हिन्दूले मनाउने छठका लागि आर्थिक सहयोग संकलनदेखि घाट निर्माणमा खटिएका मुस्लिम
'अल्लाह र भगवान मेरा लागि एकै हुन्'
विराटनगर । विराटनगर-४ का मुस्लिम संघका अध्यक्ष मोहमद इनुशलाई यतिबेला भ्याइनभ्याइ छ । उनको त्यो हतारो आफ्नो धार्मिक पर्व र पारिवारिक कामका लागि भने होइन । दुई सातादेखि उनी हरेक दिन हिन्दूहरुसँगै चन्दा संकलन गर्न घरघर पुग्दै आएका छन् । अनि त्यही चन्दा र श्रमदानले आफ्नै घर अगाडिको सुनसरी मोरङ सिँचाई योजनाको नहरमा छठ पर्वका लागि घाट निर्माणमा उनी व्यस्त छन् ।
उनी पहिलो पटक यो कार्यमा सक्रिय भएका भने होइनन् । विगत तीन दशकदेखि यो कार्यमा ६० वर्षीय इनुश निस्वार्थ खटिँदै आएका छन् । उनको सहजीकरणमा निर्माण हुँदै गरेको छठ घाटमा हिन्दू समुदायले आगामी बिहीबार साँझ अस्ताउँदो र शुक्रबार विहान उदाउँदो सूर्यलाई अर्घ्य चढाएर छठ पर्व मनाउने छन् ।
विराटनगर ४ कञ्चनवारी र गोकुल टोलमा पर्ने यो नहरमा निर्माण हुने करिब पाँचसय मिटर लामो कञ्चनेश्वर सूर्यदेव छठ घाटमा हरके वर्ष हिन्दू, मधेशी र पहाडे महिला पुरुषले उल्लासका साथ छठ पर्व मनाउँदै आएका छन् ।
त्यसका लागि मुस्लिम समुदायका इनुश हरेक वर्ष घाट बनाउने र त्यसका लागि चन्दा संकलन गर्ने जिम्मेवारी निस्वार्थ पूरा गर्दै आएका छन् ।
पश्चिम नेपालमा हिन्दू र मुस्लिमबीच बेलावखत हुने गरेको द्वन्द्वको राम्रो हेक्का भएका इनुश आफूलाई अल्लाह र भगवानमा केही फरक नलाग्ने बताउँछन् ।
‘अल्लाह र भगवान मेरा लागि एकै हुन्, मेरा लागि अल्लाह र भगवानमा केही फरक छैन । म अल्लाहाको प्राथाना गर्छु,’ उनले भने, ‘हिन्दू भगवानको प्राथाना गर्ने दाजुभाइ दिदीबहिनीका लागि पूजास्थल बनाउन सहयोग गर्दा मुस्लिमलाई के को अप्ठ्यारो । अल्लाहले अन्य धर्म मान्नेलाई सहयोग नगर भनेको पनि मैले पाएको छैन ।’
घाट व्यवस्थापन समितिका सदस्य समेत रहेका युनिश अस्ताउँदो र उदाउँदो सूर्यलाई जल भने चढाउँदैनन् । भन्छन् ,’यो धार्मिकपर्व मुस्लिमले मनाउँदैनन् । तर हिन्दूले मनाउने यो पर्वको व्यवस्थापन गर्न हिन्दू, मुस्लिमको सवाल गर्नु उचित हुँदैन । समाजमा बसेपछि एकले अर्काको धर्म र आस्थाको सम्मान गर्दै सहयोगको भावना राख्नुपर्छ । अनि न समाज एक हुन्छ ।’
नेपाल मुस्लिम समाज संघका पूर्वकेन्द्रीय अध्यक्ष हसन अन्सारी पनि इनुशको यो कार्यको प्रशंसा गर्छन् । ‘छठ पवित्र पर्व हो । यो पर्व तेरो र मेरो नभई सबैको साझा बन्दै छ,’ अन्सारीले भने,’इनुश तीन दशकदेखि यो कार्यमा खट्दै आएका छन् । उनको खटाईले अन्य मुस्लिमलाई पनि उत्साहित बनाएको छ ।’ छठ पर्वले समाजमा आपसी सद्भाव र भाइचारा बलियो बनाउँदै गएको अन्सारीको बुझाइ छ ।
‘सबै समुदायले मनाउने पर्वहरु समाजिक सद्भाव धार्मिक सहष्णुताका प्रतिक हुन् । जुनसुकै समुदायले मनाउने पर्व समाजका मौलिक पहिचान र सांस्कृतिक समृद्धिका प्रतीक हुन्,’अन्सारीले भने,’मुस्लिम समुदायले ति सबै पर्वलाई विशेष महत्वका साथ हेर्ने गरेको छ ।’
