वर्षमा एक दिन मटनका परिकार बनाउँछु, परिवारका सबै खुसी हुन्छन्ः अम्बिका पौडेल



काठमाडौं । अम्बिका पौडेल नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष तथा उद्यमी हुन् । दशैं मनाउन काठमाडौंबाट स्याङजासम्म मुढामा बसेर गएको, गाउँमा पुगेर बाबियो खोजेर लिंगे पिङ हालेको, एक पटक त रोटे पिंग खेल्दा माथिबाट खसेर छातिमा ठोकिएको, मुखबाट रगत नै आएको पौडेलललाई अझै मानसपटलमा ताजै छ । असोज लागेपछि खुलेको आकाश, पँहेलै झुलेको धानबाली…, त्यो दृश्य सम्झँदा अहिले पनि पौडेले विगत प्रति निकै पुलकित हुन्छन् ।

पौडेल टिका आशिर्वाद मात्रै नभएर, दशैंमा चप्पल पडकाउँदै गएको, बाटोमा जुकाले टोकेको अझै पनि याद छ । त्यो बेला टिका लगाएर आएको ३५, ४० रुपैयाँ पैसाले चप्पल किन्ने, चप्पलको फिता किन्ने गरेको पौडेल सम्झन्छन् ।

आमा काठमाडौंमा सँगै रहेकाले स्याङजामा धेरै वर्ष दशैं मनाएका पौडेल ८-१० वर्षदेखि शहरमै चाड मनाउँछन् । दशैं काठमाडौंमा नै मनाएपनि गाँउमा हुँदाका सँगैका साथीहरुको धेरै याद आउने, गाँउका खोला, ठूला ठूला चउर, चिसो पानी, जुकाको टोकाइ, सबै स्मरण ताजै छ ।

पौडेल वर्षमा एक पटक अर्थात् फूलपातीको दिन मटनका विभिन्न परिकार बनाउने गर्छन् । उनलाई मटनका परिकार धेरै मनपर्छ । मटनको छोइला, पकुवा, सुप लगायत परिकार बनाउँछन् । वर्षमा एक दिन मटनका परिकार बनाउँदा परिवारका सदस्य समेत खुसी हुने गरेको उनको स्मरण छ ।

घरमा बनेको खानामध्ये आमाले बनाएको खानाको स्वाद अहिले पनि पौडेलेको जिब्रोको टुप्पैमा छ । लौका, घिरौला, सिमी, बोडी असाध्यै मिठो उनलाई । पौडेललाई चिनियाँ खाना, माछाका परिकार निकै मन पर्छ । पछिल्लो पटक रोमानियाँ जाँदा चिनियाँ रेस्टुरेन्टमा खाएको खाना अहिले पनि याद आइरहने उनी बताउँछन् ।

पौडेल दशैंमा जति दक्षिणा पायो त्यही नै दिनुपर्छ भन्ने मान्यता राख्छन् । ‘मैले २ हजारसम्म दक्षिणा पाएको छु भने २ हजारसम्म नै दिएको छु’ उनले भने । सुका मोहरबाट सुरु भएको दक्षिणा अहिले आफूले अरुबाट लिन अलिक कठिन लाग्ने तर अरुलाई दिन पाए खुसी लाग्ने पौडेलले बताए ।

उनै पौडेलसँग दशैं, तिहार र खानपानका विषयमा क्लिकमान्डुका लागि सोभित थपलियाले गरेको कुराकानीः


सोभित थपलिया