एकै महिनामा साढे २३ करोडको सिमेन्ट र क्लिंकर निर्यात
काठमाडौं । साउनमै साढे २३ करोड रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । निर्यातमा अनुदान घोषणा भएपछि गत वर्ष साउनमा ४९ लाख २९ हजार रुपैयाँबराबरको ३३ हजार १५७ मेट्रिक टन सिमेन्ट भारत निकासी भएको थियो ।
चालू आवको पहिलो महिनामै २३ करोड ४९ लाख ८९ हजार रुपैयाँबराबरको सिमेन्ट र क्लिंकर निकासी भएको छ । साउनमा १६ करोड ४४ लाख रुपैयाँबराबरको क्लिंकर र ७ करोड ५ लाख रुपैयाँबराबरको सिमेन्ट निकासी भएको भन्सार विभागले जनाएको छ । साउनमा २५ हजार ७४२ टन क्लिंकर र ९ हजार ५७३ टन सिमेन्ट निकासी भएको छ ।
गत वर्षभरमा ७८ करोड रुपैयाँबराबरको सिमेन्ट र क्लिंकर निकासी भएको थियो । गत आवमा तीन सिमेन्ट उद्योगले ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात गरेका हुन् ।
विभागका अनुसार गत आवमा ३५ करोड ८९ लाख ५१ हजार बराबरको ६ लाख ७ हजार ७३ मेट्रिक टन सिमेन्ट र ४२ करोड तीन लाख ५५ हजारबरारबरको ३ लाख ९६ हजार ९५० मेट्रिक टन क्लिंकर निर्यात भएको छ ।
हाल पाल्पा, अर्घाखाँची र बालाजी गरी तीन उद्योगले भारतमा सिमेन्ट निर्यात गरिरहेका छन् । अन्य उद्योग पनि निर्यातको तयारीमा छन् ।
अघिल्लो वर्षको असार २४ देखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्रान्डले भारततर्फ निर्यात सुरु गरेको थियो । त्यस्तै असोज ३१ देखि अर्घाखाँची र जेठ २९ देखि बालाजी सिमेन्टले ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्रान्डमा पिपिसी सिमेन्ट निर्यात सुरु गरेका थिए ।
सरकारले सिमेन्ट र स्टिललगायतको निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेपछि नेपाली सिमेन्ट उद्योगीले निर्यात सुरु गरेका हुन् ।
सिमेन्ट उत्पादक संघका अनुसार भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाइमा धेरै उद्योग छन् । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तरको प्रमाणपत्र लिनुपर्ने हुन्छ । नेपालमा सञ्चालित सिमेन्ट उद्योगसँग वार्षिक २ करोड २० लाख टन सिमेन्ट उत्पादन क्षमता छ ।