चिनियाँ भूमिगत बैंकिङ सञ्‍जालले मेक्सिकन ड्रग्स गिरोहलाई सघाएको अमेरिकी आरोप



एजेन्सी । चिनियाँ ‘अन्डरग्राउन्ड बैंकिङ’ नेटवर्कले मेक्सिकोको शक्तिशाली सिनालोआ ड्रग्स तस्करी गिरोहलाई मनी लन्ड्रिङ र अन्य अपराधमा सहयोग गरेको भन्दै अमेरिकाले आरोप लगाएको छ । सिनाओला मेक्सिकोमा सक्रिय र शक्तिशाली ड्रग्स तस्करी गिरोह हो ।

अमेरिकाको न्याय विभागले २४ जनाविरुद्ध विभिन्न अपराधको मुद्दा दायर गरेको छ । जसमा नशालु पदार्थ वितरणको गतिविधि पनि सामेल छ । कानुन प्रवर्तक अधिकारीहरुले उनीहरुको साथबाट झण्डै ५० लाख अमेरिकी डलर आम्दानी साथै हतियारहरु तथा सयौं पाउन्ड कोकिनसहित गोलीहरु पनि बरामद गरेका छन् ।

अमेरिकी न्याय विभागले अनुसन्धानको क्रममा उक्त समूहलाई चिनियाँ सहायता रहेको पत्ता लागेको जनाएको छ । अमेरिकाले सिनाओला गिरोहमाथि देशमा हेरोइनभन्दा पनि ५० गुणा शक्तिशालि सिन्थेटिक ओपिओइड फेन्टेनलको बाढी नै ल्याएर घातक महामारी निम्त्याउन सक्ने काममा सहयोग गरिरहेको आरोप लगाएको हो ।

अमेरिकी न्याय विभागको आशंका के छ भने, यस क्रममा सिनालोआ गिरोहका सदस्यहरु र चिनियाँ भूमिगत एक्सचेन्जहरुबीच नशालु औषधिहरुको ५० मिलियन डलरभन्दा धेरै रकम स्थानान्तर (मनी लन्ड्रिङ) गरिएको थियो ।

उक्त भूमिगत एक्सचेन्जको प्रयोग गरेर सिनालोआका सञ्चालकले आफ्नो अवैध धन अमेरिकाबाट मेक्सिको लैजाने तयारी गरिरहेको आरोप छ । बेइजिङले भने अमेरिकामा मनी लन्ड्रिङका संदिग्धहरुलाई पक्राउ गरिएको र यसबारे अमेरिकासँग सहकार्यको पुष्टि गरेको छ ।


क्लिकमान्डु