के रवि लामिछाने सहकारी काण्डमा पक्राउ पर्न लागेका हुन् ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बोलाएको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेत र महान्यायाधिवक्ता रमेश वडाल सहभागी थिए ।

बैठकको मुख्य विषय थियो शान्ति प्रक्रियाका बाँकी कामहरुलाई अगाडि बढाउने । त्यसमा तीन दलहरुको सहमति पनि भयो । यससँगै प्रधानमन्त्री केपी ओलीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले ९९ दिन लगाएर तयार पारेको अध्ययन प्रतिवेदन कार्यान्वयनको प्रसंग पनि बैठकमा निकाले । उक्त प्रतिवेदन कार्यान्वयनमा गृह प्रशासनको महत्वपूर्ण भूमिका हुन्छ ।

प्रतिवेदन कार्यान्वयनका विषयमा सरकारले आवश्यक काम गरिरहेको पनि छ । हाल उक्त प्रतिवेदन कार्यान्वयनको विषय आउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा तरंग पैदा भयो । तीन दलको बैठक सकिएपछि नै बैठकमा सहभागी एक शीर्ष नेता प्रचण्डले शुक्रबार बिहान प्रतिपक्षी दलहरुको बैठक आह्वान गरेका थिए । जहाँ उनले रवि लामिछाने पक्राउ पर्नसक्ने प्रतिक्रिया दिए । लामिछानेलाई पक्राउ गर्ने विषयमा सरकारको तयारीबारे प्रचण्डले प्रतिपक्षी दलहरुको बैठकमा बताए ।

जहाँ लामिछाने स्वयं पनि उपस्थित भएर आफूलाई साथ दिन याचना पनि मागे । तर प्रमुख प्रतिपक्षी दल तथा सहभागी अन्य दलका नेताहरुको खासै प्रतिक्रिया जनाएनन् । लामिछाने भने बैठकमा धेरै बेर नबसेर हिँडिहाले । बैठकमा पुग्नुअघि नै लामिछाने त्रसित बनिसकेको आभाष भएको बैठकमा सहभागी एक नेताको बुझाइ छ ।

प्रतिपक्षी दलहरुको बैठक लगत्तै माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले रास्वपाका सभापति पक्राउको विषयमा भने, ‘यो विषयमा हाम्रो स्पष्ट कुरा छ । टिआरसी सम्बन्धी विषयमा प्रधानमन्त्रीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा प्रचण्डले त्यो विषय स्पष्ट रुपमा राख्नुभएको थियो । यस्ता प्रकृतिका समस्याबारे छलफल हुँदा कानुनी प्रक्रियाबाट अगाडि बढ्ने विषयमा कसैको अवरोध हुँदैन ।’

यसैको श्रृंखलाको रुपमा शुक्रबार रास्वपाका नेताहरुले पार्टी कार्यालय बनस्थलीमा सबै सदस्यहरुलाई उपस्थित हुन आह्वान गरेका छन् । शुक्रबार साँझसम्म रास्वपाको कार्यालयमा रास्वपाका नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन् ।

उनीहरुको भेला हुनुभन्दा पहिलेदेखि नै राजनीतिक वृत्तमा एउटा अपुष्ट खबर के फैलिरहेको छ भने-‘रवि लामिछाने पक्राउ पर्दैछन् ।’ त्यसो त यस्तो खबर पहिलो पटक पनि आएको हैन । यसअघि असोज ६ गते पनि लामिछाने पक्राउ पर्ने हल्ला फैलिएपछि रास्वपाका नेताहरु राति नै पार्टी कार्यालयमा भेला भएका थिए । यतिसम्म कि चीन भ्रमणमा गएका रास्वपाका नेताहरु समेत भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए । शुक्रबार लामिछाने पक्राउ पर्ने

सहकारी घोटालामा लामिछाने कसरी जिम्मेवार ?

