टाटा परिवारका ‘कट्टर कम्युनिस्ट’: जो बेलायती सांसद थिए तर स्वतन्त्र भारतको पक्षमा भाषण गर्थे



टाटा परिवारका एक महत्त्वपूर्ण सदस्य थिए शापुरजी सकलतवाला । तर करोडौंको मालिक बन्न छाडेर उनले राजनीतिको कठिन बाटो रोजेका थिए । कम्युनिस्टको पहिचान बनाएका उनले महात्मा गान्धीलाई पनि ‘कमरेड गान्धी’ भनेर सम्बोधन गर्थे ।

एजेन्सी । वर्षौंदेखि विश्वभर व्यापारिक विरासत फैलाइरहेको टाटा समूहको नेतृत्व यतिबेला रतन टाटाका सौतेनी भाइ नोयल टाटाको काँधमा आइपुगेको छ । टाटा समूह यति विशाल बनेर फैलिएको छ कि अब टाटा परिवारमा जन्मने एक शिशु पनि करोडौं डलरको मालिक बन्नेछ ।

त्यसो त सिंगो भारतलाई औधौगिक युगमा लैजान टाटा समूहले पनि महत्त्वपूर्ण योगदान गरेको मानिन्छ । दुई साताअघि रतन टाटाको निधन हुँदा धेरैले टाटा समूहको योगदानबारे खुलेर प्रसंशा गरे । रतनभन्दा पहिले उनका बाबु, हजुरबा र जिजुबाजे जमसेदजीसम्मलाई मानिसहरुले सम्झन्छन् ।

तर यही टाटा परिवारका एक जना यस्ता सदस्य थिए । उनलाई सायदैले सम्झिएका छन् । शापुरजी सकलतवाला टाटा परिवारका एक सदस्य थिए । जो आज इतिहासका एक गुमनाम पात्र भइसकेका छन् । सकलतवाला भारतको सबैभन्दा धनाढ्य परिवार टाटाका एक सदस्य नै थिए । तर उनी कहिल्यै व्यापार व्यवसायमा आएनन् ।

र सापुरजीको जीवन संघर्ष, चुनौती र जोखिमको बाटोमा बगिरहेको थियो । न त उनको नाम आफ्ना भतिजहरुको जस्तो थियो न त भाग्य नै । र उनले कहिल्यै टाटा समूहको हिस्सेदारी पनि खोजेनन् । न यसको नेतृत्व गर्ने इच्छा नै व्यक्त गरे ।

बरु भाइ-भतिजहरुको भन्दा विपरीत एक कट्टर कम्युनिस्टको रुपमा उनको छवि र पहिचान बनेको थियो । टाटा समूहले चलाएका जगुअर, ल्यान्ड रोभर र टेटली जस्ता प्रतिष्ठित बेलायती कम्पनी सम्हाल्ने अवसर छाडेर उनी बेलायतमा प्रखर र प्रभावशाली राजनेता बनेका थिए ।

भारतमा शासन गर्ने उपनिवेशवादी शक्ति केन्द्र अर्थात् बेलायतको संसद्‍मा स्वतन्त्रताका लागि उनले पैरवी गरिरहे । यतिसम्म कि महात्मा गान्धीसँग पनि उनले गहिरो बहस र विवाद गर्थे । टाटा परिवारमा जन्मिनु मात्रै उनको क्षमता थिएन । बरु उनले त एउटा धनाढ्य व्यापारीको अवसर छाडेर अलग जोखिमपूर्ण बाटो रोजेका थिए ।

मामा जमसेदजीकै काखा हुर्किएको थियो बाल्यकाल

सकलतवाला भारतका एक ठूला कपास व्यापारी दोराबजी र जेरबाइका छोरा थिए । उनकी आमा जेरबाइ टाटा समूहका संस्थापक जमसेदजी नुसरवानजी टाटाकी सबैभन्दा कान्छी छोरी थिइन् । जब सकलतवाला १४ वर्षका थिए उनको परिवार मुम्बइस्थित एस्प्लेनेड हाउस (टाटा परिवारको घर)मा सिफ्ट भएको थियो । र जेरबाइ आफ्ना दाजुसँगै बस्न थालिन् । जेरबाइका दाजुको नाम पनि जमसेदजी नै थिय ।

सकलतवालाका आमा बाबु उनको बाल्यकालमै अलग भएका थिए । त्यसपछि जमसेदजी उनलाई हुर्काउने बढाउने बाबु जस्तै बनेका थिए । सकलतवालाकी छोरी सेहरीले आफ्ना बाबुको जीवनी ‘द फिफ्थ कमान्डमेन्ट’मा लेखेकी छन्, ‘जमसेदजी सधैँ सापुरजीका लागि असाध्यै प्रिय थिए । उहाँले सापुरजीको भित्री क्षमत र सम्भावना चिन्नुभएको थियो । उहाँले सापुरजीमाथि ज्यादै ध्यान दिनुभयो । र उहाँलाई सापुरजीको बाल्यकाल र जवानीको क्रममा उहाँको क्षमतामा असाध्यै विश्वास राख्नुभएको थियो ।’

तर सकलतवालालाई जमसेदजीले प्रेम र विश्वास गर्दा जमसेदजीका जेठा छोरा दोराब सकलतवालासँग नै ईर्ष्या गर्थे । सकलतवालाकी छोरी सेहरीका अनुसार बाल्काल र युवावस्थामा उनीहरुबीच मनमुटाव देखियो । र उनीहरुबीच यो मनमुटाव जीवनभर कहिल्यै मेटिएन । सोहीकारण दोराबको पारिवारिक व्यवसायमा सकलतवालाको भूमिका कम देखिन थाल्यो । अन्तत:सकलतवाला टाटाको व्यवसायबाट अलग बाटो बनाउन बाध्य भए ।

