दशैं किनमेल: विराटनगरको बजार सुनसान, जोगबनीमा घुँइचो

'सरकारको नीतिकै कारण तस्करी बढ्यो'



विराटनगर । बाह्रै महिना सीमावमर्ती जोगबनी बजारको छायाँमा पर्दै आएको विराटनगरको व्यापार मुख्य पर्व दशैंमा पनि निरस

यसबेला विराटनगरका अधिकांश पसलमा दिनभरीमा वोहनी समेत नहुँदा जोगवनीका व्यापारीलाई भने नेपालीलाई सामान बेच्न भ्याइनभ्यायी छ ।

दशैंको किनमेलका लागि जोगवनीमा यतिखेर विराटनगर र आसपासका मात्र नभएर सुनसरी, धनकुटा, भोजपुर,तेह्रथुम र संखुवासभाका समेत ग्राहक ओइरिएका छन् । उच्च राजस्व दरका कारण भान्साका सामानदेखि लत्ता कपडा अनि दैनिक उपभोग्य सामान मात्र नभएर जोगवनीमा नुनदेखि सुनसम्म नेपाली बजारभन्दा सस्तोमा पाइन्छ ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले सरकारको नीतिका कारण नागरिक सीमा पारी गएको बताए ।

‘सरकारको नीतिकै कारण सस्तो मूल्यमा पाइने सामान खरिद गर्न उपभोक्ता सीमापारीका बजार पुग्दा स्थानीय बजार सुनसान छ,’ उनले भने ।

राजस्वका कारण सीमापारीका बजारमा तुलनात्मक रुपमा सामान सस्तो पाइन्छ नै । जहाँ सस्तो पाइन्छ त्यहाँ ग्राहाक पुग्न मानवीय स्वभाव नै भएको राठीको भनाइ छ ।

चिनी, दाल, चामल, लत्ताकपडा, काजु, किसमिस, जिरा, धनिया, भुजिया, विस्कुट, खानतेल, चियापत्ति, सावुन, कफी लगायतका दैनिक उपभोग हुने मुख्य वस्तुमा सरकारले अधिक कर लगाउँदा ती सामान सीमापारी सस्तोमा पाइने उनकी बताउँछन् । सामान किन्न ग्राहक पारी जाँदा र त्यही सामानको अवैध आयात अनियन्त्रित हुँदा सिंगो बजार नै प्रभावित भएर विराटनगर बजारका सटर धमाधम बन्द हुँदै गएको राठीको भनाइ छ ।

दशैं किनमेलका नाममा यसबेला जोगवनीवाट दैनिक सरदर ५ करोडभन्दा बढी मूल्यका उपभोग्य सामान निर्वाध रुपमा नेपाल भित्रिने गरेको व्यापार संघको अनुमान छ । विराटनगर बजारको कारोबार दैनिक ५ लाखको पनि नभएको व्यवसायी बताउँछन्।

‘राज्यकै नीतिले स्थानीय बजारबाट व्यवसायी पलायन हुने अवस्था सृजना भयो,’ राठीले भने ।

यो सीमापारीको बजारबाट एक उपभोक्ताले एक पटकमा दुई जोर कुर्था सुरुवाल, पाँच केजी चिनी, चिया रङ, तोरीतेल, सावुन, सरफ, जिरा लगायतका भान्साका सामान सहज रुपमा लिएर आउन सक्छ । यसलाई व्यवहारीक रुपमा रोक्न नमिल्ने भन्सार अधिकारीको भनाइ छ ।

दशैंको समयमा सुपर मार्केटमा दैनिक ५० लाख सम्मको कारोवार हुनु पर्ने भए पनि नभएको भाटभाटेनी सुपर मार्केटका प्रबन्धक पर्शुराम तिम्सीना बताउँछन् ।

‘सस्तोका नाममा भएजति उपभोक्ता जोगवनी हुँइकिँदा कारोबार नगन्ने छ,’ उनले भने, ‘उपभोक्ता जोगवनी पुग्छन् । त्यसबाहेक भान्साका सामान र दैनिक उपभोग्य सामान तस्करी भएर भित्रिदा स्थानीय बजार सुनसान छ ।’

