भारत निर्यातका कारण सर्वोत्तमको व्यापार १९ प्रतिशले बढ्यो, नाफामा १९ प्रतिशतकै गिरावट
काठमाडौं । पहिलो बुक बिल्डिङमार्फत् आईपीओ जारी गर्ने कम्पनी सर्वोत्तम सिमिन्टको व्यापारमा सामान्य सुधार आएको छ । ३ सालदेखि वर्षेनी घटिरहेको कम्पनीको व्यापार गत वर्ष भने केही सुधारिएको हो ।
कम्पनीको वित्तीय विवरणले आव २००२४ मा ६ अर्ब ४२ करोड रुपैयाँको सञ्चालन आम्दानी भएको देखाउँछ । सञ्चालन आम्दानीको अर्थ कम्पनीले गरेको कुल व्यापार भन्ने हुन्छ ।
कम्पनीको व्यापारमा सुधार आए पनि करपछिको नाफा भने झन् घटेको छ । गत वर्ष कम्पनीले १७ करोड रुपैयाँ मात्रै खुद नाफा गरेको छ ।
सन् २०२१ मा कम्पनीले ८ अर्ब ९५ करोड रुपैयाँ बराबरको व्यापार गर्दा १ अर्ब ३१ करोड रुपैयाँ नाफा गरेको थियो । त्यसयता कुल व्यापार र खुद नाफा क्रमशः सन् २०२२ मा ७ अर्ब ८८ करोड र ४७ करोड तथा सन् २०२३ मा ५ अर्ब ९१ करोड र २१ करोड थिए ।
अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार १९ प्रतिशतले बढेको हो । तर खुद नाफा १९ प्रतिशतले नै घटेको छ ।
डिप्रिसिएसन, ब्याज, कर अघिको नाफा निरन्तर खस्किँदा सवोत्तमले घाटा बेहोरेको हो । यस्तो नाफा सन् २०२० देखि २०२४ सम्म क्रमशः २७ प्रतिशत, २६ प्रतिशत, १९ प्रतिशत, १७ प्रतिशत र १२ प्रतिशत रहेको छ ।
२०१० अक्टुबरमा प्रालिको रुपमा स्थापित सर्वोत्तम २०१९ मा पब्लिक कम्पनी बनेको थियो । एक वर्ष अघि सार्वजनिक निष्काशन इतिहासमै पहिलोपल्ट बुक बिल्डिङ प्रणालीबाट आईपीओ निष्काशन गरेको कम्पनीले तयारी सिमेन्ट र क्लिंकर उत्पादन तथा बिक्री गर्दै आएको छ । स्थापनाको क्रममा कम्पनीको क्षमता ४ लाख मेट्रिक टन क्लिंकर तथा सिमेन्ट उत्पादन रहेकामा अहिले १० लाख पुगेको छ ।
सर्वोत्तम सिमेन्टमा सौरभ ग्रुपको मुख्य स्वामित्व रहेको छ । सर्वोत्तम ब्रान्डको ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्ने कम्पनीको फ्यान्टरी नवलपरासीको रामनगरमा रहेको छ ।
सिमेन्ट उद्योगको मागमा कमी आउँदा पनि सर्वोत्तमको व्यापार वृद्धि भएको हो । सिमेन्ट उद्योगमा प्रतिष्पर्धा उच्च छ । तर, सर्वोत्तमको देशभर रहेका वृहत् डिलर नेटवर्क र भारत निर्यातका कारण कम्पनीको व्यापार बढेको हो ।
आईपीओ जारी गरेपछि कम्पनीको ऋण निकै घटेकाले ब्याज खर्च कम भएको छ । यद्यपि कम्पनीले कुल ४ अर्ब २६ करोड रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये १५ करोडको दीर्घकालीन कर्जाका लागि कम्पनीले एल ट्रिपल बी रेटिङ प्राप्त गरेको छ भने ४ अर्ब ११ करोडको मार्जिन प्रकृतिको अल्पकालीन कर्जाका लागि कम्पनीले एथ्री प्लस रेटिङ पाएको छ । यसअघि कुल ४ अर्ब ६९ करोड रुपैयाँ कर्जाका लागि रेटिङ गराएकामा कम्पनीले सोही रेटिङ पाएको थियो ।