विराटनगरको लावाघाट र दागादिगी वस्ती नै मिटर ब्याजबाट पीडित: ६ जनाले पाए जग्गा फिर्ता

१ लाख ऋण लिनेले ८ लाख बुझाउँदा पनि अझै २० लाख तिर्न बाँकी !



विराटनगर । भारतीय सीमानासँग जोडिएको विराटनगर महानगरपालिका-१८ लावाघाटकी ६५ वर्षीय लक्ष्मी साहले स्थानीय सुनिल साहसँग आठ वर्ष पहिला घरसहित १७ धुर जग्गा कपाली तमासुक धितो राखेर सयकडा तीन रुपैयाँ ब्याजमा १ लाख रुपैयाँ कर्जा लिएकी थिइन् ।

सुनिलले ऋण दिएको रकम १ लाखको ९ गुणा बढी ९ लाखको कपाली तमसुक गराए । लक्ष्मीका छोरा नारायणले कर्जा लिएको एक वर्षपछि दुई लाख सुनिललाई बुझाए । तर साहु सुनिलले अझै ७ लाख रुपैयाँ बाँकी रहेको भन्दै घडेरी र कपाली तमसुक फिर्ता गरेनन् ।

त्यसपछि लक्ष्मी विराटनगर महानगरपालिकाको कानुन शाखा हुँदै गत फागुनमा सुनिल साहविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा न्याय माग्दै पुगिन् । यो विषयमा मोरङ प्रशासनमा चारपटक छलफल भयो । पाँचौ पटकको छलफलमा गत आइतवार सुनिलले लक्ष्मीलाई जमिन फिर्ता गरे । त्यसपछि लक्ष्मी दंग परिन् । ‘गुमीसकेको जमिन सरकारले फिर्ता गराई दियो,’ उनले भने।

विराटनगर-१८ का ५३ वर्षीय सुनिल साह यहाँका कहलिएका मिटर ब्याजी हुन्। उनको नाममा त्यहाँको लावाघाट र दागादिगी वस्ती आतंकित छ । ति मध्ये लावाघाटकी लक्ष्मीसहित सुमित्रादेवी मण्डल, श्यामसुन्दर साह, मिनादेवी मण्डल र दागादिगीकी पुनम मण्डलले मोरङ प्रशासनमार्फत जग्गा फिर्ता पाएका छन् । अन्य पीडित न्यायको पर्खाइमा छन् ।

जग्गा फिर्ता पाउने मध्येका एक हुन् त्यही लावाटोलीका ५६ वर्षीय श्यामसुन्दर साह । उनले ५ कठ्ठा ६ धुर जग्गा सुनिललाई राजीनामा पास गरेर १४ वर्ष पहिला १ लाख लिएका थिए । उनले पटक पटक गरेर सुनिललाई ७ लाख ७५ हजार रुपैयाँ बुझाउँदा पनि सुनिलले अझै २० लाख तिर्न बाँकी रहेको भन्दै जग्गा फिर्ता दिएका थिएनन् ।

जिल्ला प्रशासन कार्यालयको छलफलमा सुनिलले थप १ लाख पाएपछि १४ वर्ष अगाडि राजीनामा पास गरेको श्याम सुन्दरको जग्गा फिर्ता गरिदिए ।

यसैगरी मिटरब्याजी साहले ऋण दिएको रकम समयमै नदिएको भन्दै दगादिगीकै दिलिप कुमार अमातको १० कठ्ठा जग्गा बिक्री गरिदिए । दिलिपले चार वर्ष अगाडि ६ लाख रुपैयाँ ऋण लिएका थिए । ६ लाखको तीन लाख रुपैयाँ बुझाएका थिए । ढिलो कर्जा तिरेको भन्दै दिलिपकी पत्नी अनिताको नाममा रहेको किता नं. ३१७ र ३१६ को १० कठ्ठा जग्गा बेचिदिए । छलफलमा सुनिलले दिलिपलाई १ लाख २५ हजार रुपैयाँ फिर्ता गरिदिएका छन् ।

यसैगरी रमानन्द मण्डलले पत्नी पुनम मण्डलको नाममा रहेको ४ कठ्ठा जग्गा सुनिलसँग धितो राखेर ६ वर्ष अगाडि १ लाख ८० हजार लिए । मण्डलले १ लाख ८० हजारको साँवा ब्याजसहित सुनिललाई बुझाए तर सुनिलले अझै ८ लाख तिर्नुपर्ने अड्डी राखे । छलफलमा ३ लाख ५० हजार दिएपछि जग्गा फिर्ता आएको उनले क्लिकमान्डुलाई बताए ।

जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने पीडितको मात्रै सुनिलले जग्गा फिर्ता गरेका हुन् । उनीहरुजस्तै सुनिल साहको मिटर ब्याजको फन्दामा विराटनगर १८ लावाटोली र दिमादिगीका दुई दर्जन बढी परिवार रुमलिएको स्थानीयको भनाइ छ ।

