रविको राजनीतिक भविष्य: सांसद पद के हुन्छ, चुनाव लड्न पाउँछन् कि पाउँदैनन् ?



काठमाडौं । रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गर्‍यो ।

शुक्रबार राति पार्टी कार्यालयबाट पक्राउ परेका उनलाई शनिबार बिहानै पोखरा पुर्‍याइयो । अब आइतार मात्रै उनलाई अदालत उपस्थित गरिनेछ ।

प्रतिनिधिसभाका सदस्य समेत रहेका लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले शुक्रबार नै कास्की जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरेको हो । त्यसपछि लामिछानेलाई पक्राउ गरेको जानकारी सीआईबीले सभामु्खलाई पठाइसकेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा लामिछाने पक्राउ परेका हुन् ।

के हुन्छ कारबाही ?

लामिछाने पक्राउ परेपछि धेरैलाई चासो छ-के उनको सांसद पद जान्छ ? उनी अब २०८४ को चुनावमा उम्मेदवार बन्न पाउँछन् कि पाउँदैनन् ?

त्यसो त शुक्रबार पार्टी कार्यालयमा आयोजित भेलालाई सम्बोधन गर्दै लामिछानेले भनेका थिए, ‘जसरी भए पनि सांसद पद खारेज गर्ने र चुनावमा भाग लिन नदिने योजना गरिएको छ ।’ तर यसको विपरीत लामिछानेले सहकारीको रकम अपचलनमा जीबी राईलाई विश्वास गर्नु आफ्नो कमजोरी भएको स्विकार गरेका थिए । र जीबी राईले ल्याएको पैसाको स्रोत नसोधिकन खर्च गर्ने काममा आफ्नो संलग्नता रहेको स्विकार गरेका थिए ।

यीनै कसुरमा लामिछानेमाथि संगठित अपराध र सहकारीको रकम अपचलनमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । जसमा यदि उनी दोषी प्रमाणित भए भने २ वर्षसम्मको जेल सजाय हुनसक्छ ।

ग्यालेक्सी फोरके टिभीको सेयर जिबी राईको नाममा हस्तान्तरण गर्दा कम्पनी रजिष्ट्रार कार्यालयलाई झुक्याएपछि लामिछानेलाई ५० हजार रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने देखिएको छ । कम्पनी ऐनको दफा १६० मा भएको व्यवस्था अनुसार लामिछानेलाई यस्तो सजाय हुन सक्छ ।

लामिछानेको नाममा रहेको ग्यालेक्सीको १५ प्रतिशत सेयर अध्यक्ष राईमा हस्तान्तरण हुँदा रविको खातामा एक करोड ८० लाख रूपैयाँ जम्मा गरिएको भौचर देखाएर सेयर हस्तान्तरण भएको थियो । रकम खातामा जम्मा नै नगर्ने उद्देश्यका साथ झुटा विवरण उपलब्ध गराएर राईको नाममा सेयर हस्तान्तरण गरिएको हो ।

कम्पनी ऐनको दफा १६० (क) मा कम्पनीको कुनै सञ्चालक वा पदाधिकारीले कम्पनीको कुनै कागजपत्रमा बदनियत वा द्वेषपूर्ण लापरवाहीसाथ कुनै झुटा कुरा उल्लेख गरी कम्पनी वा कुनै व्यक्तिलाई हानी नोक्सानी पुर्‍याएको भए त्यस्तो सञ्चालक वा पदाधिकारीलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्मम कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

लामिछानेले केही समय अघि सामाजिक सञ्जालमा आफ्नो खातामा १ करोड ८० लाख जम्मा भएको भौचर देखाएपछि मात्र कम्पनी रजिष्ट्रारको कार्यालयबाट राईको नाममा सेयर नामसारी हुने भएकाले त्यस्तो गरिएको भन्दै झुटो विवरण उपलब्ध गराएर सेयर हस्तान्तरण गरिएको स्वीकार गरेका छन् ।

लामिछानेको सांसद पद जान्छ त ?

प्रतिनिधिसभा नियमावलीको नियम २२५ मा प्रतिनिधिसभा सदस्यको पक्राउ र सांसद पद निलम्बन सम्बन्धी व्यवस्था छ। नियमावली २२५ को उपनियम ३ मा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पुर्पक्षको लागि थुनामा रहेको अवस्थामा थुनामा रहेको अवधिभर सांसद पद निलम्बन हुन्छ।

यस्तै अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्ने अवस्थामा त्यस्तो थुनामा नबसी फरार रहेको अवधिभर अभियुक्त सांसदबाट निलम्बनमा पर्ने कानुनी प्रावधान छ ।