सहकारी ठगीको विषयमा छानबिनका लागि प्रचण्ड नेतृत्वको सरकारले संसदीय विशेष छानबिन समिति गठन गरेको थियो । समिति गठन गर्नुपर्छ भनेर संसदमा विरोध गर्ने नेपाली कांग्रेसका सांसद रमेश लेखक अहिले गृहमन्त्री छन् । प्रचण्ड, गृहमन्त्री लेखकसहित राखेर ओलीले प्रतिवेदन कार्यान्वयनमा सरकार दत्तचित्त भएर लाग्छ भनेपछि शुक्रबार प्रचण्डले प्रतिपक्षिहरुको बैठक बोलाए ।

सहकारी छानविन समितिमा एमालेबाट २, काँग्रेसबाट २, माओवादीबाट १, रास्वपबाट १ र राप्रपाबाट १ जना सांसदको सहभागीता रहेको थियो । उक्त प्रतिवेदन प्रतिनिधि सभाले स्वीकृत समेत गरिसेकोको छ । संघीय सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन आदेश समेत दिइसकेको छ ।

समितिले प्रतिवेदन पेश गरेलगत्तै गोरखा मिडिया नेटवर्क पूर्व सञ्चालक छविलाल बन्जाडे जोशीलाई कास्की प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरी स्रोतका अनुसार जोशीले यो अनुसन्धान प्रभावकारी बनाउन पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने बयान दिएका छन् । उनको बयानले पनि अनुसन्धान प्रभावकारी बनाउन लामिछाने पक्राउ गर्न प्रहरी प्रशासन बाध्य बन्दै गएको छ ।
अहिले रास्वपाका सभापतिसमेत रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका व्यवसायीक साझेदार गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु (जीवी)राई फरार रहेका छन् ।

सहकारी छानविन समितिले अनुसूची १ र २ मा भएका करिब ३० वटा सहकारीका विषयमा अध्ययन गरेको छ ।

जसमा ५ वटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ बचतकर्ताको पैसा गोरखा मिडिया नेटवर्कमा गएको देखिएको छ । त्यसमा रवि लामिछाने, जीवी राई, छविराज जोशी, कुमार रम्तेलको भूमिका रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सहकारीको बचत अपचलन समितिले सहकारीको पैसा अपचलन गर्ने गोरखा मिडिया नेटवकर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई दोषी किटान गरेर यही कानुनअनुसार कारबाही गर्न भनेको छैन । तर, समितिका सभापति सूर्य थापा रविविरुद्ध करिब १ दर्जन कानुन आकर्षित हुने बताउँछन् ।

‘रविलाई प्रचलित कानुन अनुसार कारबाही गर्न हामीले सिफारिस गरेका छौं । सहकारीको बचत, अपचलन, दुरुपयोगले मात्रै पनि पुग्दैन,’ सभापति थापाले भने, ‘कम्पनी ऐन, सम्पत्ति शुद्धीकरण ऐन, सरकारी निकायमा झुठो विवरण बुझाएको सम्बन्धी कानुन लगायत झण्डै एक दर्जन कानुन गोरखा मिडिया नेटवर्कमा सहकारीका बचतकर्ताको बचत दुरुपयोग सम्बन्धमा जुन चलखेल भयो त्यसमा आकर्षित हुन्छ भनेर हामीले भनेका छौं ।’

बचत अपचलन गरेको विषय गैह्रकानुनी हुने र गैह्रकानुनी काम गर्न कसैले पनि नपाउने उनी बताउँछन् । समितिले कुनै कानुन उल्लेख गर्न सकिने भए पनि एउटा कानुन उल्लेख गर्दा बाँकी कानुनमा उन्मुक्ति दिन सकिने स्थिति नभएको थापाको तर्क छ ।

समितिले सहकारीको बचत अपचलन गरेको भन्दै ४ जनाको नाम किटान गरेर कारबाहीको लागि सिफारिस गरेको छ ।

जसमा गोरर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु (जीवी)राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेल, तत्कालीन सञ्चालक छविलाल जोशी रहेका छन् । चार जनाले सहकारीको रकम गैह्रकानुनी रुपमा कम्पनीमा ल्याएर खर्च गरेको, उक्त रकम अपचलन, दुरुपयोग गर्न जिम्मेवार देखिएकोले प्रचलित कानुनअनुसार नेपाल सरकारलाई सिफारिस गरेको छ ।

रवि लामिछानेले ‘क्लिन चिट’ पाएको भनिरहे पनि सहकारीबाट आएको पैसा लामिछानेले नै खर्च गरेको तथ्यले देखाएको छ । ६५ करोड ५४ लाख रुपैयाँ गोरखा मिडियामा आएकोमा जिवी राईले ८ करोड सिधै लिएको र बाँकी ५७ करोड ५४ लाख रुपैयाँ रविमार्फत खर्च भएको छ ।

