सिमरा विमानस्थलमा रिफ्युलिङ सुविधा थपिँदै, इन्धन डिपो राख्न द्विपक्षीय सम्झौता



काठमाडौं । सिमरास्थित आन्तरिक विमानस्थलमा हवाई इन्धन (एटीएफ) भर्ने सुविधा सुरु हुने भएको छ । हवाई इन्धन भर्ने सुविधा (रिफ्युलिङ) उपलब्ध गराउने विषयमा हालै नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको सिमरा विमानस्थल कार्यालय र नेपाल आयल निगमबीच सम्झौता भएको हो ।

द्विपक्षीय सम्झौतापत्रमा नेपाल आयल निगमको सिनामंगलस्थित हवाई इन्धन कार्यालयका प्रमुख प्रदिपकुमार यादव र सिमरा विमानस्थल कार्यालयका प्रमुख सूर्यबहादुर खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रअनुसार उक्त विमानस्थलमा हवाई इन्धनको डिपो निर्माण गर्नका लागि क्यानले सिमरा विमानस्थलमा पाँच कट्ठा जमिन उपलब्ध गराउने छ ।

उपलब्ध हुने सोही जग्गामा निगमले हवाई इन्धनको डिपो निर्माण गरी हवाई इन्धन सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । यात्रुहरुको अत्यधिक चाप हुने सिमरा विमानस्थल र भरतपुर विमानस्थलमा हवाई इन्धन भर्ने सुविधा नहुँदा जहाज कम्पनीहरुले प्राविधिक समस्या व्यहोर्न बाध्य भएका छन् ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले छठको बिदा सकेपछि सिमरा विमानस्थलमा हवाई इन्धन भर्ने सुविधा उपलब्ध गराउने जानकारी दिए ।

काठमाडौंमा मौसम खराव हुँदा वा अन्य प्राविधिक समस्या हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने जहाजहरु डाइभर्ट गर्दा अहिले भैरहवा वा विराटनगरमा गर्नुपर्ने बाध्यता छ ।

विराटनगर र भैरहवा दूरीको हिसावले टाढा पर्छ । सबैभन्दा नजिक सिमरा विमानस्थल भएपनि उक्त विमानस्थलमा इन्धन भर्ने सुविधा नहुँदा जहाजहरु विराटनगर र भैरहवामा डाइभर्ट गर्नु पर्ने बाध्यता भएको सिमरा विमानस्थल कार्यालयका प्रमुख खत्रीले जानकारी दिए ।

‘सिमरा विमानस्थलमा हवाई इन्धन भर्ने सुविधा उपलब्ध भएपछि आपातकालीन अवस्थामा यहि विमानस्थलमा जहाजहरु डाइभर्ट गर्न मिल्छ,’ खत्रीले भने ।

विमानस्थलमै हवाई इन्धन (एटीएफ) को डिपो र जहाजमा फ्युल भर्ने रिफ्युलिङ स्टेशनको सुविधा नहुँदा उडान भर्ने र अवतरण गर्ने जहाजहरुले टेकअफ, ल्याण्डिङ वेट रेस्ट्रिक्सन र पे लोडको ठूलो समस्या व्यहोर्दै आएका छन् ।

यस्ता प्राविधिक समस्या समाधान गर्न विभिन्न सरोकारवाला निकायले ति दुवै विमानस्थलमा तत्कालै हवाई इन्धन(एटीएफ) को डिपो र जहाजमा फ्युल भर्ने रिफ्युलिङ स्टेशन निर्माण गरिदिन नेपाल आयल निगमसँग माग गर्दै आएका थिए ।

देशभरको आन्तरिक विमानस्थलमध्ये यात्रुको चाप अत्याधिक भएको सिमरा र भरतपुर विमानस्थलमा यस्तो सुविधा उपलब्ध गराइदिन माग गरिएको थियो ।

