संकटमा ४० अर्बको ठेक्का पाएको रमन कन्स्ट्रक्सनः ११ अर्ब ऋणको रेटिङ रद्द



काठमाडौं । सरकारकाले समयमै भुक्तानी नदिँदा ठूलामध्येको एक निर्माण व्यवसायी (ठेकेदार कम्पनी) रमन रमन कन्स्ट्रक्सन गम्भीर आर्थिक संकटमा फसेको छ । सन् २०२१ मा ४० अर्ब रुपैयाँको ठेक्का पाएको कम्पनी सरकारले भुक्तानी नदिँदा टाट पल्टिने अवस्थामा पुगेको हो ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सन् २०२२ को अप्रिलमा रमन कन्स्ट्रक्सनको १० अर्ब ९४ करोड रुपैयाँ बराबरको कर्जा सीमाको रेटिङ गरेको थियो ।

इक्रा नेपालले २०२३ को जनवरीमा रमन कन्स्ट्रक्सनले रेटिङ एजेन्सीलाई सहयोग नगरेको बताउँदै ‘इस्यूर नट कर्पोरेटिङको रेटिङ’ दिएको थियो । पटक पटक फलोअप गर्दा पनि कम्पनीले कुनै सहयोग नगरेको भन्दै सन् २०२४ को मेमा इक्राले रमन कन्स्ट्रक्सनलाई कारबाही गर्दै रेटिङ खारेज गरेको छ ।

कानून अनुसार बैंकिङ क्षेत्रबाट ५० करोड रुपैयाँभन्दा ऋण लिने कम्पनीले अनिवार्य रेटिङ गराउनुपर्ने व्यवस्था छ । यो निर्माण कम्पनीले नियमितरुपमा बैंकहरुको कर्जा भुक्तानी गर्न सकिरहेको छैन ।

‘धेरै फलोअपहरूको बावजुद मूल्याङ्कन जानकारीको लागि रकम कन्स्ट्रक्सनबाट कुनै सहयोग भएन । एक अवधिका लागि मूल्यांकन फिर्ता गर्न ६ महिनाको समय दिँदा पनि कम्पनीले कर्जाको जोखिम परिवर्तन भएको कुनै जानकारी कुनै जानकारी नदिएपछि रेटिङ फिर्ता लिइएको हो,’ इक्रा नेपालले भनेको छ, ‘क्रेडिट रेटिङ विनियम २०११ बमोजिम कारबाही गरिएको हो ।’

रेटिङ एजेन्सीले सम्बन्धित संस्थाले उपलब्ध गराएको जानकारीको विश्लेषण गरी समीक्षा र मूल्यांकन गर्छ । रकम कन्स्ट्रक्सनसँग भएको रेटिङ सम्झौताअनुसार इक्रा नेपालले संस्थासँग जानकारी लिन खोजेको थियो । तर इक्राले बारम्बार अनुरोध गर्दा पनि संस्थाको व्यवस्थापनले बेवास्ता गरेको थियो ।

सन् २०२० को तुलनामा कम्पनीको आम्दानी ३८ प्रतिशतले घटेको देखिन्छ ।

रकम कन्स्ट्रक्सनले सन् २०२१ मा १ अर्ब ११ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२० मा १ अर्ब ८० करोड २८ लाख रुपैयाँ, २०१९ मा २ अर्ब ३ करोड २८ लाख रुपैयाँ, २०१८ मा १ अर्ब ७८ करोड ३१ लाख रुपैयाँ र २०१७ मा १ अर्ब ४५ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीमा बलराम महतोको २० प्रतिशत, रमन महतोको ४० प्रतिशत र पवन महतोको ४० प्रतिशत स्वामित्व छ ।

नेपालको सबैभन्दा ठूलो निर्माण कम्पनीको रुपमा परिचित रमन कन्स्ट्रनसँग सन् २०२१ सम्ममा ३९ अर्ब रुपैयाँ बराबरको ७३ वटा आयोजना थिए । त्यसमध्ये ११ वटा आयोजना एकल कम्पनीको मात्रै थियो भने बाँकी ६२ वटा जोइन्ट भेन्चरअन्तर्गतको २२ अर्ब ७० करोड रुपैयाँमा आयोजना थिए।

कम्पनीले सडक, विमानस्थल रनवे, पुल, रिभर प्रोटेक्सन र ट्रेनिङ काम, बिल्डिङ, रेल्वे, ढल व्यवस्थापन र खानेपानी क्षेत्रमा काम गर्दै आएको छ। ५ वर्षको अवधिमा कम्पनीले करिब २२ अर्ब रुपैयाँ बराबरका आयोजना सम्पन्न गरेको थियो ।


क्लिकमान्डु