कृषि मन्त्रीद्वारा डीडीसीमा छड्के, ८३ कर्मचारी अनुपस्थित, बिदा बसेर पनि हाजिर



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले मंगलबार बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका छन् ।

लामो समयदेखि दुधको भुक्तानी किसानले नपाइरहेको बेला मन्त्री भुसालले बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका हुन् ।

मन्त्री भुसाल, मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलसहितको अनुगमनमा यो आयोजनाका २ सय ५१ कर्मचारीमध्ये ८३ जना अनुपस्थित रहेको पाइएको थियो । जसमा जुनियर टेक्निसियन असिस्टेन्ट विजयकुमार यादव बिहीबारसम्म बिदामा बसेर हाजिरी गरेको पाइएको छ ।

यस्तै आयोजनाले किसानको भुक्तानी दिन नसकेको, बजार व्यवस्थापन राम्रो नभएको, सरसफाइको अवस्था दयनीय रहेको पाइएको छ । केही महिना अगाडि खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालयले गरेको संयुक्त बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट गर्न भनिए पनि अझै नष्ट नगरेको पाइएको छ ।

आयोजना भद्रगोल अवस्थामा सञ्चालन रहेको देखेपछि मन्त्री भुसालले आयोजा प्रमुख गणेशकुमार यादवलाई तत्काल सुधारका काम गर्न निर्देशन दिएका छन् ।

आयोजनामा देखिएका वेथितिलाई अनुगमन टोलीले टिर्पोट गरी ल्याएको छ । आवश्यक अध्ययन पश्चात आवश्यक कदम चालिने मन्त्रालयले जनाएको छ ।

दुग्ध विकास संस्थान निरन्तर घाटामा गइरहेको छ । संस्थानमाथि मन्त्रालयमा उजुरीका चाङ छन् । पटक पटक संस्थान सुधारका लागि मन्त्री भुसालले मौखिक र लिखित निर्देशन दिदैँ आए पनि महाप्रबन्धक सञ्जिव झाले अटेरी गर्दै आएको अनुगमनको क्रममा भेटिएको मन्त्रालयले जनाएको छ ।

केही दिन अगाडी किसानले भुक्तानी नपाउँदासम्म कर्मचारीले प्राप्त गर्दै आएको अतिरिक्त सेवालाई मन्त्री भुसालले कटौती गराएपनि त्यसको कार्यान्वयन नभएको पाइएको छ ।

अनुगमनका क्रममा देखिएका समस्या समाधानमा आफू सक्रिय रहेको र संस्थानको सुधारका लागि आवश्यक निर्णय गर्ने मन्त्री भुसालले जनाएका छन् ।


क्लिकमान्डु