कोशीमा पेट्रोलियम सवारी साधनको व्यवसाय संकटमा: शोरुम खाली, ईभीमा आकर्षण

वैकल्पिक व्यवसायको खोजीमा व्यवसायी



विराटनगर । कोशी प्रदेशमा डिजल र पेट्रोलबाट चल्ने सवारी साधनका व्यवसायी संकटमा पर्न थालेका छन् । आर्थिक शिथिलता, अचाकली भन्सार महसुल अनि न्यून भन्सार महसुलमा आयात हुने विद्युतीय गाडीको प्रभावले यी सवारी साधनको बिक्री गर्ने कम्पनीका अधिकांश बिक्रीकक्ष खाली देखिन्छन् ।

पछिल्लो समय डिजल र पेट्रोलबाट चल्ने अटो व्यवसाय संकटमा पर्न थालेको व्यवसायी बताउँछन् ।

व्यवसायीका अनुसार तीनवर्ष पहिलाको तुलनामा अहिले व्यवसाय १० प्रतिशत पनि छैन । खस्कदो व्यापारकाबीच पनि प्रतिष्ठित कम्पनीका बिक्रेताहरुले विराटनगरमा दसैं तिहारका लागि आर्कषक अफर पनि सार्वजनिक गर्न सकेका छैनन् । ति कम्पनीका बिक्रेताहरु सवारी सधानको कुम्भमेला नाडा अटो शोले निर्धारण गर्ने प्याकेजमा आफूहरु केन्द्रित हुने बताउँछन् ।

डिजल र पेट्रोलमा अधारित अटो व्यवसाय नै पलायन हुने र वैकल्पिक व्यवसाय खोज्ने स्थितिमा व्यवसायी पुगेका छन् । विराटनगरमा टोयोटा कम्पनीको कारको आधिकारीक बिक्रेता एवं नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले सवारी साधन खरिदका लागि मानिसहरुसँग पैसा नभएको र बैंकले किफायति व्याजदरमा लगानी नगरेका कारण गाडीको बिक्री कम भएको बताए ।

कोशी प्रदेशका पिच र ग्राभेल सडकमा टोयोटा, सुजुकी, एमजी, हुण्डाई, भोक्सवागन, रेनो, टाटा, महेन्द्रा लगायतका कम्पनीका कार गुड्छन् । ‘पछिल्लो तीन वर्षयता ति कुनै पनि कम्पनीका कारको व्यापार १० प्रतिशत पनि छैन’ उनले भने । टोयोटा कम्पनी दसैं तिहारका लागि अफर सार्वजनिक गर्ने तयारीमा नरहेको उनले बताए ।

विद्युतीय कारको प्रभाव बढ्दा डिजल र पेट्रोलमा अधारित कार (आईसीई)को बजार शून्य प्राय: छ । महेन्द्रा कम्पनीका बिक्रेता किरण भट्टराईले भने, ‘जग्गाको कारोबार चलायमान नभएसम्म र बैंकले स्थायी ब्याजदरमा लगानी नगरेसम्म अटो व्यवसाय लयमा फर्कने स्थिति छैन ।’

आईसीई कारको बजार तीन वर्ष पहिलाको तुलनामा अहिले ९० प्रतिशतले घटेको छ । ‘आर्थिक मन्दी छँदै छ आईसी कारको कारोबार घटनुको अर्को कारण विद्युतीय कारले बजार आक्रमण सुरु गर्नु पनि हो,’ भट्टराईले भने, ‘कोशीमा पछिल्लो एक वर्षदेखि विद्युतीय कारले बजार आक्रामण सुरु गरेको छ । आईसी कारको तुलनामा विद्युतीय कारको भन्सार महसुल पनि कम छ । त्यसका कारण मूल्यमा पनि राम्रो अन्तर छ ।’

आर्थिक मन्दीका कारण उपभोक्ता सस्तो मूल्यमा पाइने ईभी तिर आर्कषित हुँदा पेट्रोलियम कारको भविश्य संकटमा परेको देखिन्छ ।

पेट्रोलियम सवारी साधन लामो दूरीमा मात्र देखिने स्थिती छ । निजी कार प्राय ईभी देखिन थालेको छ । नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालका निवर्तमान उपाध्यक्ष सुभाष आचार्यले भने ‘आर्थिक मन्दीको समयमा सस्तो मूल्यमा पाइने ईभीले आईसीई कारलाई विस्थापित गर्दै गरेको अवस्था छ ।’