विमानस्थलमा हवाई इन्धन भर्ने सुविधा नहुँदा उडान भर्ने र अवतरण गर्ने विमान कम्पनीहरुले प्राविधिक कठिनाईको सामना गर्नु परिरहेको औल्याएका छन् । बुद्ध एयर प्रालि, सिमरा नागरिक उडड्यन कार्यालय, जीतपुर सिमरा उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले विमानस्थलमा हवाई इन्धन भर्ने सुविधा उपलब्ध गराइदिन माग गर्दै आएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले नेपाल आयल निगमलाई पत्राचार गरि हवाई इन्धनको डिपो निर्माण र रिफ्युलिङ गर्ने सुविधा माग गरेका थिए ।

‘जहाज उडानको दृष्टिकोणले काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा सिमरा विमानस्थल पर्छ,’ टेमानीले क्लिकमाण्डुसँग भने,‘विभिन्न मुलुक भएर नेपाल भित्रिने अन्तर्राष्ट्रिय विमानहरु पनि सिमराको आकाशमार्गबाटै प्रवेश गर्छन । आन्तरिक औद्योगिक नगरीहरुलाई जोड्न पनि यो विमानस्थल महत्वपूर्ण भएकाले रिफ्युलिङ सुविधा उपलब्ध गराउन माग गरेका हौं ।’

काठमाडौंबाट उडान गर्ने वा अवतरण गर्ने आन्तरिक उडानको लागि सिमरा विमानस्थललाई बैकल्पिक विमानस्थलको रुपमा राखिएको छ । तर उक्त विमानस्थलमा हवाई इन्धनको डिपो निर्माण नहुँदा विमान कम्पनीहरुले प्राविधिक कठिनाई भोगिरहेको भन्दै अध्यक्ष टेमानीले डिपो निर्माणका लागि निगमलाई पत्राचार गरेका थिए ।

सिमरा विमानस्थलमा डिपो निर्माण हुँदा विमान कम्पनीहरुले काठमाडौंको तुलनामा केही सस्तो मूल्यमा इन्धन खरिद गर्न सक्षम हुने भन्दै टेमानीले यथाशिघ्र हवाई इन्धनको रिफ्युलरसहितको डिपो निर्माण गरिदिन निगमलाई आग्रह गरेका थिए ।

यस्तै बुद्ध एयरले सिमरा नागरिक उडड्यन कार्यालयलाई पत्राचार गर्दै सिमरा विमानस्थलमा डिपोसहितको रिफ्युलिङ सुविधा उपलब्ध गराइदिन माग गरेका थिए ।

बुद्ध एयरको अपरेशन विभाग प्रमुख सुवर्ण खरेलले सिमरा विमानस्थलमा रिफ्युलिङ सुविधा भए आगामी दिनमा जहाज उडान संख्यामा थप वृद्धि हुने बताए ।

‘रिफ्युलिङ सुविधा उपलब्ध भए मौजुदा टेकअफ र ल्याडिङ वेटको रेस्ट्रिक्सनको समस्या हट्नुका साथै पेलोड (बोक्न सक्ने क्षमता) को क्षमता पनि बढ्नेछ,’ बुद्ध एयरका वरिष्ठ प्रवन्धक रुपेश जोशीले भने,‘रिफ्युलिङ स्टेशनको अभावमा टेक अफ, ल्याण्डिङ वेट रिस्ट्रिक्सन र पेलोडको समस्या आन्तरिक विमान कम्पनीहरुले व्यहोर्न बाध्य भएका छन् ।’

उनकाअनुसार रिफ्युलिङ सुविधा भएको अवस्थामा जहाजले पूर्ण क्षमतामा यात्रु र लगेज बोक्न सहज हुन्छ ।

अहिले बढि चल्ने विमानस्थलहरु मध्ये सिमरा र भरतपुरमा यस्तो सुविधा नहुँदा विमान कम्पनीहरुले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा इन्धन बोकेर काठमाडौंबाट सिमरा, सिमराबाट काठमाडौं ओहोरदोहोर गर्दैआएका छन् । भरतपुर विमानस्थलमा उडान भर्दैआएको विमान कम्पनीले काठमाडौंमै हवाई इन्धन भर्नुपर्ने बाध्यता छ ।

