चन्द्रागिरी पुगेर प्रधानमन्त्रीले भने, चामत्कारिक विकासको नमुना हो यो



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चन्द्रागिरी केबलकारको औपचारिक उद्घाटन गरेसँगै यसको औंपचारिक संचालन सुरु भएको छ । तर चार महिना अघिदेखि नै सफ्ट ओपन गरेर व्यवसायिक सुरुवात भने भइरहेको थियो ।

प्रधानमन्त्रीले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रागिरी केबलकारलाई विकासको चामत्कारिक नमुनाको संज्ञा दिए ।

‘विकासलाई स्वदेशी श्रम, शीप, प्रविधि र पूँजीसँग जोड्न सक्नु पर्छ, चन्द्रागिरी केबलकार यसैको उदाहरण बनेको छ, निजी क्षेत्रको प्रयासमा बनेको यो केबलकार चमत्कारिक विकासको नमुना हो,’ उनले भने ।

सरकारले विकास निर्माणमा भएको बजेट खर्च गर्न नसक्नु र निजी क्षेत्रले यसरी योजना पहिचान गरेर काम गर्नुले गरे सम्भव छ भन्ने प्रस्ट पारेको उनले बताए ।

चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको साथ र सहयोग रहने हो भने निजी क्षेत्रले यस्ता धेरै आयोजना निर्माण गर्न सक्ने बताए ।

कार्यक्रममा आइएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल, भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ, चन्द्रगिरी हिल्स्का सञ्चालक अम्बिकाप्रसाद पौडेल, उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भवानी राणा, चेम्बर अफ कर्मसका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसरी निर्माण गरिएको हो

थानकोट चेकपोस्टबाट झन्डै १५ सय मिटर गएपछि बेस स्टेसन भेट्न सकिन्छ । कुल ३६ हेक्टर क्षेत्रफलमा निर्माण भएको केबलकारको लम्बाई २.४ किमि रहेको छ । त्यहाँबाट ११ वटा पोलमा टाँगिएका ३८ वटा गोन्डोलाले चन्द्रागिरिको टप स्टेसनसम्म नौ देखि १४ मिनेटको समयमा झन्डै साढे दुई किलोमिटरको दूरी पार गराउँछन् ।

साढे ३ अर्ब रुपैयाँ लगानी रहेको केबलकार २ वर्षमा निर्माण सम्पन्न भएको हो । चन्द्रागिरी हिल्सको उचाई समुद्री सतहदेखि २५ सय मिटर छ । अस्ट्रेलियन केबलकार निर्माता कम्पनी ‘डोपलमेयर’ले यसको निर्माण गरेको हो ।

चन्द्रागिरि डाँडामा अहिले अत्याधुनिक प्रविधियुक्त अस्ट्रियन यन्त्रजडित राता केबलकार छिनछिनमा ओहोर–दोहोर गरिरहेका छन् । चन्द्रागिरिमा टाँगिएको लठ्ठामा राता गोन्डाला कुदेको देख्न सकिन्छ । हरेक गोन्डालामा ८ जनाले एकैपटक यात्रा गर्न सक्छन् ।

भालेश्वर महादेवको ऐतिहासिक महत्वलाई कायम राख्न भालेश्वरको शिलालाई सुरक्षित राखेर नयाँ शैलीको मन्दिर बनाइएको छ । पदयात्रा पर्यटनको महत्वपूर्ण स्थल चन्द्रागिरिबाट अन्नपूर्ण रेञ्जदेखि सगरमाथासम्म १८० डिग्रीको कोणबाट सहजरुपमा दृश्यावलोकन गर्न सकिने प्राविधिकको भनाइ छ ।

आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रुपमा रहेको चन्द्रागिरि धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले मात्र नभई पदयात्रा र इको पर्यटनका लागि पनि उपयुक्त मानिन्छ । करिब डेढ घन्टाको पैदल यात्रापछि जङ्गलमा आकर्षक चराचुरुङ्गी र जङ्गली जनावरको दृश्यावलोकन गर्दै चन्द्रागिरि डाँडामा पुग्न सकिन्छ । त्यहाँसम्म पुग्ने सडक बाटो पनि छ ।

यो आयोजना नेपाली उद्याशिलताको एउटा नमूना हो । उद्यमशीलताकै परिणाम आज चन्द्रागिरि डाँडामा अत्याधुनिक यन्त्रजडित गोन्डाला हजारौं प्रकृतिप्रेमी मानव शरीर बोकेर फनफनी घुम्न थालेको छ । यसले नेपालीले आफ्नै क्षमतामा केही गर्न सक्छन् भन्ने प्रमाणित गरेको छ । जल, जमिन र जंगलको समुचित उपयोग गरेर नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने अभिप्रायले यो आयोजना निर्माण भएको हो ।

के छ, चन्द्रगिरिमा ?

बालबालिकाको मनोरञ्जनका लागि म्यानूअल बाल उद्यान, छुट्टी मनाउनेका लागि सुविधासम्पन्न बार, सभा–सम्मेलनका लागि अत्याधुनिक थ्रीडी हल र भ्यू टावर रेस्टुरेन्टले यहाँको सौन्दर्यमा अझै विविधता थपेका छन् । सुविधासम्पन्न बुटिक होटल यहाँ रात काट्न चाहनेका लागि निर्माणाधीन अवस्थामा छ ।

अम्युजमेन्ट पार्क, हर्स राइडिङ, जिप फ्लायरलगायतका पर्यटकीय पूर्वाधार थप्ने योजना छन् । कम्पनीले एक सय २० रोपनी जग्गा खरिद गरेर बेस स्टेसन तयार गरेको छ । यहाँ व्यवस्थित पार्किङ, रेस्टुरेन्ट, कफी सप र कार्यालयको भौतिक संरचना तयार भइसकेको छ ।


क्लिकमान्डु