पौष्टिक तत्वयुक्त चामलको गुणस्तर निर्धारण



काठमाडौं । सरकारले पौष्टिक तत्व युक्त चामलको गुणस्तर निर्धारण गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य ऐन २०२३ को दफा ७ ले दिएको अधिकार प्रयोग गरी पौष्टिक तत्व स्तरोन्नती गरिएको चामलको गुणस्तर निर्धारण गरेको हो । सरकारले राजपत्रमा सूचना जारी गर्दै गुणस्तर निर्धारण गरेको हो ।

गुणस्तर निर्धारण गर्दै मन्त्रालयले पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल (फोर्टिफाइड राइस) अस्वाभाविक गन्ध र स्वादरहित हुनुको साथै ढुसी र किरा नलागेको हुनुपर्ने व्यवस्था गरेको छ । यस्तो चामलमा कुन पोषण तत्व कति परिमाणमा हुनुपर्ने भनेर मापदण्डसमेत तोकिएको छ । स्तरोन्नति गरिएको प्रति किलो चामलमा ३९ देखि ७२ मिलिग्रामसम्म आइरन हुनुपर्ने मापदण्ड तोकिएको छ ।

यस्तै प्रतिकिलो चामलमा ३२ देखि ५९ मिलिग्रामसम्म जिंक, ०.८९ देखि २.२१ मिलिग्रामसम्म भिटामिन ए, ०.२४ देखि ०.५९ मिलिग्रामसम्म फोलिक एसिड र ०.००७ देखि ०.०२० मिलिग्रामसम्म भिटामिन बी १२ अनिवार्य हुनुपर्ने मापदण्ड सरकारले तोकेको छ ।

यस्ता तत्व वाहेक पौष्टिक तत्वयुक्त चामलमा प्रतिकिलोमा २.३ देखि ५.६ मिलिग्रामसम्म थायमिन र भिटामिन बी वन, २०.५ देखि ५०.७ मिलिग्रामसम्म नियासिन र भिटामिन बी थ्री र १.९ देखि ४.८ मिलिग्रामसम्म पाइरीडक्सिन र भिटामिन बी सिक्ससमेत थप गर्न सकिने व्यवस्था सरकारले गरेको छ ।

सरकारले पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलमा मिसावट, विषाक्त पदार्थ र जीवनाशक विषादीको अवशेषको उपस्थिति हानिकारक तत्वको अवशेषहरुको हकमा तोकिएको अधिकतम मात्रा मात्रै हुनुपर्ने उल्लेख गरेको छ ।

यसवाहेक यस्तो चामलको हकमा उत्पादन, प्याकेजिङ, ह्याण्डलिङ, भण्डारण तथा ढुवानीमा स्वच्छतासम्बन्धी सरकारले तोक्ने कार्यविधिअनुसार गर्नुपर्ने जारी राजपत्रमा उल्लेख छ । यस्तो चामललाई सफा र सुख्खा खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा शिलवन्दी गरी प्याक गर्नुपर्ने र प्याकेजिङ बोरा वा प्याकेटमा ‘प्लस एफ’ भन्ने संकेत उल्लेख गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ।

के छ यो चामलको विशेषता ?

एक सय किलो सामान्यस्तरको चामलमा एक किलो पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल मिसाएर उपभोग गर्दा मानव शरीरलाई चाहिने आवश्यक सम्पूर्ण तत्व सजिलै प्राप्त हुने बताइएको छ ।

कुपोषणका कारण वालवालिका र महिलाहरुमा हुने एनेमियाजस्ता रोगलाई नियन्त्रण गर्न यो चामल प्रभावकारी मानिन्छ ।

यो चामल उपभोग गर्दा गरिवीको रेखामुनि रहेका सर्वसाधारण र बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै कुपोषण र एनेमियाजस्ता रोगबाट सहज रुपमा छुटकारा पाउन सकिने खाद्य विज्ञहरुले औल्याएका छन् ।


क्लिकमान्डु