ढुवानी र लामो दूरीमा चल्ने गाडीमा आईसीको एकाधिकार छ । निजीतर्फ ईभीको वर्चश्व हुने देखिएको छ । आचार्यले भने, ‘यसबेला कोशीमा ईभीको बजार ७० प्रतिशत र आईसीको बजार ३० प्रतिशत छ ।’

भन्सार महसुलका कारण पनि ईभी सस्तो मूल्यमा पाइने हुँदा सर्वसाधारणको नजर त्यता गएको छ । पेट्रोलियम कारको भन्सार महसुल ३ सय प्रतिशतसम्म छ ।

ईभीको भन्सार महसुल २० देखि ४० प्रतिशतसम्म छ । आचार्यले भने- ‘अढाई करोड पर्ने पेट्रोलियम कार जस्तै फिचर र सुविधा भएको ईभी ६०-६५ लाखमा पाइन्छ । त्यसैले ईभीले पेट्रोलियम गाडीलाई बजारबाट विस्थापित गर्न सुरु गरेको अवस्था छ ।भारतमा राजस्वमा खासै फरक नहुँदा ईभीको तुलनामा पेट्रोलियम कारको दबदबा नै छ । नेपालमा भन्सार महसुलमा ठूलो खाडल हुँदा ईभीको रजगज बढ्दो छ ।’

सरकारले अघिल्लो आर्थिक वर्षमा कारको आयात बन्द गर्‍यो । बैंकले पनि लगानी गरेनन् । त्यस बेलादेखि आईसीई कारको बजार घटन सुरु गर्‍यो । कोशी अटो मोबाइल्स एशोसिएशनका निवर्तमान अध्यक्ष समेत रेहका आचार्यले भने,’जब आयात खुला भयो तब ईभीले आईसीलाई आक्रामण गर्‍यो ।’

उनी ईभीले निजी र माइक्रोबसमा आक्रामण नै गरको जस्तो भएको बताए । यसबेला लामो दूरीको दिबा सेवामा ईभीका माइक्रो र राम्रो अनि सटकट रुटमा ईभीका साना गाडीको बाक्लो उपस्थिति देखिएको छ । उनले भने,’ आईसीई कार नयाँको बिक्री नै छैन । पुराना खरिदकर्ताले पनि त्यसलाई बिक्री गरेर ईभी किन्न सुरु गरेका छन् ।’

कोशी प्रदेशमा वीरगञ्ज, भैरहवा र काठमाडौंबाट आइसीई र विद्युतीय इन्जिनका चार र दुई पाङग्रे सवारीका साधन आउने गरेको छ । व्यवसायीका अनुसार विराटनगर र काँकरभिट्टा नाकाबाट आयात हुँदैन । यो प्रदेशमा हुण्डाई, सुजुकी, किया, टोयटा कम्पनीका डिजल पेट्रोलका कम्तीमा ३० लाख देखि ५ करोड मूल्य सम्मका कार गुडदाँ यसबिला किङलङ, बिवाईडी, सेरेज, एमजी, डिपल लगायतका कम्पनीका ३० लाखदेखि दुई करोड मूल्यका विद्युतीय सवारी सडकमा देख्न सकिन्छ ।

कोशी प्रदेशको २४ हजार ७ सय २४ किलोमिटर सडकमा साना ठूला गरेर १० लाख ७९ हजार ७ सय १७ वटा सवारीका साधन गुड्छन् ।

निजी र व्यवसायिक प्रयोजनमा विद्युतीय गाडीले डिजल र पेट्रोलबाट चल्नेको एकाधिकार क्रमिक रुपमा तोड्ने क्रम सुरु हुँदा आईसीई कारको व्यवसाय संकटमा पर्दै गएको प्रदेश अटोमोवाइल डिलर एशोसिएसनका अध्यक्ष सञ्जय श्रेष्ठले बताए । उनकाअनुसार आईसीई अटोको व्यवसाय गर्दै आएका पुराना व्यवसायी यसबेला वैकल्पिक व्यवसायको खोजीमा छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार कोशी प्रदेशको करिब २४ हजार ७ सय २४ किलोमिटर पक्की, ग्राभेल र कच्ची सडकमा ५ लाख ६४ हजार ४ सय १५ वटा मोटरसाइकल, २४ हजार ३ सय ७८ वटा ठूला गाडी, एकलाख २९ हजार ३ सय कारजीप र ३ हजार १ सय ७१ वटा मेशिनरी साधन गुड्ने गरेका छन् । तीमध्ये अहिले ईभीको प्रभाव शून्य दशमलव ५ प्रतिशतको हाराहारीमा रहेको श्रेष्ठको अनुमान छ ।


विनोद भण्डारी