विराटनगरमा सुनसरी मोरङ सिचाई योजनाको नहर, सिंघीय र केशलीया खोला सहितका जलासयमा हरेक वर्ष छठ पर्व मनाउने गरिन्छ । ति हरेक स्थानमा निर्माण हुने घाटको व्यवस्थापनमा मुस्लिम समुदायको सक्रियता रहँदै आएको अर्का मुस्लिम महोमद साद बावुको भनाइ छ ।
‘मुस्लिमले छठ मनाउँदैनन् । तर मनाउने समुदायका लागि सहजीकरण गर्नु सामाजिक दायित्व सवैको हो,’ उनले भने ।
इनुश मजदुर तर्फको निर्माण संघ मोरङका अध्यक्ष पनि हुन् । उनलाई मुस्लिम भएर हिन्दूको धार्मिक पर्वलाई किन सहयोग गरेको भन्दै अन्य मुस्लिम दाजुभाइले प्रश्न नगरेका होइनन् तर त्यसलाई उनी प्रवाह नै गर्दैनन् र उल्टै उनी प्रश्न गर्छन्, ‘हिन्दूको धार्मिक पर्वमा सहयोग गर्दा मलाई अल्लाहले कारबाही गर्लान त ?’
‘इनुश विगत तीन दशकदेखि छठको घाट बनाउनेदेखि आर्थिक सहयोग संकलन गर्न हामीलाई नि:स्वार्थ सहयोग गर्दै आएका छन्,’घाट निर्माण तथा आर्थिक संकलन समितिका अध्यक्ष क्षेदीलाल शर्माले क्लिकमान्डुसँग भने ,’इनुश मुस्लिम हुन्, उनी सूर्यलाई जल चढाउँदैनन् तर त्यसका लागि हिन्दू समुदायलाई तीन दशकदेखि नि:स्वार्थ आर्थिक, प्राविधिक र भौतिक सहयो गर्दै आएका छन् ।’
कञ्चनेश्वर सूर्यदेव छैठी घाट निर्माणमा करिब ६ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष शर्माले बताए । त्यसका लागि केही रकम चन्दाबाट उठेको छ । अपुग केही रकम समितिका सदस्यले व्यहोर्ने र समाजका धनाढ्यसँग सहयोग माग्ने तयारी रहेको उनको भनाइ छ । करिब पाँच सय मिटर लामो घाटमा ८० वटा पूजा स्थल निमार्ण हुने छ । शर्माले भने, ‘ति स्थलमा छठका सामग्री राखेर सूर्यलाई जल र अर्घ्य चढाउन आर्थिक विपन्नलाई नि:शुल्क र अरुलाई गक्ष अनुसार ११ सयदेखि २५ सय रुपैयाँसम्म शूल्क लिने समितिले तय गरेको छ ।’
केही वर्ष अघिसम्म मधेशमा सीमित छठ पर्व पछिल्लो समय धार्मिक र सांस्कृतिक पहिचान बनेको छ । त्यसैले यो पर्व यसबेला तराई, पहाडसहितका क्षेत्रमा पनि उत्साहकासाथ मनाउन थालिएको छ । हिन्दूहरुको महान पर्व दशैं र तिहार लगत्तै आउने यो पर्व धानवाली भित्र्याउने समयमा पर्ने भएकाले किसानले पनि त्यत्तिकै महत्वका साथ मनाउँछन् । पानीको स्रोत भएको स्थान नदी, तलाउ र नहरको किनारलाई सफाइ गरेर मनाइने यो पर्वलाई सहकाल निम्त्याउने पर्वका रुपमा पनि लिने गरिएको छ ।
यसरी मनाइन्छ छठ
अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलसहितका देशका विभिन्न भागमा पारिवारिक सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्व सुरु हुन्छ । बजारमा पूजा सामग्री किन्नेको चहलपहल बढेको छ ।
छठको पहिलो दिन आज नहाय खाय, बुधबार खरना, बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ्षय दिएपछि छठपर्व सम्पन्न हुनेछ ।
आदिदेव सूर्य भगवान्लाई अघ्र्य दिन नदी, तलाउ, पोखरी, इनारलगायत जलाशयको किनारमा घाट बनाएर विशेष रूपले शृङ्गारिँएको छ ।
चार दिनसम्म मनाइने छठपर्वको पहिलो दिन बर्तालुहरू नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्छन् भने दोस्रो दिन साँझ प्रसादका रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्छन् । त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।