कपडामा सुन लेपन गरेर ल्याउने दुई जना विमानस्थलबाट पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन् । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को विमानबाट उनीहरु सोमबार बेलुका काठमाडौंमा ओर्लिएका थिए । विमानस्थल भन्सारबाट पास भएर स्वागतद्वार नजिक पुगिसकेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुले लुगामा सुन लेपन गरेर ल्याएका थिए । लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको थियो ।

सुरेश कुमारबाट बरामद सुन कपडासहित २ किलो ६०० ग्राम र मोहन कुमारबाट बरामद भएको सुन कपडासहित २ किलो ५०० ग्राम रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । कपडाबाट सुन निकालेर जोखेपछि सुनको वास्तविक परिणाम आउने छ ।

उनीहरुलाई विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाउने तयारी गरिएको छ ।


क्लिकमान्डु