समितिले छानबिनका क्रममा १० वटा चेक हेर्दा ९ वटामा रविको हस्ताक्षर रहेको सभापति थापाको भनाइ छ । २३,२४ करोड रकमका ९ वटा चेकबाट भुक्तानी भएको उनले बताए । समानता, सुप्रिस, सहारा, सानोपाइला, सूयदर्शन सहकारीबाट २२ करोड ४६ लाख रुपैयाँ रकम खातामा सिधै सहकारीबाट आएको छ ।

त्यो रकम रोशनी गुरुङ, वा गुन्जता ज्ञवालीले डिपोजिट गरेको नभइ, सहकारीबाट आएको हो । रवि त्यो खाताको सञ्चालक देखिएका छन् । त्यहाँ आएको पैसा आफूलाई कहाँबाट आयो भनेर थाहा छैन भनेर उन्मुक्ति पाउने अवस्था नरहेको थापाले बताए । संस्थाले निब्र्याजी भनेर लिएको पैसामा १ करोड ५५ लाख ब्याज तिरेको अध्ययनले देखाएको छ ।

समितिले सहकारीको बचत अपचलन समितिले सहकारीको पैसा अपचलन गर्ने गोरखा मिडिया नेटवकर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई दोषी किटान नगरेका कारण सहकारी बचत दुरुपयोग गरेको भन्दै सहकारी ऐन सिधै आकर्षित हुने स्थित नरहेको बताइन्छ । तर, कम्पनी ऐन, सम्पत्ति शुद्धीकरण ऐन आकर्षिक हुने हुँदा लामिछानेलाई सोही अनुसार कारबाही प्रकृया अघि बढाउने स्रोतको दाबी छ ।
बिहीबार बालुवाटारमा केपी ओलीले बोलाएको बैठक र आज प्रचण्डले बोलाएको बैठक पछि लामिछानेको आत्मबल समेत कमजोर हुँदै गएको बताइन्छ ।

प्रचण्डले बोलाएको बैठक सकिएको केही समयपछि रास्वपाकी केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला)ले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ‘अत्यन्त जरुरी सूचनाः काठमाडौंमा हुने रास्वपाका मित्रहरु चाडो भन्दा चाँडो केन्द्रीय कार्यालयमा भेला भैदिनु होला ! साथै ७७ जिल्लाबाट रास्वपा टिम तयारी अवस्थामा बस्नु होला ।’

यसअघि पछि लामिछानेले जोशी पक्राउ पर्दा आफुलाई सरकारले पक्राउ गर्न लागेको भन्दै पार्टी साँझदेखि मध्यराति ११ बजेसम्म कार्यकर्ता सुभचिन्तक जम्मा गरेका थिए । यसअघि मिडिया ट्रायलमा रमाउने लामिछाने अहिले सरकारले आफूमाथी मिडिया ट्रायल गरेको भन्दै कार्यकर्ता र शुभेच्छुकको घेरा भित्र रम्न थालेका छन् ।

पार्टी सभापति, पदाधिकारीहरु र काठमाडौमा उपलब्ध केन्द्रीय सदस्यहरु कार्यालयमा रहेको एक नेताले जानकारी गराए । सभापति रवि लामिछानेलाई विधिसंगत तरिकाले प्रहरीले पक्राउ गरेमा विरोध नहुने उनले बताए।

‘पक्राउ गर्न प्रहरी आयो भने प्रतिवाद गर्ने पार्टीको तयारी छैन । कानुन सबैले मान्नुपर्नेमा हामी सचेत छौं,’ केन्द्रीय कार्यालयमा रहेका नेताले भने । नेताहरु सभापति लामिछानेको कार्यकक्षमा रहेको उनले जानकारी गराए।

६ असोजमा पूर्व डिआइजी छबिलाल जोशी पक्राउ परेपछि रास्वपाले सर्कुलर जारी गरेर नेता कार्यकर्तालाई कार्यालयमा आउन आव्हान गरेको थियो । कदाचित् प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेमा कार्यकर्तालाई कार्यालयमा उपस्थित हुन आव्हन नगरिने उनले बताए।

‘स्वतस्फूर्त रुपमा कार्यकर्ताहरु आउन सक्नुहुन्छ। पार्टीले भेला हुन भनेर बोलाउँदैन,’ उनले भने,‘दुर्गा प्रसाई पक्राउ पर्दा त उनका समर्थक उत्रिन्छन् भने हाम्रो सभापति पक्राउ पर्नुभयो भने कार्यकर्ता÷शुभेच्छुकहरु विरोध स्वतस्फूर्त गर्नसक्छन् । विरोध गर्नका लागि आव्हान गरेका छैनौं ।’


क्लिकमान्डु