वेट्रेससँग विवाह र गरिबहरुप्रति संवेदनशील

१८९० को दशकको अन्त्यतिर मुम्बइमा ब्युबोनिक प्लेगका कारण सकलतवाला ज्यादै प्रभावित बनेका थिए । उनले देखेका थिए कि महामारीको कारण गरिब मजदुर वर्ग असाध्यै प्रभावित बनेका थिए । जवकि उच्च वर्गका धनाढ्यहरु कमै मात्र प्रभावित थिए । जसमा उनको टाटा परिवार पनि पर्थ्यो ।

ती दिनहरुमा सकलतवाला कलेजका विद्यार्थी थिए । उनले त्यसबेला रुसी वैज्ञानिक भाल्देमर हफकिनसँग मिलेर काम गरेका थिए । रुसी शासन प्रणालीविरोधी राजनीतिका कारण हफकिन देश छाडेर भाग्नु परेको थियो । अफकिनले भारतमा महामारीबाट बच्न खोप लगाउने अभियान चलाइरहेका थिए । घरघरमा पुगेर गरिब मानिसहरुलाई खोप लगाउन मन्जुर गराउने काममा उनै सकलतवालाले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

सकलतवालाकी छोरी सेहरीले आफ्नो पुस्तकमा उनीहरुबीच घनिष्ठ सम्बन्ध स्थापित भएको उल्लेख गरेकी छन् । यसवाहेक सेली मार्स नामकी एक महिलासँग सकलतवालाको प्रेम सम्बन्ध थियो । सेली एक वेट्रेस थिइन् । जससँग सकलतवालाले १९०७ मा विवाह गरेका थिए ।

सेली मार्स आफ्ना आमा बुवाका १२ सन्तानध्ये चौथो सन्तान थिइन् । र उनले बाल्यकालमै आमाबाबु गुमाएकी थिइन् । मार्सको परिवारलाई गुजारा चलाउन पनि मुस्किल थियो । तर एक धाढ्य परिवारका सकलतवालासँगको सम्बन्धले मार्सलाई पनि केही सहज बनेको थियो । तर सकलतवालाले उनै मार्ससँगको सम्बन्धका कारण बेलायतको मजदुर वर्गको कठिनाइ र संघर्षको बारेमा जानकारी पाएका थिए ।

कट्टर क्युनिस्टको पहिचान

सेहरीको पु्स्तकमा उल्लेख भए अनुसार मार्सका पिता पनि जेसुइट पादरी र ननहरुको निस्वार्थ जीवनबाट प्रभावित थिए । र उनीहरुकै सहयोगबाट उनी स्कुल र कलेज पढ्न पाएकी थिइन् । जसकारण १९०५ मा आफ्नो बेलायत यात्रापछि सकलतवाला पनि राजनीतिमा जोडिएका थिए । राजनीतिमा जानुको उनको उद्देश्य गरिब र वहिष्कृत बनेका परिवार र निम्न वर्गहरुलाई सहयोग गर्नु नै थियो ।

यसरी उनी १९०९ मा लेबर पार्टीमा आबद्ध भए । र १२ वर्षपछि कम्युनिस्ट पार्टीको सदस्यता लिए । र उनी भारत र बेलायतमा मजदुर वर्गको अधिकारबारे सधैँ गहिरो चिन्ता गरिराखेका हुन्थे । सकलतवालालाई लागेको थियो कि साम्राज्यवादी शासनक सट्टा समाजवादबाट नै गरिबी हटाउन सकिने लागेको थियो ।

त्यसो त अधिकांशले उनको भाषणको खुलेर प्रशंसा गर्थे । यसरी उनी बेलायतमा एक प्रख्यात नेता बनेका थिए । १९२२ मा उनी पहिलो पटक सांसदमा निर्वाचित बने । र सांसदको रुपमा उनले करिब ७ वर्षसम्म काम गरे । यसबीचमा उनले भारतको स्वतन्त्रताका लागि खुलेर वकालत गरेका थिए । उनको बिचार यति दृढ थियो कि कन्जरभेटिभ पार्टीका एक ब्रिटिश भारतीय सांसदले उनलाई ‘कट्टरपन्थी कम्युनिस्ट’ भन्ने गर्थे ।

सांसदको रुपमा आफ्नो कार्यकालमा उनले कैयौं पटक भारत आउने जाने गरेका थिए । भारतमा आएर मजदुरहरुको भेलालाई उनले दिएको भाषणमा स्वतन्त्र भारतको आन्दोलनमा सहयोग गर्ने बताएका थिए । त्यस क्रममा उनले भारतीय कम्युनिस्टहरुलाई संगठित पनि गरेका थिए ।

उनी महात्मा गान्धीका कतिपय विचारमा असहमति राख्थे । तर स्वतन्त्र भारत बनाउने लक्ष्यमा उनीहरु प्रतिबद्ध थिए । गान्धीलाई एक पत्रमा उनले ‘कमरेड गान्धी’ भनेर सम्बोधन समेत गरेका थिए । तर भारतमा स्वतन्त्र भारतका लागि उनले दिएको भाषणका कारण बेलायती अधिकारीहरु उनीप्रति रुष्ट बनेका थिए । भारत स्वत्नत्र बन्नुअघि १९३६ मा उनको निधन भयो । तर भारतको स्वतन्त्रता आन्दोलनका लागि उनी एक महत्त्वपूर्ण व्यक्ति बनिरहे ।

-बीबीसी हिन्दीबाट


क्लिकमान्डु