त्यसपछि मैले राष्ट्र बैंक छोडेँ …



जागिर खान जाँदा जहिल्यै बिहानैदेखि फुर्तिलो भएर जानुपर्छ भन्ने मेरो मान्यता छ । असन्तुष्ट भएर जागिर खायो भने त्यसले आफूलाई पनि नोक्सान गर्छ र संस्थालाई पनि बिगार्छ । मैले सहायकबाट राष्ट्र बैंकको सेवा सुरु गरी विशिष्ट श्रेणीसम्मको पदमा पुगेँ ।

डेपुटी गभर्नर राष्ट्र बैंकका विशिष्ट श्रेणीको अधिकृत अर्थात् कार्यकारी निर्देशकमध्येबाटै बनाउनुपर्छ भन्ने राष्ट्र बैंक ऐनमा व्यवस्था छ । म वरिष्ठतम् कार्यकारी निर्देशक थिएँ । आफूलाई डेपुटी गभर्नरका लागि लायकको पनि ठान्थेँ । मलाई लाथ्यो, मजस्तो काबिल अर्को को छ ? मैलेजति राम्रो कार्यसम्पादन कसले गरेको छ ?

कृष्णबहादुर मानन्धरजी नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त भएपछि मैले गभर्नर विजयनाथ भट्टराईज्यूलाई त्यसैबेला भनेको थिएँ, ‘अर्कोपटकको डेपुटी गभर्नर नियुक्त हुँदा डेपुटी गभर्नर पाए बस्छु, नत्र ९ महिनामा छाडेर हिँड्छु ।’

डेपुटी गभर्नरको पद यस्तो समयमा खाली भयो, जतिखेर राजाले भर्खर ‘कू’ गरेर शासनसत्ता हातमा लिएका थिए ।

मलाई कस्तो लाग्ने भने मजस्तो सक्षम मान्छे त राष्ट्र बैंकमा कोही छैन । यति कुरा आफूलाई त लाग्ने नै भयो । त्यसबाहेक म वरीयतामा पनि सबैभन्दा माथि थिएँ । त्यसैले डेपुटीका लागि सबैभन्दा योग्य र सर्वाधिक हकदार मै हुँ भन्ने मेरो बुझाइ थियो ।
गभर्नर भट्टराईले एक दिन आफैं कुरा निकाल्नुभयो, ‘ल राजन, ठाउँ छ । तपाईं दरबार-सरबारतिर कुरा मिलाउनुहोस्।’

मेरो जवाफ थियो, ‘दरबारको उम्मेदवार भएर डेपुटी गभर्नर बन्नु छैन । एउटा रिक्त पदको लागि दुईजनाको सिफारिस गर्नुपर्छ। एक नम्बरमा दरबारले भनेको मान्छे राख्नूस् । दोस्रोमा मेरो नाम राख्नूस् । बस्, यत्ति भए मेरो कामको कदर भएको ठान्नेछु ।’

उहाँले सहजै भन्नुभयो, ‘त्यो त म गरौंला नि ।’

यति मात्र होइन, मेरो छातीमा हात राखेर उहाँले विशेष जोडपूर्वक थप्नुभयो, ‘दुई नम्बरमा त तपाईंको नाम पक्का ।’

सिफारिस गर्ने बेलामा त मेरो नामै परेनछ । शंकर शर्मा राष्ट्रिय योजना आयोगमा हुनुहुन्थ्यो । उहाँले आश्चर्य प्रकट गर्नुभयो, ‘राजन, तिम्रो त नामै छैन ।’ मर्यादाक्रममा मभन्दा मुनिका सुरेन्द्रमान प्रधान र वीरविक्रम रायमाझीको नाम सिफारिसमा परेछ ।

त्यसपछि मलाई जागिरमा बसिरहनै मन लागेन । भोलिपल्ट गभर्नरको कार्यालय गएँ र भनेँ, ‘गभर्नरसाहेब, मलाई धेरै गुन लगाउनुभयो । अब एउटा गुन लगाइदिनुहोस् । मेरो राजीनामा स्वीकृत गर्नुहोस् ।’