सिमरा नागरिक उडड्यन कार्यालयका प्रमुख सूर्यबहादुर खत्रीकाअनुसार सिमरा विमानस्थलमा अहिले यान्त्रिक उडान विधि (आईएफआर) अनुसार रात्रिकालिन उडानको समेत व्यवस्था भएको छ । यहि सुविधाअनुसार रात्रिकालिन उडानहरु भइरहेका छन् ।

यो विमानस्थलबाट बुद्धको दैनिक ७ र यति एयरलाइन्सको २ गरि अहिले ९ वटा उडान भइरहेको छ । क्षेत्रीय सम्पर्कको रुपमा रहेको यो विमानस्थलबाट आगामी दिनमा अझै व्यवसायिक उडानहरु थपिने हुँदा रिफ्युलिङ सुविधा उपलब्ध गराइदिन खत्रीले निगमलाई पत्राचार गरेका थिए ।

खत्रीले हवाई इन्धनको डिपो र रिफ्युलिङ सुविधा उपलब्ध नभएको अवस्थामा बैकल्पिक व्यवस्था अन्र्तगत तत्कालको लागि सिमरा विमानस्थलमा विहान ६ वजेदेखि साँझ ६ बजेसम्मको लागि हवाई इन्धन बोकेको ट्यांकर परिचालन गरि रिफ्युलिङ सुविधा उपलब्ध गराइदिन वपन माग गरेका थिए ।

भरतपुर विमानस्थलका प्रमुख दिपक विकले पनि हवाई इन्धनसहितको डिपो र रिफ्युलिङ सुविधा विमानस्थलमा नहुँदा विमान कम्पनीहरुले प्राविधिक समस्या व्यहोर्नु परेको बताए ।

‘हामीले दीर्घकालिन रुपमा समस्या समाधानका लागि नेपाल आयल निगमसँग धेरै पटक पत्राचार गरेका छौं, तर अहिलेसम्म समस्या समाधान भएको छैन,’ विकले भने । भरतपुर विमानस्थलमा बुद्ध एयरले दैनिक ८ देखि १० वटा उडान भर्दैआएको छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले विमान उडानको आधारमा बढि चाप देखिने विमानस्थलमा हवाई इन्धन डिपोसहित रिफ्युलिङ स्टेशन निर्माण गर्न माग आइरहेको जानकारी दिए ।

मागको बारेमा निगमको माथिल्लो निकायलाई जानकारी गराइसकिएको बताउँदै उनले भने,‘भरतपुर, सिमरा तथा जुम्ला विमानस्थलमा हवाईइन्धनको डिपोसहित रिफ्युलिङ स्टेशन निर्माण गर्ने विषय चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यसै आर्थिक बर्षमा माग भएका विमानस्थलमा डिपो स्टेशन निर्माण गर्न आवश्यक अध्ययन गरि अध्ययन प्रतिवेदनले दिएको सुझावको आधारमा आवश्यक गृहकार्य अघि बढाइनेछ ।’

आन्तरिक विमानस्थलहरु मध्ये जनकपुर, दाङ र झापाको चारआलीमा गत बर्ष हवाई इन्धनको डिपोसहित रिफ्युलिङ स्टेशन निर्माण भएको निगमले जनाएको छ । आन्तरिक जहाजहरुले खपत गर्ने हवाई इन्धन मासिक रुपमा १५ हजार किलोलिटरको हाराहारीमा बिक्री हुँदै आएको छ ।

हाल देशभर कोशी प्रदेशमा १२, मधेशमा ३, बागमतीमा ६, गण्डकीमा ५, लुम्बिनीमा ५, कर्णालीमा ९ र सुदूरपश्चिम प्रदेशमा ९ वटा विमानस्थलहरु रहेका छन् ।


राजेश बर्मा