दमादीगी वस्तीका नारायण साहले उनै सुनिलसँग तीनवर्ष पहिला ६ कठ्ठा जमिन धितो राखेर ७ लाख रुपैयाँ ऋण लिएका थिए । उनले सुनिललाई हालसम्म २१ लाख ७ हजार रुपैयाँ तिरीसके तर उनले अझै धितो वापतको जमिन फिर्ता पाएका छन् ।

त्यहीँका ६८ वर्षीय महेशलाल मण्डलले पनि सुनिलसँग २०६८ सालमा चार कठ्ठा जग्गा धितो राखेर १ लाख ६० हजार रुपैयाँ ऋण लिए ।

उनले अहिलेसम्ममा सुनिललाई ४ लाख ७० हजार रुपैयाँ तिरिसके । अझै १९ लाख ९३ हजार रुपैयाँ तिर्न बाँकी रहेको भन्दै सुनिलले धितो राखेको जमिन फिर्ता दिएका छैनन् । उक्त रकम नतिरेसम्म धितो राखेको जमिन फिर्ता नदिने भन्दै सुनिलले धम्की दिनेगरेको महेशको गुनासो छ ।

आमा बुवाको काजक्रिया गर्न १० कठ्ठा जमिन सुनिलसँग धितो चार वर्ष पहिला दुई लाख रुपैयाँ ऋण लिएका त्यहीँका दिलिप अमात अहिले सडकमा पुगेका छन् । दुईलाख ऋणको तीनलाख रुपैयाँ दिलिपले तिरी सके । तर सुनिलले अझै २२ लाख तिर्न बाँकी रहेको भन्दै दिलिपको नाममा रहेको धितो नै बिक्री गरेको खुलासा भएपछि उनी यसवेला सडकमा भौतारिँदै छन् ।

आफ्नो नाममा रहेको जग्गा थाहै नदिई सुनिलले बिक्री गरेको पत्तो पाएपछि जग्गा फिर्ता गराईदिन दिलिप स्थनीय जनप्रतिनधिसमक्ष पुगे । त्यहाँबाट कुनै पार नलागेपछि उनी विराटनगर महानगरपालिकाको कानुन शाखामा पुगेर कानुन शाखाका प्रमुख शारदा थपलियासँग मिटरब्याजले उठिवास लगाएको भन्दै आफ्नो जमिन फिर्ता गराइदिन हारगुहार गर्दै थिए ।

स्थानीय रमानन्द मण्डलले ४ कठ्ठा जग्गा सुनिलसँग धितो राखेर ६ वर्ष अगाडि २ लाख रुपैयाँ लिए । उनले अहिलेसम्म सुनिललाई १ लाख ८० हजार तिरीसके । तर ८ लाख रुपैयाँ तिरेमात्र धितो जमिन फिर्ता गर्ने सुनिलले बताउँदै आएको मण्डलको दुखेसो छ ।

नारायाण, महेशलाल, दिलिप र रमानन्द मात्र होइन, विराटनगर १८ को सीमावर्ती यो दमागिदी वस्ती नै मिटर ब्याजीबाट पीडित छन् । वस्तीमा सयभन्दा बढी घर परिवार छन् । ति अधिकांश सुनिल मिटर ब्याजीबाट पीडित हँदै अधिकाँश सडकमा पुगेको स्थानीय नारायण साहको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा हालसम्म ठाडो उजुरीसहित ७ सय भन्दाबढी पीडितका उजुरी परेका छन् । ति मध्ये १ सय १० वटा प्रशासनमै मिलापत्र भएका छन् । धेरैले जमिन र रकम नै फिर्ता पाएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार साहका अनुसार ९० वटा निवेदनमा दुवै पक्षबीच सहमति हुन नसकेपछि अदालत पठाइएको छ । ‘कतिपयमा उजुरीमा दुई पक्षबीच मिलापत्र भएको छ,’ उनले भने ‘विचाराधीन निवेदन साताअघि जिल्ला प्रहरीमा पठाएका छौं ।’

मोरङ प्रशासनमा दर्ता भएका उजुरीलाई आधार मान्ने हो भने पीडितले साँवा र ब्याज बापत १४ करोड ९१ लाख ७२ हजार ७ सय रुपैयाँ बढी रकम तिर्नुपर्ने छ र त्यसका लागि मिटरब्याजीले दबाब दिइरहेको निवेदनमा निवेदनमा उल्लेख छ ।

ति मध्ये १९ जना पीडितले १० लाख लिएको रकमको ३५ लाखसम्म दिनुपर्ने छ । ३५ लाखभन्दा बढी तिर्नुपर्ने १९ जना पीडितले ३ करोड २९ लाख ८४ हजार ७ सय रकम दिनुपर्ने मिटरब्याजीको दबाब छ । यसैगरी २९ जना पीडितले साँवा र ब्याज तिरीसक्दा पनि अझै ७ करोड ३७ लाख ५ हजार तिनुपर्ने देखिएको मोरङ प्रशासनको भनाइ छ ।


विनोद भण्डारी