यति भनेर राजीनामा छाडेर हिँडें । जुन ठाउँमा कामको कदर हुँदैन र आत्मसम्मान रहँदैन भने त्यो ठाउँमा बसिरहनुहुँदैन भन्ने मेरो जीवनदर्शन नै हो । न मलाई राम्रो हुने, न संस्थालाई राम्रो हुने । मैले तीन हप्ताभित्र आफ्ना सबै जिम्मेवारी व्यावसायिक रूपमा हस्तान्तरण गरेर निस्किएँ ।

गर्भनर विजयनाथ भट्टराईले आफूले दिएको वचनविपरीत मेरो नाउँ सिफारिस नगर्नाको कारण केही देखिँदैन । तर एकपटक आईएमएफका प्रतिनिधि सुखबिन्दर सिंहले पनि मप्रति गभर्नर भट्टराईको दृष्टिकोण राम्रो छैन भनेर सुनाएका थिए । मेरो काममा गभर्नरको साथ र पत्यार छैन भन्ने उनीहरूको बुझाइ रहेछ ।

त्यो थाहा पाएपछि गभर्नरको घरै गएर मैले जस्ताको तस्तै कुरा सुनाएर ऱ्याखऱ्याख्ती पारेको थिएँ, ‘तपाईंले त आईएमएफका प्रतिनिधिसँग यसले मलाई ओभरस्याडो गर्छ भन्नुभएछ नि ? मलाई आईएमएफकै मान्छेले भन्यो। म डेपुटी गभर्नर भएँ भने तपाईंलाई ओभरस्याडो गर्छ भन्ने कुरा विश्वास लाग्यो ?’

उनको लाचार उत्तर थियो, ‘सबैले त्यसै भन्छन् ।’ त्यसपछि मसँग भन्ने कुरा केही बाँकी रहेन ।

मलाई हेरेर कानुनै संशोधन

नेपाल राष्ट्र बैंकको जागिरबाट मेरो मन मरिसकेपछि मैले अब उप्रान्त उच्च अध्ययन गर्ने र शिक्षा क्षेत्रमा लाग्ने विचार गरी काठमाडौँ विश्वविद्यालयमा एमफिलमा भर्ना भएँ । यसैका निम्ति राष्ट्र बैंकबाट असाधारण बिदा पनि लिएँ । त्यसबेला राष्ट्र बैंकको नियमानुसार कुनै कर्मचारीले असाधारण बिदा लिएमा त्यस्ता बिदाको अवधिलाई सेवाको अवधिमा गणना हुँदैनथ्यो ।

मैले यस्तो बिदा लिएपछि ‘यो राजन फेरि राष्ट्र बैंक फर्किन्छ र पछिको हुने राजनीतिक नियुक्तिमा चलखेल गर्छ’ भन्ने लागेर हो वा संयोग त्यस्तै परेर हो, राष्ट्र बैंकको कर्मचारी नियमावलीमा संशोधन गरी असाधारण बिदा लिएको अवधिलाई सेवा अवधिमा गणना गर्ने व्यवस्था भयो ।

मैले राष्ट्र बैंकको सेवाबाट मिति २०६३ पुस १६ मा राजीनामा दिनुअघि असाधारण बिदासमेत स्वीकृत गराई सिटिजन्स बैंक स्थापना गर्ने प्रोजेक्टमा काम गर्न थालेँ । सिटिजन्स बैंक सञ्चालनमा आउनुअघि नै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा संशोधन भई राष्ट्र बैंकको विशिष्ट श्रेणीका अधिकृतले सेवाबाट अवकाश पाएको एउटा निश्चित अवधिसम्म वाणिज्य बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था भयो ।

यो पनि एउटा संयोग हो वा मलाई हेरेर कानुन संशोधन गरियो, यकिन भन्न सक्ने अवस्था छैन ।

२०६३ पुस १६ गते राष्ट्र बैंकको सेवाबाट राजीनामा दिई सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा २०६३ पुस १७ गते नियुक्ति लिएँ । विद्यमान कानुनमा राष्ट्र बैंकका अन्य अधिकृतहरूको लागि समेत राष्ट्र बैंकको सेवाबाट अवकाश लिएपछि एउटा निश्चित अवधिसम्म बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाइने व्यवस्था गरिएको छ ।

(नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक एवं सिटिजन्स बैंकका पूर्वकार्यकारी प्रमुख राजन सिंह भण्डारीको शनिबार विमोचित ‘आफैंलाई नियाल्दा’ पुस्तककाे अंश )


क्लिकमान्डु