स्वार्थको द्वन्द्व रोक्न बिमा प्राधिकरणले माग्न थाल्यो अन्तिम लाभग्राहीको विवरण



काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीका संस्थापक शेयरधनीको विस्तृत जानकारी माग गर्न सुरु गरेको छ ।

प्राधिकरणले कम्पनीको नामबाट बिमा कम्पनीमा शेयर लगानी गर्नेहरुको अन्तिम लाभग्राही सम्बन्धी जानकारी माग गर्न सुरु गरेको हो ।

सिमित व्यक्तिहरुले विभिन्न कम्पनीहरु स्थापना गर्दै बीमा कम्पनीमा शेयर लगानी गर्ने क्रम बढेको भन्दै उजुरी परेपछि प्राधिकरणले कम्पनीको अन्तित लाभग्राही सम्बन्धी जानकारी माग माग्ने थालेको प्राधिकरणका एक अधिकारी बताउँछन् ।

‘सुरुमा प्राकृतिक व्यक्तिको नाममा कम्पनी स्थापना गर्ने त्यसपछि उक्त कम्पनीले अर्को कम्पनी खोल्ने, अर्को कम्पनीले फेरी नयाँ कम्पनी खोल्दै बिमा कम्पनीको संस्थापक शेयर खरिद गर्ने क्रम बढेको छ,’स्रोतले भन्यो, ‘कम्पनीको संस्थापक शेयरधनी हेर्दा छुट्टाछुट्टै कम्पनी देखिन्छन् तर लाभग्राही एउटै व्यक्ति हुने गरेको देखिएको छ । जसले गर्दा कम्पनीको नामबाट शेयर लगानी गर्नेहरुको हकमा अन्तिम लाभग्राही खुलाउन भनिएको हो ।’

बिमा कम्पनीमा केही व्यक्तिहरुले बिभिन्न कम्पनीमा लगानी गर्न तथा एउटै कम्पनीमा पनि आफ्नो स्वामित्व बढाउन व्यक्तिको नाम भन्दा पनि कम्पनीको नामबाट शेयर लगानी गर्ने गरेका छन् ।

यस्तो अभ्यासले कम्पनीको व्यवसायीक रुपमा सञ्चालन नहुने तथा छद्म नाममा कम्पनीमा लगानी गर्नेहरुले हस्तक्षेप गर्ने स्रोतको भनाइ छ ।

‘एउटै व्यक्तिले जिवन बिमा, निर्जिवन बिमा र लघु बिमा कम्पनीमा लगानी गर्ने देखिएको छ,’ प्राधिकरणका अधिकारीहरु भन्छन्, ‘एक जना प्राकृतिक व्यक्ति अन्तिम लाभग्राही हुने गरी शेयरलगानी गर्न पाउने सीमा तोक्नु पर्छ । त्यसका लागि अन्तिम लाभग्राही सम्बन्धी जानकारी मागिएको हो ’

हाल बैंकहरुमा एकाघर व्यक्तिले अन्तिम लाभग्राही हुने गरी बढीमा १५ प्रतिशतसम्म शेयर लगानी गर्न पाउँछन् ।

अन्तिम लाभग्राही सम्बन्धी प्रभावकारी नहुँदा सबै संस्थामा एउटै व्यक्तिका एकाघरका परिवारले घुमाएर कम्पनी नियन्त्रण गर्ने अभ्यास छ । जसले संस्थागत सुशासन विकासमा गम्भिर प्रश्न सिर्जना गरेको जानकारहरु बताउँछन् ।

‘अब नेपाल धितोपत्र बोर्डले पनि रेटिङ कम्पनी, योग्य संस्थागत लगानीकर्ता, भेन्चर क्यापिटल, वा अन्य लाइसेन्स दिनुअघि अन्तिम लाभग्राहीको जानकारी लिन सुरु गर्यो संस्थागत सुशासन बढाउन सहयोग गर्ने थियो,’ धितोपत्र बोर्डका एक अधिकारी भन्छन्, ‘अन्तिम लाभग्राहीको जानकारी नहुँदा हाम्रो देशमा स्वार्थको द्वन्द्व बढेको हो । ’


क्लिकमान्डु