यसवेला खाद्यान्न लगायत भान्साका सामानको कारोबार विराटनगरमा पटक्कै नभएको व्यवसायी बताउँछन् । लत्ता कपडाको व्यापार पनि छैन । कपडा व्यवासायी संघ विराटनगरका उपाध्यक्ष नन्दकुमार जाजुले कुर्ता–सुरुवाल लगायतका कपडामा भन्सार महसुल २० प्रतिशतसहित मूअकर तथा गन्जी–कट्टुमा पनि त्यही दरको राजस्व कायम रहँदा कपडा किन्न ग्राहक पारी जाने र त्यही सामानको अनियन्त्रित अवैध आयतले स्थानीय बजारमा कारोबार ठप्प हुँदा व्यवसायी पलायन हुँदै गएको बताए ।

सरकारले चालु वर्षदेखि सुती कपडामा १० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट लागू गरेपछि एक मिटर कपडा किन्नपनि उपभोक्ता पारी नै पुग्ने गरेको उनको भनाइ छ । त्यतिमात्र होइन कपडाको तस्करी पनि झन् मौलाउँदा बजार प्रभावित भएको उनको गुनासो छ ।

आत्मनिर्भर भएका वस्तुको अवैध आयातमा कडाइ गरेर आत्मनिर्भर नभएका वस्तुको आयात शुल्कलाई परिमार्जन गरेर बजार सुहाउँदो बनाउन सरकारलाई उद्योगी व्यवसायीले पटक पटक सुझाव दिए पनि सरकारले तस्करलाई संरक्षण गरेको विराटनगरका उद्योगी व्यवसायीको आरोप छ ।

स्थानीय बजारलाई चलायमान बनाउन निजी क्षेत्रले सरकारलाई जतिसुकै सुझाव र सल्लाह दिए पनि सुनवाई नभएको व्यवसायीको गुनासो छ । संघका उपाध्यक्ष विकास वेगवानीले भने ,’सरकारको नीतिकै कारण उपभोग्य सामान किन्न उपभोक्ता सीमापारी जान बाध्य हुँदा स्थानीय बजार सुनसान भएर व्यवसायी भाग्ने स्थिति आएको छ ।’

अहिले सबैभन्दा बढी अवैध आयात भएको वस्तु चिनी भएको व्यापारी बताउँछन् । नेपालमा चिनीको वार्षिक खपत ३ लाख टन छ । तर नेपालका उद्योगको कुल उत्पादन क्षमता भने ८० हजारदेखि १ लाख टन मात्र हो । बाँकी चिनी भारतबाट अवैध रूपमा आयात हुने गरेको व्यवसायीको दाबी छ ।

चिनीकै कारण उपभोक्ता पारी पुगेर चिनीसँगै आवश्यक सवै उपभोग्य वस्तु बोकेर आउने चलन बढेसँगै स्थानीय बजारमा ग्राहकको खडेरी परेको व्यवसायी बताउँछन् ।

सरकारले चिनीको आयातमा कडाइ गरेको छ । चिनी आयात गर्दा भन्सार महसुल ४० प्रतिशतसहित मूअकर पनि तिर्नुपर्छ । चिनी आयात गर्दा लाग्ने भन्सार महसुल र मूअकरको असर ५५ प्रतिशत हुन्छ । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले क्लिकमान्डुसँग भने, ‘यति धेरै राजस्व तिरेर आयात सम्भव नभएपछि चिनीसँगै अन्य उपभोग्य वस्तुको अवैध आयात संगठित रुपमा मौलाउँदा स्थानीय बजार सुक्ने नै भो ।’

नेपाली उपभोक्तालाई चिनीको आवश्यकता तस्करीकै चिनीले धानेको छ । नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो ९५ देखि सय रुपैयाँ छ । सीमापारिका बजारमा ६५ रुपैयाँमा पाइन्छ । किलोमा झण्डै ३५ रुपैयाँ मूल्य अन्तरका कारण चिनीको अवैध आयात मौलाएको राठीको भनाइ छ ।

‘विराटनगरबाट ३० रुपैयाँ सिटी भाडा तिरेर चिनी किन्न जोगवनी पुग्ने उपभोक्ताले जिरा, लत्ता कपडा, सावुन, खानेतेल लगायतका आवश्यक दैनिक उपभोग्य वस्तुसँगै बोकेर आउछन्,’ राठीले भने,’अनि विराटनगरका पसलमा ग्राहक नै नभएपछि व्यवसायी पलायन हुनुको विकल्प रहेन ।’ यसकै कारण विराटनगर अधिकांश व्यापारी सटर बन्द गरेर धमाधम पलायन हुन थालेको पाइएको उनले बताए ।


विनोद भण्डारी