशन दुइ वटा फरक संस्था हो ।
रास्कोट अस्पतालमा पैसा पुगेपछी टेन्डर विधिबाट पैसा निकासा गरिएको थियो, त्यसकारण यसमा कुनै पनि प्रकारको हिनामिनाको सम्भावना छैन । रवि लामिछाने फाउन्डेशनको पैसाको हिना मिनाको शंका मलाई त्यतिबेला नै लागेको थियो र मैले तत्कालिन अध्यक्ष रवि लामिछानेलाई पैसा हिनामिनाको विषयबारे लिखित जानकारी गराएको थिए । दुवै संस्थाको सञ्चालक समितिको सदस्यमा म थिए, र केहि चेकमा मेरो हस्ताक्षर पनि छन् र मैले काटेको चेक कुनै हिनामिनामा संलग्न छैन र म त्यसको पूरै जिम्मेवारी लिन्छु ।
नेपाल सरकार र सम्बद्ध निकायलाई फाउन्डेशन र अस्पतालको विषयमा रवि लामिछाने, डिपी अर्याल, दिपक बोहोरा, निकिता पौडेल र म मुकुल ढकाल माथि छानविनका लागी आग्रह गर्दछु । म कुनै पनि प्रकारको अनुसन्धान र छानविनको लागी पूर्णरूपले तयार छु र हुलहुज्जत बिना कानुनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।