तर यस्तो व्यवस्थामा पक्राउ परेका सांसद धरौटीमा छुटे भने पद निलम्बित हुनुपर्ने छैन । अर्थात् रावि लामिछाने पनि धरौटीमा छुटे भने निलम्बनमा पर्ने छैनन् । तर अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अवस्थामा भने उनी सांसद पदबाट निलम्बित हुनेछन्।

यसअघि चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछाने कीर्ते नागरिकता सम्बन्धी मुद्दामा सांसदबाट निम्बित भएका थिए । उनको सांसद पद खारेज भएपछि २०८० वैशाख १० मा उपनिर्वाचन भएको थियो । तर उपनिर्वाचनमा पनि उनी निर्वाचित भए । सोही अनुरुप यतिबेला लामिछाने चितवन-२ को प्रतिनिधित्व गर्दै संसदमा छन् ।

तर दोस्रोपटक चितवनका आम नागरिकले उनलाई गुनासो र आलोचना गरिरहेका थिए । उनकै लापर्वाहीका कारण दोस्रो पटक चितवनमा उपनिर्वाचन गराउनु परेकोमा उनीहरुको गुनासो थियो ।

अब यपटक लामिछाने दोषी प्रमाणित भएर २ वर्षसम्म जेल बस्नुपर्‍यो भने लगभग लामिछानेको राजनीति अन्तयजस्तै हुनेछ । यद्यपि कानुनी रुपमा भने उनले सजाय भुक्तान गरिसकेपछि पनि राजनीति गर्नसक्ने छन् । तर त्यतिन्जेलसम्म अन्य धेरै मुद्दा र विषयहरुको विकास भइसकेको हुनेछ ।

अर्थात् रास्वपाभित्रै अरु थुप्रै नेताहरु आउनसक्ने छन् । अर्थात् यदि लामिछाने जेल जानुपर्ने अवस्था आए फेरि रास्वपाको सभापति बन्नका लागि रास्वपाकै नेताहरुले उनलाई नैतिक प्रश्न उठाउने देखिन्छ । आम नगरिकले पनि उनीमाथि यही नैतिकताको प्रश्न जीवनभर सोधिरहने छन् ।

त्यसो त टेलिभिजनमा प्रस्तोता हुँदा चर्को स्वरमा बोलेका कुराहरु मन्त्री बनेछि नै आफ्नै लागि गलपासो बनेका थिए । जसले गर्दा उनको लोकप्रियताको ग्राफ पछिल्लो समय तीब्र रुपमा खस्किँदै छ। यस्तो सन्दर्भमा जनताहरुको सहकारीको बचत अपचलन गरेको कसुरमा लामिछाने जेल नै जानुपर्ने अवस्था आए उनी फेरि राजनीति गर्नसक्ने छैनन् ।

तर लामिछानेका अभिव्यक्तिहरु हेर्दा के आकलन गर्न सकिन्छ भने, उनले यतिबेला सोचिरहेका छन्, ‘धरौटीमा छुट्न पाएको अवस्थामा फेरि देशव्यापी अभियान सञ्चालन गरेर सरकार विरुद्ध चर्को आवाज उठाउँदै लोकप्रिय बन्न सक्नेछु । र आम जनताको निर्दोषिताको समवेदना पाउनेछु ।’

शुक्रबार पनि उनले मन्तव्यको क्रममा यस्तै अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए ‘मलाई बाँचिराख्न दिए म उनीहरु सबैलाई जेल पठाउनेछु ।’ उनको यो अभिव्यक्तिले पनि आम जनताको सिम्प्याथी पाउने उनको यजना देखिन्छ ।

तर लामिछानेले सोचे झैं २०८४ सम्म यस्तै अवस्था त पक्कै रहने छैन । यहाँनेर सहकारी बचत रकम अपचलनबारे अनुसन्धानका लागि बनेको संसदीय विशेष छानबिन समितिका सभापति सूर्य थापाले ऋषि धमलासँगको अन्तर्वार्ताा भनेका सम्झनुपर्ने हुन्छ । त्यहाँ उनले भनेका थिए- ‘चुनावका बेला आम जनताको घरघरमा सहकारीको हिसाब माग्दै पर्चा टाँसिनेछ ।’

अर्थात् चुनावसम्म जसरी लामिछानेले अभियान चलाउनेछन् त्यसैगरी सहकारी पीडितहरुले पनि आन्दोलन गर्नेछन् । अर्थत् चुनावअघि लाखौं जनताको सहकारीको अर्बौंको हिसाब मिलान हुने कुनै संकेत छैन । जसले गर्दा चितवनका हजारौं सहकारी पीडितहरुले २०८४ को चुनाव अघि नै हिसाब खोज्नेछन् । यसले गर्दा लामिछाने धरौटीमा रिहा भए पनि चुनावअघि ठूलो नैतिक र कानुनी प्रश्नको सामना गरिरहनु पर्नेछ ।


क्लिकमान्डु