कुलमान भन्छन्- ठूला उद्योगीले लोडको विवरण नदिदाँ व्यवस्थापनमा समस्या, महँगो बिजुली खेर गयो



काठमाडौं । ठूला उद्योगीहरुले आफ्ना उद्योगहरुमा खपत हुने विद्युतको जानकारी नदिदाँ नेपाल विद्युत प्राधिकरणलाइन लोड व्यवस्थापनमा समस्या परेको छ ।

विद्युत प्राधिकरणले विगत एक वर्षभन्दा बढी समयदेखि उद्योगीहरुसँग खपत हुने बिजुलीको विवरण मागिरहेको छ । तर उद्योगीहरुले त्यसको वास्ता नै नगरेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए ।

‘हामीले भोल्टपल्ट वा एक सातासम्म कति जति बिजुली खपत हुन्छ त्यसको अनुमानित विवरण मागिरहेका छौं । उद्योग कुन कुन समयमा चल्छ, त्यसको विवरण मागिरहेका छौं,’ घिसिङले क्लिकमान्डुसँग भने- ‘ठूला उद्योगीहरुले त्यसको विवरण दिए भने हामीलाई व्यवस्थापन गर्न सजिलो हुने थियो।’

उनका अनुसार अहिले उद्योगमा सबैभन्दा धेरै विद्युत खपत हुन्छ । प्राधिकरणले बर्खामा सरप्लस हुने बिजुली भारत निर्यात गर्छ भने हिउँदमा अपुग हुने बिजुली आयात गरे व्यवस्थापन गर्छ ।

बर्खामा सरप्लस हुने करिब ९०० मेगावाट बिजुली भारत निर्यात गर्ने अनुमति प्राधिकरणले पाएको छ । असोज दोस्रो साता बाढी आउनु पूर्व प्राधिकरणले ९०० मेगावाट हाराहारी निर्यात गरिरहेको थियो । तर बाढीले ४५६ मेगावाट तामाकोसीसहित ३ दर्जन जलविद्युत् आयोजनामा क्षति पूर्‍याएका कारण अहिले दैनिक १५० मेगावाट हारहारी मात्रै निर्यात भइरहेको छ ।

नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । जसको उत्पादन हिउँदमा ३० प्रतिशतभन्दा तल झर्छ ।

जडित क्षमता ३१०० मेगावाट पुगेको भएपनि १५०० मेगावाटको आन्तरिक माग पूरा गर्न ६०० मेगावाटसम्म आयात गर्नुपर्छ । गत हिउँदमा ६०० मेगावाट आयात गरेर व्यवस्थापन गरिएको थियो । ‘हामीलाई ठूला उद्योगीले लोडको जानकारी दिए हामीले भारत कति निर्यात गर्ने भन्ने एकिन गर्न सक्थ्यौं । भारतमा बिक्री गर्नका लागि अघिल्लो दिन नै बिड गर्नुपर्छ,’ उनले भने, ‘हामीले धेरै बेचौला यहाँ नपुग्ला, धेरै राखौला,खेर जान्छ ।’ उनका अनुसार धेरै जसो समय बिजुली खेर फाल्नु परेको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डे-अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

प्रतिस्पर्धी बजारमा भोलीपल्ट बिक्रीका लागि अघिल्लो दिन नै बिड गर्नुपर्छ । ‘हामीले भारतमा बिजुली बेच्न अघिल्लो दिन नै बिड गर्नुपर्छ । बिड गरेर पठाउन सकिएन भने दोब्बर जरिवाना तिर्नुपर्छ,’ घिसिङले भने, ‘उद्योगहरुले लोडको विवरण नदिएसम्म हामीलाई व्यवस्थापन असहज हुन्छ ।’

उनका अनुसार भारतबाट हिउँदमा आयात हुने बिजुली महँगो पर्छ । उक्त महँगो बिजुली समेत खपत नभए खेर फाल्नुपर्ने अवस्था रहेको बताए  । ‘हामीले अनुमान गरेर आयात गर्छौं । उद्योगहरुले खपत गरेनन् भने खेर जान्छ । १९ रुपैयाँ युनिटसम्म ल्याएर १० रुपैयाँ औसतमा बेचेका छौं । खेर फाल्नु पर्‍यो भने ठूलो नोक्सानी हुन्छ,’ उनले भने, ‘उद्योगले विवरण दिए त्यहि अनुसार आयात गर्ने थियौं ।’

उनले भारतलगायतका देशहरुमा समेत उद्योगहरुले खपत हुने बिजुलीको विवरण दिने गरेको बताए ।


दिनेश खड्का